BIZMANDU
www.bizmandu.com

कार्यदलको प्रतिवेदनमार्फत ओलीलाई पदबाट हटाउने गृहकार्य, शंकर पोखरेललाई अध्यक्ष बनाउने तयारी

२०८३ असार ३

कार्यदलको प्रतिवेदनमार्फत ओलीलाई पदबाट हटाउने गृहकार्य, शंकर पोखरेललाई अध्यक्ष बनाउने तयारी
कार्यदलको प्रतिवेदनमार्फत ओलीलाई पदबाट हटाउने गृहकार्य, शंकर पोखरेललाई अध्यक्ष बनाउने तयारी

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन निर्णायक ठाउँमा पुग्नेगरी नेताहरु गृहकार्यमा जुटेका छन्। ११ औं महाधिवेशनसम्म ओली पक्षमै रहेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेललगायतका नेताहरुले देशव्यापी सुझाव संकलनको क्रममा  रहेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल’ले दिने प्रतिवेदनमार्फत नै ओलीलाई अध्यक्षबाट हटाउने तयारी थालेका हुन्।

Tata
GBIME
Nepal Life
कोशी प्रदेशमा कार्यदलका सदस्य र संयोजक

जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा गठन गरेको कार्यादलले असार १९ गतेसम्म विभिन्न प्रदेशमा सुझाव संकलन गर्ने तालिका बनाएको छ। कोशी प्रदेशबाट सुरु भएको सुझाव संकलन अन्तर्गत धेरै नेता/कार्यकर्ताले चुनावी पराजयको जिम्मा लिंदै एमालेको नेतृत्व बदल्नुपर्ने सुझाव दिएका छन्।

कार्यदलले प्रतिवेदन तयार पार्ने छ भने उक्त प्रतिवेदनमै नेतृत्व परिवर्तनको प्रस्ताव अघि बढाउने तयारीमा ओलीइतर नेताहरुहरु छन्। प्रतिवेदन सुरुमा सचिवालय बैठकमा प्रस्तुत हुने र त्यसपछि केन्द्रीय कमिटीमा जाने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।

‘विभिन्न खालका सुझाव आइरहेका छन्। सुझावहरु समेटेर सुरुमा सचिवालय बैठकमा जान्छ होला। यो कार्यदल पनि सचिवालयले नै बनाएको हो। त्यसपछि केन्द्रीय कमिटीसम्म जान सक्छ। अब त्यहाँ के हुन्छ। केन्द्रीय कमिटीले के निर्णय गर्छ,’ उनले भने।

एमाले नेताहरुका अनुसार पार्टीभित्र अहिले सबैभन्दा पेचिलो विषय बनिरहेको ओलीको बहिर्गमनको प्रस्ताव असार मसान्तसम्म अघि बढाउनेगरी इतर पक्षले ‘डेडलाइन’ तोकेको छ।

कोशिमा कार्यदलको सुझाव दिन उपस्थित नेता

ओलीलाई आफैं पद छोड्न दबाब दिने नभए विधानअनुसार नै हटाउने प्रस्तावमा नेताहरुले गृहकार्य गरिरहेका हुन्। ‘ओलीले पद छाडिदिए राम्रो भन्ने नेताहरुको बुझाइ देख्छु तर उहाँले सजिलै छोड्नुहोला जस्तो छैन। त्यसैले बहुमत/अल्पमततर्फ अघि बढाउने गरी काम भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने।

उनका अनुसार ओली सचिवालयमा प्रस्ट रुपमै अल्पमतमा परिसकेका छन् भने केन्द्रीय कमिटीमा ओलीलाई झिनो आशा छ। ओलीलाई पदबाट हटाएर पार्टी नेतृत्व कसलाई दिने भन्नेबारे पनि एमालेभित्र तीव्र बहस भइरहेको छ।

महासचिव शंकर पोखरेललाई नै अर्को महाधिवेशनसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्नेगरी तयारी भइरहेको एक सचिवालय सदस्यले बताए। ‘महासचिवलाई नै तत्कालका लागि अघि बढाउँदा एउटा राम्रो म्यासेज पनि जान्छ। पछि जो अध्यक्ष भए पनि केही सन्देश त दिनुपर्‍यो। नेतृत्व परिवर्तन भयो भन्ने एउटा सन्देश दिनुपर्ने अवस्था भएकाले पनि बादल बाहेकका उपाध्यक्ष लगभग कन्भिन्स हुनुहुन्छ,’ उनले भने।

ओली सहित कार्यदलको बैठक

ओली भने तत्कालको आफू माथिको संकट केन्द्रीय कमिटीमार्फत टार्न सकिने बुझाइमा छन्। सचिवालयका अधिकांश नेताहरु आफ्नाविरुद्ध भए पनि केन्द्रीय कमिटीमा अझै आफू बहुमतमा रहेको ओलीले आफू निकट नेताहरुलाई बताउने गरेका छन्। संकट टार्ने विकल्पकै रुपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएको ओली निकट नेताहरुले बताइरहेका छन्। ‘अहिले भएका सबै कमिटीहरु भंग गरिदिने र भण्डारीलाई नेतृत्व दिएर पुनर्गठन गर्ने भन्ने पनि छ। तर, यो पनि ओलीका लागि सजिलो छैन,’ ओली निकट एक केन्द्रीय सदस्यले भने।

स्थायी कमिटी सदस्य विशाल भट्टराई पार्टीको नेतृत्व परिर्वतनको विषय कार्यदलको प्रस्तावअनुसार अघि बढ्ने बताउँछन्। ‘अहिले नै यो हुन्छ त्यो हुन्छ भन्ने होइन। कार्यदलले कस्तो प्रतिवेदन दिन्छ त्यहि हिसाबले हुन्छ,’ उनले भने।

ओलीलाई राजीनामा दिन बाध्य पार्ने वा विशेष महाधिवेशन गराउन बाध्य पार्ने रणनीतिमा पनि ओली इतर पक्ष तयारीमा देखिन्छ।

फागुन २१ गतेको चुनावी पराजयलगतै अधिकांश नेताहरुले ओलीको राजीनामा मागेका थिए। तर, ओलीले एकपछि अर्को कारण देखाएर टार्दै आएका छन्। जेठ ८ गतेको सचिवालय बैठकमा पनि पौडेल, गुरुङ लगायतका उपाध्यक्षहरुले ओलीसँग सवाल-जवाफ नै गरेका थिए भने ओलीले पार्टीलाई कम्पनी जसरी चलाएको आरोप लगाएका थिए।

ओलीले इतर पक्षलाई पार्टी विभाजनमा लागेको तथा आफूलाई हटाउन खोजे कारबाही गर्ने चेतावनी सार्वजनिक रुपमा दिइरहेका छन्। पछिल्लो समय एमाले नेताहरुले ओली सहभागी कार्यम्रममा समेत जान छाडेका छन्।

चुनावका बेलामा ओलीको पोस्टर बनाएर प्रचार गर्न छोडेका एमाले नेताहरु हाल जसरी पनि ओलीलाई पदबाट हटाउनुपर्ने गृहकार्यमा जुटेका हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेताहरु पनि ओलीसँग वारपारको स्थितिमा पुगेका हुन्। ११औं महाधिवेशनमा ओलीले नै अध्यक्षमा जितेका थिए। उक्त महाधिवेशनपछि पनि नराम्रोसँग एमाले पराजित भएपछि त्यतिबेला ओली खेमामै रहेका नेताहरु हाल पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेर भए पनि पार्टी पुनर्गठन हुनुपर्ने पक्षमा जुटेका हुन्।