काठमाडौं। फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले हराउँदै विजयी सुरुआत गरेको हो। अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा बुधबार बिहान भएको खेलमा कप्तान किलियन एम्बाप्पेले कीर्तिमानी गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलमा सेनेगलले उत्कृष्ट प्रदर्शन गरेको थियो। निकोलस ज्याक्सनले २५औँ मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने पहिलो हाफको इन्जुरी समयमा इस्माइला सारले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए। त्यसैले फ्रान्समाथि सुरुआती दबाब सेनेगलले नै बनाएको थियो।
दोस्रो हाफमा भने फ्रान्सले आफ्नो स्तर देखायो। ६६औँ मिनेटमा माइकल ओलिसेको आकर्षक पासमा एम्बाप्पेले पहिलो टचमै गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। यो गोलसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले राष्ट्रिय टोलीका लागि ५८ गोल पूरा गर्दै ओलिभिए जिरुडलाई पछि पारे।
फ्रान्सले त्यसपछि ८२औँ मिनेटमा अग्रता दोब्बर बनायो। एड्रियन राबियोटको उत्कृष्ट पासमा मैदान प्रवेश गरेको केही मिनेटमै ब्राड्ली बार्कोलाले गोल गर्दै फ्रान्सलाई २-० को अवस्थामा पुर्याए।
खेल सकिन पाँच मिनेट बाँकी रहँदा सेनेगलले खेलमा फर्कने संकेत दिएको थियो। इब्राहिम एम्बायेले व्यक्तिगत कौशल देखाउँदै फ्रान्सका गोलकिपर माइक माइनालाई बिट गर्दै गोल गरेपछि सेनेगल २-१ को दूरीमा आइपुगेको थियो।
तर सेनेगलको आशा लामो समय टिक्न सकेन। इन्जुरी समयको छैटौँ मिनेटमा एम्बाप्पेले झण्डै ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै सुन्दर गोल गरे। उनको त्यो गोलसँगै फ्रान्सले ३-१ को सहज जित निकाल्यो।
खेलभर फ्रान्सका लागि एम्बाप्पे सर्वाधिक प्रभावशाली रहे। उनले दुई गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। योसँगै विश्वकपमा गोल गर्ने मामिलामा एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलियन लेजेन्ड पेलेलाई पछि पारे।
फिफा विश्वकपमा पेले र मेस्सी दुबैको समान १३ गोल छ। एम्बाप्पेको आजको दोहोरो गोलले यी दुबैको कीर्तिमानलाई पछि पार्दै गोलसंख्या १४ पुगेको छ। यो जर्मनीका गर्डमुलरसँग बराबरी हो। यो सूचिमा १५ गोल गरेका ब्राजिलका रोनाल्डो दोस्रो र १६ गोल गरेका जर्मनीका मिरोस्लाभ क्लोज शीर्षस्थानमा छन्।
सेनेगलले भने हार बेहोरे पनि खेलभर फ्रान्सलाई कडा चुनौती दिएको थियो। पहिलो हाफमा सिर्जना गरेका अवसर सदुपयोग गर्न नसक्दा अफ्रिकी टोली अंकविहीन बन्न बाध्य भयो।
जितसँगै फ्रान्सले समूह ‘आई’ मा तीन अंक जोडेको छ भने सेनेगलले प्रतियोगिताको सुरुआत हारबाट गरेको छ। यही समूहका नर्वे र इराक प्रतिस्पर्धामा उत्रिएका छन्।