BIZMANDU
www.bizmandu.com

स्वर्णिमको बजेटमा तयारी वस्तुभन्दा कच्चापदार्थमा भन्सार महसुल धेरै, फिलर मास्टर ब्याच अब उत्पादन नहुने


स्वर्णिमको बजेटमा तयारी वस्तुभन्दा कच्चापदार्थमा भन्सार महसुल धेरै, फिलर मास्टर ब्याच अब उत्पादन नहुने
स्वर्णिमको बजेटमा तयारी वस्तुभन्दा कच्चापदार्थमा भन्सार महसुल धेरै, फिलर मास्टर ब्याच अब उत्पादन नहुने

विराटनगर। प्लास्टिकका झोला, बोरा र अन्य सामग्री उत्पादन गर्दा आवश्यक पर्ने सहायक कच्चा सामग्री फिलर मास्टर ब्याच नेपाली उद्योगले उत्पादन गर्दै आएका थिए। फिलर मास्टर ब्याचको मुख्य कच्चा पदार्थ कोटेड क्याल्सियम कार्बोनेट हो।

Tata
GBIME
Nepal Life

तर सरकारले २०८० मा बजेटमार्फत कोटेड क्याल्सियम कार्बोनेट र तयारी वस्तु फिलर मास्टर ब्याच गरी दुबै वस्तुको भन्सार महसुल समान १० प्रतिशत बनायो जसले देशभरिका १ दर्जन उद्योग क्रमशः बन्द भए।

तयारी वस्तुको तुलनामा कच्चा पदार्थको महसुलमा कम्तीमा १ तहको फरक हुनुपर्ने सिद्धान्तविपरीत तत्कालीन सरकारले दुबै वस्तुमा समान दर कायम गरेपछि फिलर मास्टर ब्याच उत्पादक उद्योगलाई दशा लाग्यो।

देशभरिका १ दर्जन उद्योग बन्द हुँदा पनि विराटनगरको शक्ति इन्डस्ट्रिजले भने फिलर मास्टर ब्याच उत्पादन गर्न छोडेन। तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ को बजेटमार्फत तयारी वस्तु फिलर मास्टर ब्याचको भन्दा कच्चा पदार्थ कोटेड क्याल्सियम कार्बोनेटको महसुल महँगो बनाएका छन् जसले घिटीघिटी चलिरहेको शक्ति इन्डस्ट्रिज पनि बन्द हुने भएको छ।

मन्त्री वाग्लेले फिलर मास्टर ब्याचमा महसुल १० प्रतिशतलाई कायम नै राखेर यसको कच्चा पदार्थ कोटेड क्याल्सियम कार्बोनेटको महसुललाई १५ प्रतिशत बनाएका छन्। यसका कारण शक्ति इन्डस्ट्रिजले अब फिलर मास्टर ब्याच उत्पादनलाई निरन्तरता दिन नसक्ने जनाएको छ।

उद्योगका निर्देशक एवम् उद्योग संगठन मोरङका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले शक्ति इन्डस्ट्रिजले फिलर मास्टर ब्याच उत्पादन ३ महिनाभित्रै बन्द गर्ने बताए। उनका अनुसार अब कारखानामा मौज्दात रहेको कच्चा पदार्थ मात्र प्रशोधन गरिनेछ। बाँकी कच्चा पदार्थ आयात गर्न सकिने अवस्था छैन। किनकि कच्चा पदार्थको महसुल १५ र तयारीको १० प्रतिशत छ।

‘सरकारले दुबैको महसुल दरमा कम्तीमा एक तहको फरक हुनुपर्ने स्थापित मान्यताविपरीत कच्चा पदार्थको महसुल बढाएर तयारी वस्तुको आयात सस्तो बनाएको छ। यसका कारण अब उद्योग सञ्चालन गर्ने अवस्था रहेन,’ अग्रवालले भने।

शक्ति इन्डस्ट्रिजले भारत र भियतनामबाट कोटेड क्याल्सियम कार्बोनेट आयात गरेर फिलर मास्टर ब्याच उत्पादन गर्दै आएको थियो। फिलर मास्टर ब्याच सबैभन्दा धेरै परिमाणमा उत्पादन गर्ने उद्योग शक्ति इन्डस्ट्रिज भएको अग्रवालको दाबी छ।

केही उद्योगीले सरकारमा लबिइङ गर्दै २०८० को बजेटदेखि कोटेड क्याल्सियम कार्बोनेटको आयात महसुल १० प्रतिशत कायम गराएका थिए। त्यसअघि यसको महसुल ५ प्रतिशत र यसबाट उत्पादन हुने फिलर मास्टर ब्याचको महसुल १० थियो।

एकाएक तयारी र कच्चा दुबै वस्तुको महसुल दर समान भएपछि फिलर मास्टर ब्याच उत्पादन गर्दै आएका देशभरिका उद्योग क्रमशः बन्द हुन थाले।

विराटनगरमा शारडा ग्रुप र एके राठी समूहले पशुपति सिनप्याकबाट उत्पादन गरिरहेको फिलर मास्टर ब्याच उत्पादन रोकियो। विराटनगरकै गिरीश लुनियाँले महालक्ष्मी वायरबाट, लक्ष्मी चौधरीले जानकी प्लास्टिकबाट र विकास चौधरीले सुरभि पोलिमर्सबाट गरिरहेको उत्पादन पनि ठप्प हुन पुग्यो।

यसबाहेक वीरगञ्जमा टुलिप पोलिमर्ससहित ४ उद्योगले फिलर मास्टर ब्याच उत्पादन बन्द गरे। नारायणघाटका २ र जनकपुरको १ उद्योगले पनि उत्पादन बन्द गरे।

पशुपति सिनप्याकका सञ्चालक एवम् मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले तयारी वस्तुको आयात महसुल नै कच्चा पदार्थको बराबर भएपछि आफूले फिलर मास्टर ब्याच उत्पादन गर्न नसकेको बताए।

‘सरकारले के उद्देश्यले यसो गरेको हो हामीले बुझेका छैनौं। तर संसारभरि कतै पनि कच्चा र तयारी वस्तुको महसुल दर समान हुँदैन। कम्तीमा एक तहको फरक हुन्छ। यस पटकको बजेटले त कच्चा पदार्थकै आयातलाई महँगो बनाएको छ,’ राठीले भने।

सरकारले दुबै वस्तुको महसुल परिवर्तन गरेर कच्चा पदार्थको आयातलाई सहज नबनाए आफूहरु पीडित भइरहने उद्योगीहरुको भनाइ छ।

‘सम्भवतः देशमा फिलर मास्टर ब्याच उत्पादन बन्द गर्ने हामी अन्तिम उद्योग हुनेछौं। तयारीका तुलनामा कच्चा पदार्थको आयात महसुल महँगो भएपछि त अब सहनै नसकिने भयो। हामीले पनि बन्द नगरी सुख नपाउने भयौं,’ शक्ति इन्डस्ट्रिजका अग्रवालले भने।

चालु आर्थिक वर्ष जेठ महिनासम्म कोटेड क्याल्सियम कार्बोनेट ९८ र तयारी वस्तु फिलर मास्टर ब्याच १ अर्ब २५ करोड रुपैयाँको आयात भएको तथ्यांक छ।