BIZMANDU
www.bizmandu.com

विश्वकप डेब्युमै हल्याण्डको प्रभावशाली प्रदर्शन, इराकमाथि नर्वेको रवाफिलो जित

२०८३ असार ३

विश्वकप डेब्युमै हल्याण्डको प्रभावशाली प्रदर्शन, इराकमाथि नर्वेको रवाफिलो जित
FOXBOROUGH, MASSACHUSETTS - JUNE 16: Erling Haaland #9 of Norway celebrates scoring his team's first goal during the FIFA World Cup 2026 Group I match between Iraq and Norway at Boston Stadium on June 16, 2026 in Foxborough, Massachusetts. (Photo by Patrick Smith - FIFA/FIFA via Getty Images)

काठमाडौं। नर्वेले विश्वकपमा विजयी सुरुवात गरेको छ। विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’को आफ्नो पहिलो खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा स्टार फरवार्ड अर्लिङ हल्यान्ड दुई गोलसहित बलियो प्रदर्शन गर्दा भने लियो ओस्टिगार्ड र हुसेनले एक-एक गोल थपे। नर्वेका लागि चौथो गोल इराकी डिफेन्डरको आत्मघाती गोलका रूपमा भयो।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको नर्वेले २९औँ मिनेटमा अग्रता बनाएको थियो। एन्टोनियो नुसाले सुरु गरेको आक्रमणलाई डेभिड मोलर वोल्फले उत्कृष्ट क्रसमा परिणत गरेपछि हाल्यान्डले सहज ट्याप–इन गर्दै विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए।

तर, इराकले हार मानेन। ३९औँ मिनेटमा अली जासिमको उत्कृष्ट मुभपछि आमिर अल अम्मारीले दिएको क्रसलाई आइमन हुसेनले शक्तिशाली हेडरमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरी भएको चार मिनेट नबित्दै नर्वेले पुनः अग्रता लियो। इराकका गोलकिपर जलाल हसनले रक्षापंक्तिबाट खेल सुरु गर्ने क्रममा गल्ती गर्दा हाल्यान्डले दबाब सिर्जना गरे र आफ्नो दोस्रो गोल गरे। पहिलो हाफ नर्वेले २–१ को अग्रतासहित समाप्त गरेको थियो।

दोस्रो हाफमा इराकले बराबरी गोलका लागि केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। बरु ७६औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले प्रहार गरेको कर्नरमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै नर्वेलाई ३–१ को सहज स्थितिमा पुर्‍याए।

खेल सकिन केही मिनेट बाँकी रहँदा नर्वेले अर्को गोल थप्यो। एरिल्ड आजरको क्रसमा हाल्यान्डले हेडमार्फत बललाई गोलअगाडि फर्काएपछि क्रिस्टियन थोर्सभेड्टको प्रयास इराकी डिफेन्डर हुसेनबाट आत्मघाती गो हुन पुगेको थियो। उक्त गोल आत्मघाती गोलपछि नर्वे ४–१ ले विजयी बन्यो।

हाल्यान्डले विश्वकप डेब्यु खेलमै दुई गोल गर्दै आफ्नो स्टार छवि पुष्टि गरेका छन्। युरोपेली छनोटका सबै आठ खेल जितेर विश्वकप पुगेको नर्वेले यस जितसँगै समूह ‘आई’मा महत्वपूर्ण तीन अंक जोडेको छ। यसअघि सोही समूहको अर्को खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो।

अब नर्वेले आफ्नो दोस्रो खेलमा सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने इराकले समूहको बलियो टोली फ्रान्सको सामना गर्नेछ।