मानव सभ्यताको इतिहासलाई केवल राज्यहरुको इतिहास, युद्धहरुको इतिहास वा प्रविधिको इतिहासका रुपमा बुझनु अपर्याप्त हुन्छ। सभ्यता वास्तवमा मानव चेतना, सामाजिक सम्बन्ध, शक्ति संरचना, कल्पना, डर, आशा, विश्वास, उत्पादन, स्मृति र अर्थको संयुक्त विकासक्रम हो।
आधुनिक विश्वमा विज्ञान र प्रविधिले अभूतपूर्व उचाइ हासिल गरे पनि मानव समाज अझै असमानता, युद्ध, मानसिक संकट, सांस्कृतिक विखण्डन, जलवायु संकट र अस्तित्वगत अनिश्चितताबाट ग्रस्त छ। यही विरोधाभास आधुनिक युगको सबैभन्दा गम्भीर दार्शनिक प्रश्न बनेको छ, मानवले बाह्य संसारलाई जित्दै जाँदा किन आफनो आन्तरिक संसार गुमाउँदै गइरहेको छ?
यदि समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, दर्शन, र मानविकीलाई अब केवल अलग-अलग विषयका रुपमा मात्र हेर्ने हो भने यस प्रश्नको पूर्ण उत्तर सम्भव हुँदैन। किनकि मानव जीवन स्वयं बहुआयामिक यथार्थ हो। कुनै आर्थिक प्रणाली केवल उत्पादनको संरचना मात्र होइन, त्यो मानिसको मनोवैज्ञानिक चाहना निर्माण गर्ने प्रणाली पनि हो। राजनीतिक व्यवस्था केवल राज्य शक्ति होइन, त्यो मानिसको नैतिक चेतना, सामाजिक सम्बन्ध र सामूहिक कल्पनालाई आकार दिने संरचना पनि हो। त्यस्तै प्रविधिगत कान्ति केवल यन्त्रको विकास होइन, त्यो मानव ध्यान, स्मृति, भाषा, सम्बन्ध, प्रेम र एकान्तताको पुनर्संरचना पनि हो।
आधुनिक पुँजीवादी विश्वले व्यक्तिलाई अभूतपूर्व स्वतन्त्रता दिएको छ, तर त्यही प्रक्रियाले गहिरो अस्तित्वगत रिक्तता पनि जन्माएको छ। उपभोक्तावादले चाहनाको दायरा विस्तार गर्यो, तर सन्तुष्टि घटायो। सूचना विस्फोटले ज्ञान बढायो, तर प्रज्ञा कमजोर बनायो। डिजिटल सम्पर्कले संसारलाई जोडियो, तर मानिसलाई भावनात्मक रुपमा एक्लो पनि बनायो। त्यसैले आधुनिक समाजलाइ केवल आर्थिक सूचक वा प्रविधिगत उपलब्धिका आधारमा मात्र मूल्यांकन गर्न सकिँदैन, यसको गहिरो मनोवैज्ञानिक तथा सभ्यतागत प्रभावलाई पनि बुझन आवश्यक छ।
मानव इतिहासमा पहिलो पटक अहिले यस्तो अवस्था आएको छ जहाँ कृत्रिम बुद्धिमत्ता (एआई), जैवप्रविधि, एल्गोरिदम निगरानी, स्नायुप्रविधि तथा विश्वव्यापी जलवायु परिवर्तनले मानव अस्तित्वको आधारभूत संरचनालाई नै पुनर्लेखन गर्न थालेका छन्। तर विडम्बना के छ भने यति ठूलो परिवर्तनको युगमा पनि अधिकांश शिक्षा प्रणाली अझै खण्डित विषयहरुमा विभाजित छन्। विद्यार्थीले अर्थशास्त्र पढ्छ, तर मानवीय पीडाको दार्शनिक आयाम बुझ्दैन। मनोविज्ञान पढ्छ, तर ऐतिहासिक संरचनासँगको सम्बन्ध बुझ्दैन। इन्जिनियरिङ पढ्छ, तर नैतिकता र सामाजिक परिणामबारे गम्भीर रुपमा सोच्दैन।
