काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माण कम्पनीलाई धम्की दिएको विषयमा प्रष्टीकरण दिएका छन्।
उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा ठेक्का रद्द गर्ने अवस्था नआओस् र निर्माण कम्पनी उठ्नै नसक्ने अवस्थामा नपुगोस् भनेर काम गराउनका लागि दबाब दिएको बताएका छन्। उनले काम गराउने उद्देश्य र कम्पनीलाई बचाउने आशयसहित निर्देशन दिएको बताए।
‘ठेकेदारलाई थर्काएको होइन। काम होस् भन्ने इन्टेन्सन हो। नितान्त काम गरोस् भन्ने हो। उहाँहरुले काम गर्नुभएन भने हामीले रद्द गर्नु पर्यो नि टेण्डर। रद्द भयो भने त उहाँहरुको सात पुस्ता सकिन्छ। किनभने बैंक ग्यारेण्टी जान्छ। फेरि बाँकी कामका लागि असुल उपर हुन्छ। धितो नराखी रिलेसनका आधारमा बैंक ग्यारेण्टी राखेको भए बैंक डुब्छ,’ उनले भने, ‘सरकारले बैंक ग्यारेण्टी जफत गरी बाँकी कामका लागि असुल उपर गर्दा उहाँहरुलाई नै उठ्न गाह्रो हुन्छ। त्यो कुरा बुझेको भएर काम गराउन दबाब दिएको हो। उद्देश्य काम गराउने हो। गाली गर्न मन छैन। खुरुखुरु काम गरे त हामी चुप लागेर बस्छौं नि। उहाँहरुलाई बचाउन नै त्यसो गरेको हो।’
उनले आइतबार नागढुंगा-मुग्लिन सडक अनुगमनका क्रममा पोल हटाउन ढिलाइ गर्ने ठेकेदारको खुट्टा भाँच्दिनू भन्ने गुण्डागर्दी शैलीको अभिव्यक्ति दिएका थिए। त्यो अभिव्यक्तिलाई लिएर लम्साललाई एमाले सांसद ऐन महरले प्रश्न सोधेका थिए।