BIZMANDU
www.bizmandu.com

इन्जुरी समयमा सम्हालिन नसक्दा पानामा पराजित, घानाको संघर्षपूर्ण जित

२०८३ असार ४

इन्जुरी समयमा सम्हालिन नसक्दा पानामा पराजित,  घानाको संघर्षपूर्ण जित
इन्जुरी समयमा सम्हालिन नसक्दा पानामा पराजित, घानाको संघर्षपूर्ण जित

काठमाडौं। घानाले विश्वकपमा विजयी सुरुवात गरेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को आफ्नो पहिलो खेलमा घानाले पानामालाई १–० ले हराउन सफल भएको हो। योसँगै उसले महत्त्वपूर्ण तीन अंक हात पारेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार बिहान क्यानडास्थित टोरेन्टो स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा रोकिएको थियो। इन्जुरी समयको पाँचौं मिनेटमा घानाले निर्णायक गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो।

घानाका लागि वैकल्पिक खेलाडी ब्रान्डन थोमस-असान्टेले बायाँ भागबाट दिएको क्रसमा कालेब यिरेन्कीले उत्कृष्ट फिनिस गर्दै टोलीलाई जित दिलाए।

खेलभर दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न संघर्ष गरेका थिए। पहिलो हाफमा पानामाले खेलमा बढी नियन्त्रण जमाएको थियो। दोस्रो मिनेटमै सेसिलियो वाटरम्यानले गोल गर्ने अवसर पाए पनि घानाका गोलकिपर लरेन्स अटी जिगीले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफमा घाना केही आक्रामक देखिएको थियो। ६५औं मिनेटमा एन्टोइन सेमेन्योले दिएको पासमा कप्तान जोर्डन आयु गोल गर्न नजिक पुगे पनि पानामाका जियोभानी रामोसले अन्तिम समयमा गोललाइन क्लियर गर्दै टोलीलाई बचाएका थिए।

पानामाले पनि ६०औं मिनेटमा उत्कृष्ट अवसर सिर्जना गरेको थियो। क्रिस्टियन मार्टिनेज बक्सभित्र पुगे पनि उनको प्रहार साइड नेटिङमा लाग्दा टोली अग्रता लिनबाट चुक्यो।

खेलको ४५औं मिनेटमा चोट बोकेका घानाका पहिलो रोजाइका गोलकिपर अटी जिगी मैदान छाड्न बाध्य भएका थिए। उनको स्थानमा आएका बेन्जामिन असारेले अन्तिम समयमा पानामाको लगातार दबाबलाई रोक्दै क्लिनसिट कायम राखे।

इन्जुरी समयको नवौं मिनेटमा पानामाले बराबरी गर्ने सुनौलो अवसर पाएको थियो। अन्तिम फ्रिकिकमा गोलकिपर ओरलान्डो मोस्केरा समेत आक्रमणमा उत्रिएका थिए। मोस्केराको हेडरपछि लुइस डियाजले गोलतर्फ गरेको प्रयास असारेले उत्कृष्ट बचाउ गरेपछि घाना जित सुरक्षित गर्न सफल भयो।

यस जितसँगै घानाले समूह चरणमा सुखद सुरुआत गरेको छ। आजै यही समूहको अर्को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो। अब घानाले दोस्रो खेलमा इंग्ल्यान्डको सामना गर्नेछ भने पानामाले क्रोएसियासँग खेल्नेछ।