बेइजिङ । परराष्ट्र मन्त्री शिशिर खनाल गत आइतबार बेइजिङ अवतरण गरे। स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ आइपुगेका मन्त्री खनालले आइतबार नै नेपाली दूतावासमा पुगेर त्यहाँ उपस्थित युवाहरूलाई चीनमा सिकेको सीप नेपालमा लगानी गर्न आग्रह गरे।
युवालाई सम्बोधन गर्दै मन्त्री खनालले भने, ‘नेपाल र चीनबीचको व्यापार घाटा अत्यन्तै उच्च छ। हामी चीनबाट धेरै आयात गर्छौं, तर निर्यात नाम मात्रको छ। तपाईँहरूले चीनमा बसेर सिकेको ज्ञान, प्रविधि वा पर्यटनको अनुभवलाई नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ ?’ उनले सोधे।
सन् २०२५ को सेप्टेम्बर यता नेपालबाट बेइजिङमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो। २०२५ सेप्टेम्बरमा नेपालमा भएको राजनीतिक उथलपुथल र २०२६ को मार्चमा भएको निर्वाचनपछिको राजनीतिक ध्रुवीकरणलाई नजिकबाट र शंकाको नजरले हेरिरहेको चीनसँग पछिल्लो समय सम्पर्क टुटेको थियो। यो भ्रमणले दुई देशको सम्बन्ध र सम्पर्कलाई नवीकरण गर्ने विश्वास समेत लिइएको छ। यद्यपि, चीन यस भ्रमणबाट पूर्ण आश्वास्त हुन्छ कि हुँदैन भनेर भ्रमणका उपलब्धिले देखाउने नै छन्।
चीनले ‘जति नै पर्ख र हेर’को नीति लिए पनि त्यसलाई बोलीमा स्पष्ट रूपमा भने खोलेको छैन। गत शुक्रबार मात्रै पनि चिनियाँ विदेश मन्त्रालयले भ्रमणबारे जानकारी दिन सार्वजनिक गरेको वक्तव्यले पनि यसलाई स्पष्ट पार्छ। वक्तव्यमा पुरानै कुरालाई दोहोर्याइएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले भ्रमणबारे सोधिएको प्रश्नमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापनादेखि चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणसम्मलाई जोडेका छन्। साथै उनले निर्वाचनको सफलताको बधाई दिँदै नेपालको स्थिरता, विकास र समृद्धि हासिल गर्न नेपाललाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
उनले भनेका छन्, ‘चीनले चीन–नेपाल सम्बन्धलाई ठूलो महत्त्व दिएको छ र यस भ्रमणलाई नेपालको नयाँ सरकारसँग राजनीतिक आपसी विश्वास बढाउन, व्यावहारिक सहयोगलाई गहिरो बनाउन, उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहयोग अघि बढाउन र चीन-नेपाल रणनीतिक सहयोगमा बृहत् प्रगति गर्न अवसरको रूपमा लिने छ।’
चीनले आफ्ना चासो खुला रूपमा नराखे पनि सम्बन्धित निकायसम्म विभिन्न माध्यमबाट पुर्याउँदै आएको छ। विशेष गरी २०२५ को परिवर्तनपछि नेपाली भूमि स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिका लागि प्रयोग हुने सक्ने आशंका चीनले गर्दै आएको छ। यस विषयमा खुला रूपमा नबताए पनि स्पष्ट रूपमा कूटनीतिक च्यानलमार्फत पुर्याएको छ।
नयाँ राजनीतिक ध्रुवीकरण र नयाँ सरकारले लिने नीति बुझ्नका लागि पर्खिएको चीनलाई परराष्ट्र मन्त्री खनालले मन्त्रीस्तरीय भेटवार्ताका क्रममा आश्वस्त पार्ने प्रयास गरेको बुझिन्छ। सरकारमा वामपन्थी शक्तिहरूको अनुपस्थितिलाई चीनले ध्यानमा राखेको छ। साथै पश्चिमा शक्तिको प्रभाव बढ्ने विषयमा पनि उसले ध्यानमा राखेको छ।
गत चुनावपछि नेपालमा पुराना शक्ति कमजोर भएपछि दुई देशबीच टुटेको सम्बन्धलाई यस भ्रमणले जोड्ने अपेक्षा पनि लिइएको छ।
