काठमाडौं। सरकारले कर प्रणालीमा गरेको परिवर्तनले विद्युतीय गाडी (इभी)को मूल्यमा ठूलो फेरबदल भएको छ। यसले बजारमा सोझै प्रभाव परेको छ।
मूल्यका आधारमा कर लगाइएपछि केही गाडीको मूल्य १६ लाखसम्म घटेको छ भने हाइरेन्जका गाडी १ करोड ३० लाख रुपैयाँसम्म महँगिएका छन्।
अहिलेसम्म नयाँ मूल्य सार्वजनिक गरेका ब्रान्डमध्ये स्काइवेल बीई११ को मूल्य सबैभन्दा धेरै १६ लाख रुपैयाँसम्म घटेको छ। बजेट अगाडि स्काइवेल बीई११ का ३ वटा भेरियन्टको मूल्य ७९ लाख ९० हजारदेखि १ करोड १५ लाख रुपैयाँ रहेकामा अहिले घटेर ६५ लाख ९० हजारदेखि ९९ लाख रुपैयाँसम्म कायम भएको छ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार स्काइवेल ५२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको बीई११ भेरियन्टको मूल्य १४ लाख रुपैयाँ घटाएर ६५ लाख ९० हजार रुपैयाँ राखिएको छ। यसअघि यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ थियो।
यस्तै, ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य पनि १५ लाख रुपैयाँ घटेर ७४ लाख ९० हजार रुपैयाँमा आइपुगेको छ। यसको मूल्य बजेट अगाडि ८९ लाख ९० हजार रुपैयाँ थियो।

यसैगरी लङ रेन्ज भेरियन्ट अर्थात ८५.९ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक भएको बीई११ को मूल्य १६ लाख घटेर ९९ लाख रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य १ करोड १५ लाख रुपैयाँ थियो। यो गाडी बजारमा खासै देखिंदैन।
बजेटअघि मोटर पावरका कारण यो इभीमा करको दर उच्च थियो। यो गाडी १५० किलोवाट क्षमताको मोटर पावरमा आइरहेको छ। यसअघि १०१-२०० किलोवाट क्षमताका मोटर भएका गाडीका लागि तोकिएको कर स्ल्याबमा परेको यो गाडी नयाँ कर प्रणालीका कारण ३०-४० लाख रुपैयाँको स्ल्याबमा परेको छ पर्न गएको छ। जसले गर्दा गाडीको मूल्य घटेको हो।
यस्तै लिपमोटर बी१० को मूल्य पनि ५ लाख रुपैयाँ घटेको छ। यो गाडीको मूल्य बजेटअघि ६० लाख रुपैयाँ रहेकोमा बिक्रेता कम्पनीले अहिले ५५ लाख रुपैयाँ तोकेको छ। यो गाडी नयाँ कर प्रणाली अनुसार २० देखि ३० लाख रुपैयाँको स्ल्याबमा पर्छ। १६० किलोवाट क्षमताको मोटर पावर भएकाले यसअघि यो इभीमा करको दर उच्च थियो। यसअघि मूल्य धेरै भएका कारण ग्राहकको रोजाइमा पर्न नसकेको यो गाडीको बजार मूल्य घटेका कारण बढ्ने बिक्रेता कम्पनीको विश्वास छ।
यसैगरी सुजुकी ईभिटाराको मूल्य बजेटपछि घटेको छ। बजेट अगाडि सुजुकी ईभिटाराको मूल्य भेरियन्ट अनुसार ५२ लाख ९९ हजारदेखि ६४ लाख ४९ हजार रुपैयाँ रहेकामा नयाँ कर प्रणालीका कारण ५ लाख रुपैयाँ घटेको छ। यसको मूल्य भेरियन्ट अनुसार ४८ लाख ९९ हजारदेखि ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
बीएमडब्लू आईएक्स१ नयाँ कर प्रणालीपछि ५० लाखभन्दा माथिको स्ल्याबमा परेको छ। यसको मूल्य १ करोड ३० लाख रुपैयाँ बढेको छ। बजेटअघि यो गाडीको मूल्य १ करोड ९९ लाख ९६ हजार रुपैयाँ रहेकामा अहिले ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बजेट अगाडि मोटर पावरले गर्दा १०१-२०० किलोवाटको ब्राकेटमा रहेको यो गाडी मूल्य अनुसारको कर प्रणालीपछि टप ब्राकेटमा परेको छ। हाइरेन्ज लक्जरी र प्रिमियम सेगमेन्टको यो गाडी सीमित संख्यामा बिक्री हुने गरेको छ।

