BIZMANDU
www.bizmandu.com

मेक्सिकोको जितपछि भाइरल हाँस, विश्वकपको अनौपचारिक मस्कट बन्यो मर्लिन

२०८३ असार २

मेक्सिकोको जितपछि भाइरल हाँस, विश्वकपको अनौपचारिक मस्कट बन्यो मर्लिन
मेक्सिकोको जितपछि भाइरल हाँस, विश्वकपको अनौपचारिक मस्कट बन्यो मर्लिन

मेक्सिको सिटी। विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथि जित हासिल गर्दा मैदानमा जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरे। तर खेलपछि सबैभन्दा धेरै चर्चा भने एउटा हाँसको भएको छ।

Tata
GBIME
Nepal Life

मेक्सिकोको राष्ट्रिय टोलीको जर्सी र मोजा लगाएको दुई वर्षे हाँस ‘मर्लिन’ विश्वकपको पहिलो अनौपचारिक मस्कटका रूपमा सामाजिक सञ्जालमा एकाएक चर्चित बनेको छ। मेक्सिको सिटीमा हजारौं समर्थकबीच टोलीको जितको उत्सव मनाउँदै हिँडिरहेको मर्लिनका तस्बिर र भिडियोहरू भाइरल भएपछि उसले लाखौं मानिसको ध्यान खिच्यो।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ‘हामी मर्लिनलाई रंगशालामा देख्न चाहन्छौं,’ ‘यो हाँस त अब राष्ट्रिय सम्पत्ति नै हो’ र ‘अहिलेसम्मको विश्वकपको सबैभन्दा रमाइलो पक्ष यही हो’ जस्ता टिप्पणी गरेका छन्।

तर मेक्सिको सिटीका स्थानीयका लागि मर्लिन नयाँ पात्र होइन। ऐतिहासिक सहर केन्द्रका मेला र सार्वजनिक कार्यक्रमहरूमा ऊ नियमित रूपमा देखिने परिचित अनुहार हो। मर्लिनकी मालिक कार्ला गोमेज प्रत्येक साता सानो ठेलामा पानी र सफ्ट ड्रिंक बेच्ने गर्छिन्। मर्लिन प्रायः उनीसँगै हुन्छ। उसलाई देख्नेबित्तिकै मानिसहरू उत्साहित हुने, फोटो खिच्न चाहने र माया गर्ने गर्छन्।

गोमेज भन्छिन्, ‘हामी उसलाई घरमा एक्लै छोड्न चाहँदैनौं। ऊ हाम्रो बच्चाजस्तै हो। हाम्रो सम्पत्तिको एकमात्र उत्तराधिकारी र अहिले त एक किसिमको आइडल नै बनेको छ।’

घाम होस् वा वर्षा, मर्लिन गोमेज र उनका छोरा क्रिस्टियन गोमेजसँगै मेक्सिको सिटीका चर्चित स्थानहरूमा पुग्ने गर्छ। उसलाई मूलतः क्रिस्टियनका लागि उपहारस्वरूप ल्याइएको थियो, तर समयसँगै उनीहरूको गहिरो मित्रता बनेको छ। गोमेजका अनुसार मर्लिन उनका छोराको ‘अभिन्न साथी’ बनेको छ।

गोमेजले भनिन्, ‘मर्लिन पानीको बोतल बेच्दै हिँड्दा नै स्थानीय रूपमा परिचित भइसकेको थियो। तर ऊ यति ठूलो सनसनी बन्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।’

मर्लिनको लोकप्रियता यति बढेको छ कि सोमबार गोमेज र मर्लिनले फिफाका प्रतिनिधिहरूसँग भेट गरी फोटोसुट र एक विज्ञापनसमेत गरेका छन्।

अब परिवारको आशा छ – मेक्सिकोको सबैभन्दा चर्चित पंखे समर्थक मर्लिनले आयोजक राष्ट्रलाई विश्वकपभर भाग्यशाली बनाइरहोस्। मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको छ भने यसपटक क्यानाडा र अमेरिकासँग सह-आयोजकको भूमिकामा छ।

गोमेजले भनिन्, ‘मेक्सिको, हामी तिम्रो साथमा छौं। मर्लिन त तिम्रो नम्बर १ समर्थक हो।’ (एपी)