लस एन्जलस। यसपटक गर्मी उच्च छ। खेलाडीहरूलाई अत्यधिक गर्मीबाट जोगाउन फिफाले ‘हाइड्रेसन ब्रेक’ अनिवार्य गरेको छ। यो नियम विश्वकप फुटबलको इतिहासमै पहिलोपटक लागू गरिएको हो। तर, यो नयाँ व्यवस्थाले दुई फरक समूहबाट आलोचना पनि खेपिरहेको छ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यसपालिको विश्वकप अहिलेसम्मकै सबैभन्दा तातो हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। उक्त चेतावनीलाई हेर्दा ‘हाइड्रेसन ब्रेक’को नियम ठीक निर्णय भन्ने देखिन्छ। तर, अर्कोतिर केही प्रशिक्षक र खेल विश्लेषकहरू भने हाइड्रेसन ब्रेकले खेलको स्वाभाविक लय भंग गर्ने र प्रशिक्षकहरूलाई खेलको गति तथा रणनीति बदल्ने अवसर दिने तर्क गरिरहेका छन्।
केही वैज्ञानिकहरूले तीन मिनेटको विश्राम खेलाडीलाई पर्याप्त रूपमा चिस्याउन वा पुनः जलयुक्त बनाउन पर्याप्त नहुने पनि बताएका छन्। कोलम्बिया विश्वविद्यालयअन्तर्गतको नेसनल सेन्टर फर डिजास्टर प्रिपेयर्डनेसका सहायक अनुसन्धान निर्देशक जोशुआ एल. डेभिन्सेन्जोका अनुसार तीन मिनेटको हाइड्रेसन ब्रेकलाई सम्भावित दुर्घटना वा स्वास्थ्य आपत्कालीन अवस्था रोक्नका लागि जोखिम न्यूनीकरणको उपायका रूपमा हेरिएको छ।
‘जब हामी तीन मिनेटको हाइड्रेसन ब्रेकलाई हेर्छौं, यसलाई सम्भावित दुर्घटना वा आपत्कालीन अवस्था निम्त्याउन सक्ने जोखिम कम गर्ने उपायका रूपमा हेर्छौं,’ उनी भन्छन्।
फिफाले यसपटक विश्वकपमा प्रत्येक हाफको बीचतिर तीन मिनेटको ‘कुलिङ ब्रेक’ अनिवार्यको नियम राखेको छ। विशेष के भने यो नियम तापक्रम जति भए पनि लागू हुनेछ। स्टेडियम खुला होस् वा एसीयुक्त, सबै खेलमा समान रूपमा यो व्यवस्था लागू रहनेछ।
फिफाका अनुसार सबै टोलीका लागि समान अवस्था सुनिश्चित गर्न यो निर्णय गरिएको हो। यसका लागि गत वर्ष अमेरिकामा आयोजित फिफा क्लब विश्वकपको अनुभवलाई आधार बनाइएको थियो। त्यतिबेला धेरै क्षेत्रमा तापक्रम ९० डिग्री फरेनहाइट (मध्य–३० डिग्री सेल्सियस) भन्दा माथिसम्म पुगेको थियो।
कतिपय प्रशिक्षकहरू अत्यधिक गर्मी भएका खेलमा यस्तो ब्रेक आवश्यक भएको स्वीकार गर्छन्। तर उनीहरू सबै खेलमा अनिवार्य रूपमा लागू गर्नुको औचित्यमाथि प्रश्न उठाउँछन्।
गर्मी र आर्द्रतायुक्त वातावरणमा उच्च स्तरको शारीरिक परिश्रम गर्दा खेलाडीहरू ‘एक्सर्शनल हिट इलनेस’ अर्थात् अत्यधिक परिश्रमका कारण हुने तापजन्य समस्याको जोखिममा पर्छन्। शरीरको तापक्रम अत्यधिक बढ्दा मुटु, स्नायु, मांसपेशी तथा केन्द्रीय स्नायु प्रणालीमा गम्भीर दबाब सिर्जना हुन्छ।
यसका सामान्य लक्षणमा मांसपेशी बाउँडिनु, अत्यधिक थकान, प्रदर्शन क्षमतामा कमी, टाउको दुखाइ, चिडचिडापन, वाकवाकी, चक्कर लाग्नु तथा शरीरमा पानीको कमी हुनु पर्छन्।
जापानको वासेदा विश्वविद्यालयको खेल विज्ञान संकायकी सहप्राध्यापक युरी होसोखावाका अनुसार शरीरको आन्तरिक तापक्रम १०५ डिग्री फरेनहाइट (४०.५ डिग्री सेल्सियस) नाघेपछि खेलाडीहरू अलमलिन सक्छन्, आक्रामक बन्न सक्छन् वा बेहोससमेत हुन सक्छन्। यी सबै ‘एक्सर्शनल हिट स्ट्रोक’ का गम्भीर संकेत हुन्, जसमा तत्काल चिकित्सकीय उपचार आवश्यक पर्छ।
होसोखावा ती विज्ञहरूमध्ये एक हुन् जसले गत मेमा फिफालाई पत्र लेख्दै खेलाडी सुरक्षाका लागि अझ कडा तापसम्बन्धी मापदण्ड लागू गर्न आग्रह गरेका थिए। उनीहरूले हाइड्रेसन ब्रेक कम्तीमा ६ मिनेट हुनुपर्ने सुझाव दिएका थिए।
खेलकुदका क्रममा हुने एक्सर्शनल हिट स्ट्रोक खेलाडीको मृत्युका प्रमुख कारणहरूमध्ये एक मानिन्छ।
