BIZMANDU
www.bizmandu.com

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश, ‘मिलेमतोमा कसुर गरेको देखियो’

२०८३ असार ३

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश, ‘मिलेमतोमा कसुर गरेको देखियो’
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन विशेषको आदेश, ‘मिलेमतोमा कसुर गरेको देखियो’

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार मुद्दा दर्ता भई शुक्रबारदेखि बयान लगायत थुनछेकका प्रक्रिया सुरु भएको थियो।

Tata
GBIME
Nepal Life

अदालतका अध्यक्ष सुदर्शनदेव भट्टका तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दीपक र सुलभलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक, सुलभसहित करिब चार दर्जन व्यवसायीलाई प्रतिवादी बनाउँदै मुद्दा बुझाएको थियो।

अदालतले अग्रवालको हकमा उचित स्वास्थ्य उपचारको प्रबन्ध गर्न पनि आदेश गरेको छ। दुवै जनालाई कारागार कार्यालय डिल्लीबजार लगिएको छ।

दुवैविरुद्ध जिल्ला अदालतमा धितोपत्र र बीमा तथा उच्च अदालतमा बैंकिङ कसुरको मुद्दा पनि विचाराधीन छन्। तीन वटै मुद्दामा समेत थुनछेक प्रक्रिया सुरु भएको छैन।

अदालतले प्रतिवादीहरूको बयानबाट धितोपत्र कारोबारका लागि अनुमति पाएको ब्रोकर नम्बर ५५ को खातामा पठाएको रकम सुलभको दबाबमा पठाएको खुलेको, विभिन्न बीमा कम्पनीहरूको टिएमएस तथा पासवर्डसमेत अग्रवाल सञ्चालक रहेको कम्पनी सौर्य सिमेन्टको आइपी प्रयोग गरेको पाइएको उल्लेख गरेको छ।

शेयरको मूल्य प्रभावित गर्ने, सर्कुलर ट्रेडिङ गर्ने, नेपाल रिइन्सुरेन्सको शेयर कर्नरिङ गर्ने, आपूर्ति घटाउने, संगठित समूह खडा गर्ने, नियामकहरूलाई प्रभावमा पारी आफू अनुकूलका निर्णय गराउने कार्य देखिएको पनि आदेशमा उल्लेख छ।

नेपाल रिइन्सुरेन्सका संवेदनशील सूचना चुहावट गरी लाभ लिने काम गरेको, आफ्नो आपराधिक षडयन्त्रमूलक योजना बमोजिम शेयर कारोबारमा भट्ट र अग्रवाल दुवैले समान लक्ष्य तथा उद्देश्यसहित कसुरजन्य कार्य गरेको पनि अदालतको ठहर छ।

नेपाल रिइन्सुरेन्सको शेयर आफू समेतको समूहको नियन्त्रणमा राखी बजारमा आपूर्ति घटाई मूल्यलाई कृत्रिम रूपमा वृद्धि गरी गैरकानूनी लाभ लिने मनसाय राखेको स्पष्ट देखिएको पनि विशेषको आदेशमा उल्लेख छ। अवैध आयलाई वैध देखाउन जगदम्बा स्टील्स लिमिटेडबाट अल्पकालीन तथा चालु पुँजी कर्जालाई भट्टको व्यक्तिगत खातामा जग्गा बैनाको नाममा कारोबार गरी रकमान्तर गरेको पाइएको पनि अदालतको आदेशमा उल्लेख छ।

विभागले दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख र सुलभविरुद्ध २५ अर्ब ५५ करोड २० लाख रुपैयाँ बिगो दाबी गरेको छ।

आरोपपत्र अनुसार दीपक भट्टले हिमालयन रिको ३ अर्ब ८१ करोड, डिबेञ्चरमार्फत ८० करोड, नेपाल रि इन्स्योरेन्सको सेयर घाटामा बिक्री गरेको देखाइ पुनः त्यही कम्पनीको सेयर खरिदमा १२ करोड ७० लाख गरी कुल १४ वटा कम्पनी तथा कारोबारमार्फत २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ हेराफेरी गरेको फेला परेको छ।

दीपक र सुलभबाहेक सुभी अग्रवालविरुद्ध ३ अर्ब ९६ करोड, ऋषिराज मोरविरुद्ध ३ अर्ब ७८ करोड, कृषिभ अग्रवालविरुद्ध ३ अर्ब २८ करोड ३८ लाख, अमित मोरविरुद्ध १२ करोड ६ लाख, राजकुमार मोरविरुद्ध २७ करोड ६९ लाख र भृकुटी स्टक ब्रोकरका सन्दीप चाचन अग्रवालविरुद्ध १४ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

यस्तै रोहित गुप्ताविरुद्ध पनि दुवैतर्फ गरेर ३ अर्ब २५ करोड बिगो दाबी गरिएको छ। अमित मोरविरुद्ध २ अर्ब ८५ करोड ३९ लाख, शुभेच्छा खरेलविरुद्ध २७ करोड ३३ लाख, सुभाषकुमार झुनझुनवालाविरुद्ध २७ करोड ३३ लाख, राजीव मोरविरुद्ध २७ करोड ३३ लाख, राजबहादुर शाहविरुद्ध एक अर्ब ७८ करोड र उपासना पौडेलविरुद्ध ६ अर्ब ४ करोड बिगो दाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनिषकुमार, शिशिर गैरे, दीपककुमार श्रेष्ठ, रितेश प्रधान, सुमेर शमशेर जबरा, सुभाषबहादुर श्रेष्ठ, आशिष श्रेष्ठ, मृगेन्द्रनाथ रिमाल, सिद्धान्त झुनझुनवाला, सुरेन्द्र थापा, राजकुमार यादव, प्रतापमान श्रेष्ठ, नरेशकुमार रोका, चिरायू भण्डारी, शरद ओझा, मदन दाहाल र शंकरलाल अग्रवाललाई पनि प्रतिवादी बनाएको छ।