काठमाडौं। ऊर्जा उद्यमीहरुको संस्था इप्पानमा असार २९ गते ४औं साधारण सभा तथा ८औं अधिवेशन थियो। अधिवेशबाट नयाँ नेतृत्व हत्याउन दुई वटा टिम प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए।
एउटा टिमको नेतृत्व उत्तम भ्लोन लामा र अर्को टिमको नेतृत्व बलाराम खतिवडाले गरेका थिए। बलरामलाई निवर्तमान उपाध्यक्ष भरतबहादुर खत्रीले अगाडि सारेका थिए।
पूर्वनिर्धारित तालिका अनुसार उट्घाटन समारोह सकिएपछि बन्दसत्र सुरु भयो। निवर्तमान कार्यसमितिका केही पदाधिकारी र पूर्वअध्यक्षहरु सर्वसम्मतरुपमा नेतृत्व चयनका लागि छलफलमा जुटे।
निर्वाचन नगरी नेतृत्व छान्नुपर्ने आवाज बढेपछि खत्री सहमतिका लागि उपाध्यक्ष पद छोड्न तयार भए। भ्लोन वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिस्पर्धी खतिवडालाई उपाध्यक्ष बनाउन तयार भए। सहमति अनुसार साधारण सभाले विधान संशोधन गर्दै उपाध्यक्ष र सचिवको संख्या पाँचबाट ७/७ पुर्याउने निर्णय गर्यो।
महासचिव र कोषाध्यक्ष पदमा भने सहमति जुट्न सकेको थिएन। महासचिवमा भ्लोनको टिमबाट टेकनाथ आचार्य र खतिवडाको टिमबाट प्रकाशचन्द्र दुलालले उम्मेदवारी दिएका थिए।
दुलाललाई सहमतिका लागि बाधक नबन्न भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरियो। तर दुलालले निर्वाचनमा जाने अधिकार रहेको भन्दै उम्मेदवारी फिर्ता लिन मानेनन्। त्यसपछि निर्वाचन कमिटीले हलभित्र रहेका सबैलाई बाहिर निकाल्यो। भोट हाल्न भनेर ऊर्जा उद्यमीहरु करिब आधा घण्टा हल बाहिर लाइन बसे। लाइन बसेका मतदातासँग दुवै समूहले भोट मागिरहँदा केही प्रभावशाली व्यवसायी छलफललाई निरन्तरता दिइ आकांक्षीहरूलाई फकाउँदै समीकरण मिलाउन व्यस्त रहे।
अन्तत: महासचिवमा सहमति जुट्यो। खतिवडाको टिमबाट दुलाललाई पनि उपाध्यक्ष बनाउने र सचिवमा समेत दुई जनालाई व्यवस्थापन गर्न भ्लोन राजी भए।
तर सहमतिमा मिथुन पौडेल राजी भएनन्। उनले कोषाध्यक्षमा उम्मेदवारी फिर्ता नलिने र निर्वाचनबाटै जित हारको निर्णय हुनुपर्ने अडान लिए। उनले खतिवडाको प्यानलबाट उम्मेदवारी दिएका थिए। खतिवडाको टिमको नेतृत्व गरेका खत्रीले आग्रह गर्दा पनि मिथुनले मानेनन्।
इप्पानमा नेतृत्व चयनका लागि यसअघि निर्वाचन भएको थिएन। सहमतिबाटै नेतृत्व चयन गरिंदै आएको इप्पानमा यसपालि मिथनु बाधक बने। अन्य उम्मेदवारहरुले सहमतिमा पालैपालो हस्ताक्षर गर्दा मिथुन अधिवेशनस्थल याक एण्ड यती होटलबाट एकाएक गायब भए।
एक जनाका कारण निर्वाचनमा जानुपर्ने अवस्था राम्रो होइन भन्दै धेरै व्यवसायीले मिथुनलाई मनाउने प्रयासका लागि फोन गरे। तर उनी सम्पर्कमै आएनन्। उनी कहाँ छन् भन्ने पत्तो कसैले पाउन सकेन। राति ९ बजेदेखि तीन घण्टासम्म कुर्दा पनि मिथुनसँग सम्पर्क हुन सकेन।
‘म कुनै पद पाउन नभएर एजेण्डा बोकेर चुनावमा होमिएको थिएँ। सबैकुरा विश्लेषण गरेर कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकाले चुनावबाट पछि हट्न चाहिन,’ मिथुनले भने, ‘मेरै टिमका साथीहरुले सहमतिका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गर्नु भएको थियो। तर, बरु हार स्वीकार्छु भनेर उम्मेदवारी फिर्ता लिन मानिन। अनि फोन फ्लाइ मोडमा राखेर होटलबाट हिंडे।’
रात छिप्पिसकेको थियो। इप्पानका निवर्तमान पदाधिकारीले घरमा सम्पर्क गर्दा पनि मिथुन नभेटिए पछि अन्तत: कोषाध्यक्ष पदका लागि निर्वाचन भयो।

इप्पानको २६ वर्षको इतिहासमा पहिलो पटक चुनाव भएको हो। अरु पदाधिकारी र सदस्य पदमा सहमति भए पनि कोषाध्यक्ष पदमा मिथुनमा कारण ऊर्जा उद्यमीहरुले भोट हाल्नुपर्यो।
मध्यराति १२ बजेदेखि अढाइ घण्टासम्म मतदान भयो। तर मिथुन आफैंचाहिं मतदानमा सहभागी भएनन्।
सहमतिका लागि ‘बाधक’ बनेका मिथुनलाई उद्यमीहरुले रुचाएनन्। प्रतिस्पर्धी शंकर बस्याल २७६ मत पाएर निर्वाचित हुँदा मिथुनले जम्मा ८२ भोट पाए।

‘चुनावमा गएपछि हार/जित निश्चित थियो। त्यसका लागि तयार भएर नै म निर्वाचनमा गएको हुँ। मेरा लागि यो सिकाइ पनि भयो,’ मिथुनले भने।
स्याङजाका ४१ वर्षीय मिथुनले २०६६ मा ५ मेगावाट क्षमताको रुरु जलविद्युत आयोजनाबाट ऊर्जा यात्रा सुरु गरेकामा हाल ३.५ मेगावाटको देवढुङ्गा जलविद्युत आयोजना अघि बढाइरहेका छन्।
सिभिल इन्जिनियरिङमा स्नातक र पूर्वाधार योजनामा स्नातकोत्तर गरेका मिथुनले कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका छन्। उनले २०७३ मा ९९० किलोवाटको सेलाङ खोला जलविद्युत आयोजनाको नेतृत्व सम्हालेका थिए। उनी हाल नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्ष छन्।