निर्जलीकरणले जोखिम झन् बढाउँछ। गर्मीमा खेलाडीहरूले एक घण्टामा १ देखि २ लिटरसम्म पसिना बगाउन सक्छन्। तर अधिकांशले त्यति मात्रामा तरल पदार्थ सेवन गर्न सक्दैनन्। शरीरको तौलको केवल २ प्रतिशत पानी गुम्दा पनि खेल प्रदर्शनमा नकारात्मक असर पर्न थाल्छ।
डार्टमाउथ कलेजका जैविक विज्ञानका प्राध्यापक रायन काल्सबिकका अनुसार मानव शरीर केही हदसम्म तातो अवस्थामा अझ प्रभावकारी रूपमा काम गर्छ। तर एउटा यस्तो सीमा आउँछ जहाँ पुगेपछि प्रदर्शन सुधारिनुको सट्टा तीव्र रूपमा घट्न थाल्छ।
उनका अनुसार त्यसपछि शरीरले आफूलाई पर्याप्त रूपमा चिसो राख्न सक्दैन र आवश्यक जैविक प्रणालीहरू क्रमशः कमजोर बन्दै जान्छन्। ‘यदि कुनै खेलाडीले चरम गर्मी, उच्च उचाइ वा अन्य कठिन परिस्थितिमा अरूभन्दा राम्रो प्रदर्शन गर्न सक्छ भने त्यस्ता साना अन्तरहरूले खेलको परिणाम निर्धारण गर्न निर्णायक भूमिका खेल्न सक्छन्,’ उनले भने।
विशेषज्ञहरूका अनुसार तापक्रम, आर्द्रता, बादल र हावाको अवस्थालाई समेटेर मापन गरिने ‘वेट बल्ब ग्लोब टेम्प्रेचर’ करिब ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियस) माथि पुगेपछि यस्तो अवस्था देखिन सक्छ, यद्यपि व्यक्तिअनुसार सहनशीलता फरक–फरक हुन्छ।
अत्यधिक गर्मीले खेलाडीहरूको निर्णय क्षमता पनि प्रभावित पार्न सक्छ। काल्सबिक भन्छन्, ‘खेलको नतिजा निर्धारण गर्ने यस्ता साना प्रदर्शनगत अन्तरहरू चरम परिस्थितिमा अझ महत्त्वपूर्ण बन्न सक्छन्।’
फिफाले अनिवार्य बनाएको तीन मिनेटको हाइड्रेसन ब्रेकको उद्देश्य खेलाडी र रेफ्रीहरूलाई तापजन्य रोगबाट जोगाउनु तथा उनीहरूको शारीरिक क्षमता जोगाइराख्नु हो। यस अवधिमा खेलाडीहरूले ज्यानलाई चाहिने पानी र नुनको मात्रा सन्तुलित राख्न सक्छन्, शरीर चिस्याउन सक्छन्। तर यसको प्रभाव कति हुन्छ भन्ने कुरा अपनाइने उपायमा निर्भर गर्छ।
विशेषज्ञहरूका अनुसार चिसो र भिजेको तौलिया घाँटी, टाउको, ढाड र हातजस्ता खुला अंगमा राख्दा शरीरको तापक्रम घटाउन मद्दत पुग्छ। यदि प्रभावकारी रूपमा गरियो भने प्रत्येक मिनेटमा शरीरको तापक्रम करिब ०.१२ डिग्री सेल्सियससम्म घट्न सक्छ।
युनिभर्सिटी अफ कनेक्टिकटका कोरे स्ट्रिङ्गर इन्स्टिच्युटका प्रमुख डग्लस कासा भन्छन्, ‘सबै खेलाडीको शरीरले तरल पदार्थ फरक तरिकाले ग्रहण गर्छ। कसैले छोटो समयमा धेरै पानी पिएर पनि सहज महसुस गर्छन् भने कसैलाई असहज लाग्न सक्छ।’
उनका अनुसार समय नै प्रभावको मुख्य आधार हो। पानी पिउने होस् वा शरीर चिस्याउने, लामो समय उपलब्ध भए प्रभाव पनि त्यति नै बढी हुन्छ। त्यसैले ५ वा ६ मिनेटको विश्रामले निकै ठूलो फरक पार्न सक्ने उनको तर्क छ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसको ‘हिट ल्याब’ का निर्देशक भरत वेङ्कटका अनुसार खेलाडीलाई आवश्यक पर्ने पुनःस्थापनाको समय पनि व्यक्तिअनुसार फरक हुन्छ। तर यस्ता विश्रामहरू अत्यन्त महत्त्वपूर्ण छन्, किनकि यसले शरीरलाई निरन्तर तापक्रम नियन्त्रणका लागि संघर्ष गरिरहनु नपर्ने अवस्था सिर्जना गर्छ।
उनका अनुसार जलवायु परिवर्तनका कारण पृथ्वी झन् तातिँदै गइरहेको अवस्थामा हाइड्रेसन ब्रेकजस्ता उपायहरू तथा खेल कहाँ, कहिले र कसरी खेल्ने भन्ने विषयमा नयाँ समायोजनहरू अपरिहार्य बन्दै जानेछन्।
वेङ्कट भन्छन्, ‘तपाईं जुनसुकै खेल खेल्नुहोस्, जलवायु परिवर्तनको प्रभावसँग जुध्न भविष्यमा खेलकुदले केही न केही परिवर्तन स्वीकार्नै पर्नेछ।'(एपी)