काठमाडौं। नेपाली सेनाले काठमाडौं-तराई फास्ट ट्र्याक आयोजना अन्तर्गत खोकना क्षेत्रका जग्गाधनीलाई मुआब्जा लिन ताकेता गरेको छ।
१० वर्षअघि नै तोकिएको मुआब्जा लिन सेनाले खोकनाका १५४ जग्गाधनीलाई ताकेता गरेको हो। सेनाले बिहिबार एक सूचना जारी गर्दै २५४ कित्ताका १५४ जना जग्गाधनीलाई मुआब्जा लिन १५ दिनको समय दिएको छ।
तोकिएको समयमा मुआब्जा लिन नआए जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख छ।
काठमाडौं-तराई फास्ट ट्र्याकको सुरु बिन्दु खोकनामा मुआब्जा विवादले अहिलेसम्म काम हुन सकेको छैन। जसका कारण फास्ट ट्र्याकको सुरु बिन्दु फर्सिडोलमा सार्ने गरी डीपीआर बनाउने काम अगाडि बढाइएको छ।
२०७२ चैतमा नै ११७९ कित्ता जग्गाका धनीलाई मुआब्जा लिन बोलाइएकामा २५४ कित्ताका जग्गाधनीले अहिलेसम्म लिन मानेका छैनन्।