समाजशास्त्र पढ्छ, तर प्रविधि र स्नायु विज्ञानसँग संवाद गर्दैन। परिणामस्वरुप आधुनिक ज्ञान अत्यन्त विशाल भए पनि समग्र छैन।
यही सन्दर्भमा मानविकी र दर्शनको महत्त्व पुनः स्थापित हुन्छ। दर्शन केवल अमूर्त चिन्तन होइन, त्यो मानव अस्तित्वको दिशा खोज्ने बौद्धिक प्रयास हो। ‘मानिस को हो? स्वतन्त्रता के हो? न्याय के हो? सुख के हो? प्रगति वास्तवमा के हो?’ यी प्रश्नहरु बिना कुनै पनि सभ्यता दीर्घकालीन रुपमा स्थिर रहन सक्दैन। आधुनिक विश्वले भौतिक प्रगतिलाई परम सत्य बनायो, तर नैतिक र अस्तित्वगत प्रश्नलाई गौण बनायो। यही कारण सम्पत्ति बढ्दै जाँदा चिन्ता, अवसाद, एकान्तता र निरर्थकतबोध पनि तीव्र रुपमा बढिरहेका छन्।
मनेविज्ञानले देखाउँछ कि मनिस केवल तर्कशील प्राणी होइन। मानव निर्णयहरु भावना, स्मृति, आघात, सामाजिक अनुबन्धन तथा प्रतीकात्मक अर्थद्वारा प्रभावित हुन्छन्। तर मनोविज्ञान स्वयं समाजबाट अलग छैन। कुनै व्यक्तिको चिन्ता केवल व्यक्तिगत समस्या होइन, त्यो श्रम बजारको असुरक्षा, सहरी एकान्तता, डिजिटल अतिउत्तेजना, पारिवारिक विघटन, उपभोक्तावादी तुलना संस्कृति तथा राजनीतिक अनिश्चितताको परिणाम पनि हुन सक्छ। त्यसैले मानसिक स्वास्थ्यलाई केवल चिकित्सकीय वा व्यक्तिगत श्रेणीमा सीमित गर्नु पर्याप्त हुँदैन। आधुनिक मानसिक संकट वास्तवमा सामाजिक सांस्कृतिक संकट पनि हो।
त्यस्तै, अर्थशास्त्रलाई केवल कुल गार्हस्थ उत्पादन, बजार दक्षता वा लगानी वृद्धिमा सीमित गर्दा समाजको वास्तविक जटिलता हराउँछ। कुनै पनि अर्थतन्त्र अन्ततः नैतिक प्रणाली पनि हो। एउटा बजारले कुनै प्रकारको मानव व्यवहारलाई पुरस्कृत गर्छ? प्रतिस्पर्धाले सहकार्यलाई कमजोर बनाउँछ कि सुदृढ? चरम असमानताले लोकतन्त्रलाई कसरी असर गर्छ? स्वचालन र कृत्रिम बुद्धिमत्ताले श्रमको अर्थलाई कसरी पुनर्परिभाषित गर्नेछ? यी प्रश्नहरु केवल अर्थशास्त्रले मात्र होइन, समाजशास्त्र, नैतिक दर्शन, राजनीतिक दर्शन र मनोविज्ञानसँगको संवादद्वारा मात्र बुझ्न सकिन्छ।