चांगन डिपल एस०५ को पनि मूल्य ४ लाख रुपैयाँ बढेको छ। डिपल एस०५ प्लस भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको मूल्य बजेट अगाडि ५३ लाख ९९ हजार रुपैयाँ थियो।
डिपल म्याक्स भेरियन्टको मूल्य पनि ६२ लाख ९९ हजार रुपैयाँ पुर्याइएको छ। यसको मूल्य बजेट अगाडि ५९ लाख ९९ हजार रुपैयाँ थियो। यसको बजार हिस्सा राम्रो देखिन्छ।
अर्को ब्रान्ड ओमोडा एण्ड जेको आईकार भी२३ को पनि मूल्य ३ लाख रुपैयाँ बढेको छ। बजेट अगाडि ग्राहकले ५१ लाख रुपैयाँमा किनिरहेको यो गाडीको मूल्य बजेटपछि ५४ लाख रुपैयाँ पुगेको छ। बजारमा यसको बिक्री राम्रै देखिन्छ।
जीलीको ईएक्स५ को मूल्य ५ लाख रुपैयाँसम्म बढेको छ। बिक्रेता कम्पनीले बजेट अगाडि भेरियन्ट अनुसार ५७.९९-६७.९९ लाख रुपैयाँमा बिक्री गर्दै आएकामा बजेटपछि मूल्य बढाएर ६२-७३ लाख रुपैयाँ पुर्याएको छ। यसमा १६० किलोवाट क्षमताको मोटर पावर छ। बजारमा यसको बिक्री निकै कम छ।
बजेट अगाडि मात्रै सार्वजनिक गरिएको एमजी एस६ को पनि मूल्य २ लाख रुपैयाँ बढेको छ। बिक्रेता कम्पनीले बजेट अगाडि ७० लाखमा बिक्री गरेको गाडीको मूल्य बजेटपछि ७२ लाख रुपैयाँ पुगेको छ। यसमा १८० किलोवाट क्षमताको मोटर पावर छ।

ओमोडा जे६टी को मूल्य १ लाख रुपैयाँ बढेको छ। बजेट अगाडि यसको मूल्य ६९ लाख रुपैयाँ रहेकामा अहिले ७० लाख रुपैयाँ पुर्याइएको। यसमा १३५ किलोवाट क्षमताको मोटर राखिएको छ।
डेढ दर्जनभन्दा धेरै ब्राण्डका गाडीको मूल्य समायोजन हुन बाँकी छ। बजारमा बर्चस्व कायम राख्न सफल बीवाइडी र टाटाका अलावा महिन्द्रा, नामी, हुण्डाईको क्रेटा इभी, एमजीका केही मोडल, प्रोटोन ईमास, कायी, फोर्थिङ, सीजीको आयोन, स्मार्ट, रिडारा, अवतार, एक्सपेङ, जिकर लगायत ब्राण्डका इभीको मूल्य समायोजन गरिएको छैन। ती गाडीका बिक्रेताले मूल्य समायोजनका लागि गृहकार्य गरिरहेका छन्।
इभीमा सरकारले यसअघि मोटरको पिक पावर किलोवाट क्षमताका आधारमा स्लाब राखेर करको दर निर्धारण गरेकामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत मूल्यका आधारमा कर लगाएका छन्।
सरकारले २० लाखसम्मका इभीलाई इन्ट्री लेभल, ४०-५० लाखसम्मका इभीलाई प्रिमियम र ५० लाख माथिका इभीलाई लक्जरी सेगमेन्टमा राखेर स्वच्छ पूर्वाधार लगानी शुल्क (सीआईआईफ) नामको नयाँ शीर्षक करको दर तोकिएको छ।
भन्सार शुल्क सबै इभीका हकमा एउटै अर्थात फ्लाटमा २० प्रतिशत बनाइएको छ। यस्तै अन्त:शुल्क खारेज गरेर स्वच्छ पूर्वाधार लगानी शुल्क नाममा नयाँ शीर्षकमा २० लाखसम्मका इभीमा २.५ प्रतिशत, २०-३० लाखसम्मका इभीमा २० प्रतिशत, ३०-४० लाखसम्मका इभीमा ३५ प्रतिशत, ४०-५० लाखसम्मका इभीमा ९० प्रतिशत र ५० लाख माथिका इभीमा १३० प्रतिशत कर लगाइएको छ।
नयाँ कर प्रणाली अनुसार बिक्रेता कम्पनीसँग किनेको मूल्य, बीमा र नेपाली भन्सार नाकासम्म ल्याइ पुर्याउँदा लाग्ने फ्रेट चार्जसहितको कुल रकममा भन्सार शुल्क लाग्छ। भन्सार शुल्क थपिएपछिको मूल्यमा सीआईआईफ कर लाग्छ। त्यसपछि सडक कर र अन्तिममा भ्याट लाग्छ।