बेइजिङमा खनाल र चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटमा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगलगायत द्विपक्षीय सम्बन्धका समग्र आयामहरुमा बृहत् छलफल भएको छ।
‘हामीले जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्नुका साथै दुवै देशको आपसी हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः जोड दियौं,’ खनालले भनेका छन्।

चीनले दुई देशबीचको सम्बन्धलाई ‘विन विन’को नीति अनुसार विकास साझेदारीमा जोड दिँदै आएको छ। साथै उसले यस्ता साझेदारीलाई ‘मानवताका लागि साझा भविष्यसहितको समुदाय’को निर्माणको रूपमा अगाडि सार्दै आएको छ।
नेपालको नयाँ सरकारले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको बेला दुई देशबीचको साझेदारीको बिन्दु यहीँ निर मिल्छ। चीनले नेपालले अगाडि सारको विकास कूटनीतिप्रति प्रशंसा गरेको छ। यद्यपि उसले विकास कूटनीतिका लागि नीतिगत स्थिरताको खोजी गरिरहेको छ।अहिले नयाँ योजना र क्षेत्रमा साझेदारीभन्दा पनि लामो समयदेखि रोकिएका परियोजना तथा राष्ट्रपति सिको नेपाल भ्रमण तथा दुई देशबीचको उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताहरूको कार्यान्वयनमा चीनको पहिलो प्राथमिकतामा छ।
चीनको चिन्ता पनि परियोजना तथा सम्झौताहरूको कार्यान्वयनमा ढिलाइ हो। पछिल्लो समय नेपालमा बढिरहेको सामाजिक सञ्जालको अराजकता तथा लोकप्रियतावादको चपेटामा परियोजना पर्ने त होइनन् भन्ने चिन्ता चीनले देखाउँदै आएको छ।
पश्चिमा प्रभावसँगै नेपालले इन्डो प्यासिफिक स्ट्राटेजी जस्ता रणनीतिक साझेदारको हिस्सा बन्छ कि भन्ने चासो पनि चीनको छ।
यस पटकको भ्रमणले चीनका चासो र चिन्तालाई चिर्न सक्यो भने ठूलो उपलब्धि हुने मानिएको छ। लामो समयपछि नेपाल राजनीतिक स्थिरताको दिशामा अगाडि बढिरहँदा चीन खुसी छ। साथै उसको चासो आफ्नो दक्षिण-पश्चिमी सीमा तिब्बतको सुरक्षा हो। यी चासोलाई सम्बोधन गर्ने नेपालले दुई दीर्घकालीन पूर्वाधार लगानी साझेदारीमा जोड दिनुपर्छ। साथै बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनमा यस भ्रमणले ‘आइसब्रेक’ गर्न सक्छ। ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल अन्तर्गतका रेलमार्ग ट्रान्समिसन लाइन जस्ता परियोजनाका लागि आइसब्रेकको काम गर्न सक्छन्।
परराष्ट्र मन्त्री खनालको चीन भ्रमण ठूला परियोजना र उपलब्धिका लागि भन्दा पनि टुटेको राजनीतिक पारस्परिक विश्वास अभिवृद्धि गर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउने तथा उच्च गुणस्तरीय बेल्ट एन्ड रोड साझेदारीलाई अगाडि बढाउनेमा केन्द्रित भएको छ। चीन त्यसैका लागि तयार छ। यस पटक चीन नेपाललाई नयाँ परियोजना दिने भन्दा पनि नेपालको मन बुझ्ने प्रयास गरेको देखिन्छ।
अर्को बेइजिङमा रहँदा परराष्ट्र मन्त्री खनालसामु चीनका व्यापारी तथा लगानीकर्तालाई नेपालमा लगानीका लागि आश्वस्त पार्न सक्ने अवसर थियो। नेपालमा भएको परिवर्तनलाई बेइजिङले मात्र होइन चीनका व्यापारी तथा लगानीकर्ताहरुले पनि चासोका साथ हेरिरहेका छन्। नेपालमा लगानी सुरक्षितताको सुनिश्चितता जताउने अवसर खनालसामु छ।
खनाल आज नेपाल फर्किँदैछन्। उनले स्वेदश पुगेपछि बेइजिङबाट पाएको सन्देश साझा गरेपछि भ्रमणबाट हासिल उपलब्धीबाट थप चर्चा हुनेनैछ।