BIZMANDU
www.bizmandu.com

४ खर्ब रुपैयाँमा यम! ब्रान्ड्सले बिक्री गर्‍यो घाटामा चलिरहेको ‘पिज्जा हट’, किन गुम्यो वर्चस्व?

२०८३ असार ३

४ खर्ब रुपैयाँमा यम! ब्रान्ड्सले बिक्री गर्‍यो घाटामा चलिरहेको ‘पिज्जा हट’, किन गुम्यो वर्चस्व?
४ खर्ब रुपैयाँमा यम! ब्रान्ड्सले बिक्री गर्‍यो घाटामा चलिरहेको ‘पिज्जा हट’, किन गुम्यो वर्चस्व?

अन्तर्राष्ट्रिय फास्टफुड कम्पनी ‘यम! ब्रान्ड्स’ ले लामो समयदेखि घाटामा चलिरहेको आफ्नो चर्चित चेन ‘पिज्जा हट’ लाई २.७ अर्ब अमेरिकी डलर (४ खर्ब साढे ८ अर्ब रुपैयाँ भन्दा बढी) मा बिक्री गर्ने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बीबीसीका अनुसार सम्झौता अन्तर्गत प्राइवेट इक्विटी फर्म ‘लङरेन्ज क्यापिटल’ले चीन बाहिर संचालित पिज्जा हट व्यवसायलाई १.५ अर्ब डलरमा खरिद गर्नेछ। चीनभित्रको व्यवसायलाई भने ‘यम चाइना होल्डिङ्स’ ले १.२ अर्ब डलरमा किन्ने भएको छ।

पिज्जा हटको चेन नेपालमा पनि संचालनमा रहेका छन्। काठमाडौंसहित देशका मुख्य सहरी क्षेत्रमा पिज्जा हट संचालित छन्।

यम! ब्रान्ड्सले पहिलो पटक नोभेम्बर २०२५ मा पिज्जा हट बेच्ने योजना सार्वजनिक गरेको थियो। अमेरिकी बजारमा पिज्जा हटका स्टोरहरुको बिक्री लगातार घटेपछि कम्पनी यो निर्णयमा पुगेको हो।

अमेरिकामा ‘क्याजुअल डाइनिङ’ को पर्यायवाची बनेको पिज्जा हटले लामो समयदेखि विभिन्न चुनौती र संकटको सामना गरिरहेको थियो। पिज्जा हटका लागि अमेरिकी बजार निकै महत्त्वपूर्ण मानिन्छ। यसको कुल अन्तर्राष्ट्रिय बिक्रीको ४० प्रतिशत हिस्सा अमेरिकाबाट मात्रै आउँछ।

पिज्जा हटका प्रतिस्पर्धी ब्रान्डहरु जस्तै ‘डोमिनोज’, ‘पापा जोन्स’, र ‘लिटल सिजर्स’ को आक्रामक बजार नीतिका कारण पिज्जा हट संकटमा परेको हो। चर्को महँगीको समयमा यी प्रतिस्पर्धीहरुले धेरै ‘डिस्काउन्ट’ दिएर उपभोक्ताहरुलाई आकर्षित गरेको जनाइएको छ।

यसका साथै, साना तथा मझौला क्षेत्रीय पिज्जा चेनहरुले पनि ग्राहकहरुको बदलिँदो बानी र माग अनुसार आफूलाई परिवर्तन गर्दै लगे। जसकारण पिज्जा हटको बजार हिस्सा खोसेका बताइन्छ।

त्यस्तै, डेलिभरी एपहरुको तीव्र विकासले बजारमा खानेकुराका अनगिन्ती विकल्पहरु थपिदिएको छ। जसका कारण पिज्जा हटको ऐतिहासिक वर्चस्व कमजोर बन्न पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

पिज्जा हटको सुरुवात सन् १९५८ मा अमेरिकाको कान्सास राज्यको विचिटामा दुई दाजुभाइले गरेका थिए। सन् १९७७ मा यसलाई बहुराष्ट्रिय कम्पनी पेप्सिकोले खरिद गरेको थियो। पछि सन् १९९७ मा पेप्सिकोबाट अलग भएर यो ‘यम! ब्रान्ड्स’ को हिस्सा बनेको थियो।

गएको वर्ष अक्टोबरमा बेलायतमा पिज्जा हटको डाइनिङ रेस्टुरेन्ट संचालन गर्ने कम्पनी ‘डीसी लन्डन पाई’ टाट पल्टिएपछि यम! ले त्यहाँको व्यवसाय आफैंले किनेको थियो।

सुरुमा ६८ वटा रेस्टुरेन्टहरु बन्द हुने र १ हजार २०० भन्दा बढी रोजगारी जोखिममा परेको भए तापनि पछि एउटा उद्धार सम्झौता मार्फत ६४ वटा रेस्टुरेन्टहरु बचाउन कम्पनी सफल भएको थियो।

घाटामा रहेको पिज्जा हटलाई बिक्री गरेर यम! ब्रान्ड्सले अब आफ्ना अन्य मुख्य र नाफामूलक ब्रान्डहरु जस्तै ‘केएफसी’  र ‘टाको बेल’ मा आफ्नो ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।

लङरेन्ज क्यापिटल र यम चाइनासँगको यो खरिद बिक्री सम्झौता आवश्यक कानुनी प्रक्रिया र नियामक निकायहरुको स्वीकृति पछि सन् २०२६ को तेस्रो त्रैमासिक भित्र पूर्ण रुपमा सम्पन्न हुने जनाइएको छ।