काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अस्ट्रियाले नवप्रवेशी जोर्डनलाई हराएको छ। निर्धारित समय सकिन लाग्दा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै अनुभवी फरवार्ड मार्को अर्नाउटोभिचले गोल गरेपछि अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हराउँदै महत्वपूर्ण तीन अंक हात पारेको हो।
सन फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा अस्ट्रियाले २१औं मिनेटमा अग्रता लिएको थियो। जाभेर स्लागरको पासमा रोमानो स्मिडले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोलपोस्टको माथिल्लो कुनामा पुगेपछि अस्ट्रियाले १–० को अग्रता बनाएको थियो।
पहिलो हाफमा ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि अस्ट्रियाले जोर्डनको तीव्र काउन्टरअट्याक रोक्न संघर्ष गर्नुपरेको थियो। जोर्डनले पनि केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै जोर्डन खेलमा फर्कियो। नुर अल-रवाब्देहको लामो पासमा अली ओलवानले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। यो गोल जोर्डनको विश्वकप इतिहासकै पहिलो गोल समेत बनेको छ।
बराबरीपछि दुवै टोलीले अग्रता लिन आक्रामक खेल प्रस्तुत गरे। ७०औं मिनेटमा अर्नाउटोभिचले गरेको गोल भिएआरमार्फत ह्यान्डबल देखिएपछि रद्द गरिएको थियो।
७६औं मिनेटमा अस्ट्रियाले पुनः अग्रता बनायो। मार्सेल साबित्जरले प्रहार गरेको कर्नर क्लियर गर्ने क्रममा जोर्डनका रक्षक याजन अल–अरबबाट आत्मघाती गोल भएपछि अस्ट्रियाले २–१ को अग्रता लिएको थियो।
त्यसपछि बराबरीको प्रयासमा रहेको जोर्डनले केही अवसर बनाए पनि सफल हुन सकेन। बरु इन्जुरी समयमा जोर्डनका खेलाडीले ह्यान्डबल गरेपछि अस्ट्रियाले पेनाल्टी पायो। इन्युरीसमयको अन्तिम अर्नाउटोभिचले पेनाल्टीलाई गोलमा परिणत गर्दै अस्ट्रियाको ३–१ को जित सुनिश्चित गरे।
यस जितसँगै अस्ट्रियाले समूह ‘जे’ मा महत्वपूर्ण तीन अंक जोडेको छ भने जोर्डन अंकविहीन बनेको छ। यो समूहमा अर्जेन्टिना र अस्ट्रियाको समान ३ अंक छ भने जोर्डन र अल्जेरिया अंकविहीन छन्।