BIZMANDU
www.bizmandu.com

संसदीय समितिको बैठकमा सुनिल लम्सालको खोजी, ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिको आलोचना

२०८३ असार २

संसदीय समितिको बैठकमा सुनिल लम्सालको खोजी, ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिको आलोचना
पूर्वाधार विकास समितिको बैठक

काठमाडौं। संसदीय समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अनुपस्थितिलाई लिएर प्रश्न उठेको छ।

Tata
GBIME
Nepal Life

पूर्वाधार विकास समितिले सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन लगायत विषयमा छलफलका लागि मंगलबार बिहान राखेको बैठकमा मन्त्री लम्साल अनुपस्थित भएपछि प्रतिपक्षी दलका साथै सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका हुन्।

मन्त्री लम्सालले आइतबार निर्माणाधीन सडक अनुगमनका क्रममा दिएको हिंसात्मक अभिव्यक्तिलाई लिएर उनको खोजी भएको हो।

नेपाली कांग्रेसकी बासना थापाले विवादित अभिव्यक्ति आफ्ना लागि गलपासो बनेपछि मन्त्री लम्साल बैठकमा नआएको हुनसक्ने अड्कल गरिन्। ‘खुट्टा भाँचिदिनू भन्ने अभिव्यक्तिको विषयमा जवाफ दिन गाह्रो भएर नआएको हुनसक्छ,’ उनले भनिन्।

लम्सालले सडक अनुगमनका क्रममा काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाँचिदिनू, फरक पर्दैन भन्ने अराजक अभिव्यक्ति दिएका थिए।

समितिका अर्का सदस्य भरत कुमार स्वाँरले मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताए। ‘हाम्रो मन्त्रीले खुट्टा भाँचिदिनू भन्नुभयो। निर्माण व्यवसायी मान्छे होइन? यस्तो गैरजिम्मेवार बोल्न मिल्छ?,’ स्वाँरले भने, ‘यस विषयमा हाम्रो कुरा मन्त्रीलाई नै सुनाउनु पर्ने थियो। तर उहाँ नै आउनु भएन।’

एमालेकी नीता घतानीले समितिमा बोलाउँदा मन्त्री अनुपस्थित हुनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताइन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुनिल केसीले मन्त्रीहरुले बोलेर भन्दा काम गरेर देखाउनुपर्ने बताए। ‘हाम्रा नेताले गलत गरेको भनौं। यो गर्छु, त्यो गर्छु भन्ने हावा कुरा गर्न हिजो चल्थ्यो। अब चल्दैन,’ उनले भने, ‘कानुन कुनामा बसेर होइन सबैका कुरा सुनेर बनाउनुपर्‍यो।’

सदस्यहरुले मन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाएपछि समितिका सभापति आशिष गजुरेलले बैठकबारे शुक्रबार नै जानकारी गराएको बताए। ‘हामीले मन्त्रीलाई पटक पटक जानकारी गरेका हौं। शुक्रबार नै बैठकको सूचना भएको हो। उहाँले महत्वपूर्ण काममा छु भन्नुभयो,’ गजुरेलले भने।

उनले मन्त्रीको अनुपस्थितिलाई लिएर सदस्यहरुले प्रश्न उठाउनु जायज भएको बताए। ‘सभापतिले किन मन्त्री ल्याउन नसकेको भन्ने प्रश्न जायज प्रश्न हो। मलाई यसले चिन्तित बनाएको छ,’ उनले भने।