काठमाडौं। दक्षिण अमेरिकी टोली कोलम्बियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको खेलमा कोलम्बियाले डेब्युटेन्ट उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफभर खेलमा पूर्ण नियन्त्रण जमाएको कोलम्बियाले ४०औँ मिनेटमा अग्रता लिएको थियो। लुइस डियाजको उत्कृष्ट क्रसमा ड्यानियल मुनोजले भली प्रहार गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
पहिलो हाफमा निकै दबाबमा देखिएको उज्बेकिस्तानले दोस्रो हाफमा पुनरागमन गर्यो। ६०औँ मिनेटमा डोस्टोनबेक खाम्दामोभको क्रसमा एल्डोर शोमुरोदोभको प्रहार पोस्टमा लागेर फर्किएको बललाई अब्बोसबेक फैजुल्लायेभले हेडमार्फत जाली चुमाउँदै उज्बेकिस्तानका लागि विश्वकप इतिहासकै पहिलो गोल गरे। यससँगै खेल १–१ को बराबरीमा पुगेको थियो।
तर, उज्बेकिस्तानको खुशी धेरैबेर टिकेन। ६५औँ मिनेटमा गुस्ताभो पुर्ताको पासमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। डियाजको प्रहारलाई गोलरक्षक उत्किर युसुपोभले छोए पनि गोल हुनबाट रोक्न सकेनन्।
त्यसपछि उज्बेकिस्तानले बराबरी गोलका लागि केही प्रयास गरे पनि सफल हुन सकेन। बरु इन्जुरी समयमा कोलम्बियाले अर्को गोल थप्यो। इन्ज्युरी समयको अन्तिम मिनेटमा कुचो हेर्नान्डेजले दायाँतर्फबाट उत्कृष्ट क्रस उपलब्ध गराए, जसमा जमिन्टन काम्पाजले हेडमार्फत गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे।
खेलभर कोलम्बियाले ७० प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्दै आक्रामक प्रदर्शन गरेको थियो। लुइस डियाज एक गोल र एक असिस्टसहित टोलीको जितका मुख्य नायक बने भने ड्यानियल मुनोज र जमिन्टन काम्पाजले एक-एक गोल गरे।
विश्वकपमा पहिलोपटक सहभागी भएको उज्बेकिस्तानले पराजय बेहोरे पनि प्रतियोगिताको आफ्नो पहिलो गोल गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। समूह चरणको पहिलो खेलबाट तीन अंक जोडेको कोलम्बिया भने समूहको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो र तेस्रो स्थानमा समान १ अंक बनाएका कंगो र पोर्चुगल छन्।