काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल सकिएको छ। प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले बोल्ने क्रम दुई दिनमा नै सकाइएको हो।
सोमबार ९ वटा मन्त्रालयको बजेटमाथि बोल्न लगाइएकामा सांसदहरुले मंगलबार नवप्रवर्तन, कानुन, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि आ-आफ्नो धारणा राखेका छन्।
बुधबार विभिन्न ८ मन्त्रीले जवाफ दिनेछन्। श्रममन्त्री रामजी यादव, उद्योगमन्त्री गौरी कुमारी, कृषिमन्त्री गीता चौधरी, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, पर्यटनमन्त्री खडकराज पौडेल, स्वास्थ्यमन्त्री निशा मेहता, संघीय मामिलामन्त्री प्रतिभा रावल र महिलामन्त्री सीता वादीले जवाफ दिने सभामुख डीपी अर्यालले जानकारी दिए।