BIZMANDU
www.bizmandu.com

दुई पटक पुनरागमन गर्दै इरानले बराबरीमा रोक्यो न्युजिल्याण्डलाई, जस्टको दुई गोल

२०८३ असार २

दुई पटक पुनरागमन गर्दै इरानले बराबरीमा रोक्यो न्युजिल्याण्डलाई, जस्टको दुई गोल
RSS/AP Photo/Andre Penner)

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। एसियाली राष्ट्र इरानले दुईपटक खेलमा पुनरागमन गर्दै खेल बराबरीमा टुंग्याउन सफल भयो।  

Tata
GBIME
Nepal Life

खेलको सातौं मिनेटमै न्युजिल्यान्डले अग्रता लिएको थियो। गोलरक्षक म्याक्स क्रोकम्बेको लामो पासलाई क्रिस वुडले नियन्त्रण गर्दै इलाइजाह जस्टलाई अवसर सिर्जना गरिदिए। जस्टले त्यसलाई सदुपयोग गर्दै टोलीलाई १–० को अग्रता दिलाए।

सुरुआती झट्कापछि इरानले लगातार दबाब बनायो र ३२औं मिनेटमा खेल बराबरीमा ल्यायो। रामिन रेजाइयानले गोल गर्दै खेल बराबरीमा ल्याए। सामन घोड्डोसको पासमा शाहरियार मोगानलुले गरेको प्रयास रोकिएपछि रिबाउन्ड बलमा रेजाइयानले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा न्युजिल्यान्डले दोस्रो हाफको ५४औं मिनेटमा पुनः अग्रता बनायो। लिबेराटो काकाचे, सार्प्रित सिंह र क्रिस वुडको आकर्षक संयोजनपछि जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को स्थितिमा पुर्‍याए। यससँगै जस्ट विश्वकपमा न्युजिल्यान्डका लागि एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बने।

यसपटक पनि इरान पुनरागमन गर्न सफल भयो। ६४औं मिनेटमा रेजाइयानले दायाँ विङबाट गरेको उत्कृष्ट क्रसमा मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई फेरि २-२ को बराबरीमा ल्याए। रेजाइयानले यसअघि गोल र पछि असिस्ट गर्दै इरानका लागि उत्कृष्ट प्रदर्शन गरे।

बाँकी समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्। इन्जुरी समयमा इरानले कर्नरमार्फत दबाब सिर्जना गरे पनि न्युजिल्यान्डका खेलाडीहरूले त्यसलाई विफल पार्दै अंक बाँड्न सफल भए। अन्ततः खेल २-२ को बराबरीमा टुंगियो।

यो बराबरीसँगै दुवै टोलीले समूह चरणमा महत्वपूर्ण एक–एक अंक बटुलेका छन्। न्युजिल्यान्डले विश्वकपमा पहिलो जितको खोजी भने अझै जारी राख्नुपर्ने भएको छ। यही समूहमा इजिप्ट र बेल्जियमले आज बिहान १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।