समाजशास्त्रले यहाँ अत्यन्त महत्त्वपूर्ण दृष्टिकोण प्रस्तुत गर्छ – मानव जीवन मूलतः सम्बन्धात्मक यथार्थ हो। कुनै पनि व्यक्ति पृथक् अस्तित्व होइन। ऊ परिवार, वर्ग, जात, लिंग, राष्ट्र, प्रविधि, सञ्चारमाध्यम, इतिहास तथा विश्वव्यापी संरचनाद्धारा निर्मित हुन्छ। आधुनिक समाजको सबैभन्दा ठूलो भ्रम व्यक्तिवादको अतिशयोक्ति हो। मानिसलाई पूर्ण स्वतन्त्र अस्तित्वका रुपमा प्रस्तुत गरिन्छ, तर वास्तवमा हाम्रो भाषा, इच्छा, आकांक्षा, भय, नैतिकता र पहिचान सबै सामाजिक रुपमा निर्माण भएका हुन्छन्। त्यसैले सामाजिक संरचनालाई नबुझी व्यक्तिगत व्यवहार बुझन सकिँदैन।
आजको विश्वमा जलवायु परिवर्तन सम्भवतः सबैभन्दा ठूलो उदाहरण हो, जहाँ समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, दर्शन र विज्ञान एकअर्कासँग गहिरो रुपमा अन्तर्सम्बन्धित छन्। जलवायु संकट केवल वातावरणीय समस्या होइन, त्यो उपभोग मोडेल, पुँजीवादी विस्तार, भूराजनीतिक असमानता, प्रविधिगत विचारधारा तथा मानवीय चाहानाको संकट पनि हो। मानिसलाई पृथ्वीभन्दा बाहिर उभिएको ‘सर्वोच्च प्रजाति’ का रुपमा हेर्ने आधुनिक दृष्टिकोण स्वयं संकटको जड हो। पृथ्वीलाई केवल स्रोतको भण्डारका रुपमा हेर्ने पारिस्थितिकी र सभ्यताबीचको सम्बन्ध कमजोर हुन्छ। त्यसैले भविष्यको सभ्यतालाई केवल दिगो प्रविधिले मात्र होइन, दिगो चेतनाले पनि बचाउनुपर्छ।
शिक्षाको प्रश्न यहाँ निर्णायक बन्छ। यदि शिक्षा केवल श्रम बजारका लागि जनशक्ति उत्पादन गर्ने माध्यममा सीमित भयो भने मानव सभ्यता बौद्धिक रुपमा दक्ष तर आध्यात्मिक रुपमा खोको बन्न सक्छ। साँचो शिक्षा भनेको केवल सूचना हस्तान्तरण होइन, त्यो आलोचनात्मक चेतना निर्माण गर्ने प्रक्रिया हो।
यस्तो शिक्षा जसले विद्यार्थीलाई केवल रोजगारी खोज्ने व्यक्ति होइन, गहिरो सोच राख्ने मानव बनाओस्। जसले तथ्य मात्र होइन, प्रज्ञा पनि देओस्। जसले विशेषज्ञता मात्र होइन, अन्तरसम्बन्धको चेतना पनि सिकाओस्।
भविष्यको विश्व झन् बहुआयामिक हुँदै जानेछ। कृत्रिम बुद्धिमत्ताले नियमित बौद्धिक कार्यहरु प्रतिस्थापन गर्न थालेपछि विशिष्ट मानवीय क्षमताहरुको महत्व अझ बढ्नेछः आलोचनात्मक चिन्तन, नैतिक तर्कशक्ति, सिर्जनशीलता, भावनात्मक बुद्धिमत्ता, दार्शनिक कल्पनाशक्ति, सामाजिक समझदारी, यी सबै क्षमता मानविकी र सामाजिक विज्ञानको केन्द्रमा रहेका छन्। त्यसैले भविष्यमा सबैभन्दा ठूलो प्रश्न ‘कुन प्रविधि बनाउने?’ भन्दा पनि ‘कस्तो मानव बन्ने?’ भन्ने हुनेछ।
अन्ततः सभ्यताको दीर्घकालीन स्थिरता केवल आर्थिक वृद्धिमा निर्भर हुँदैन, त्यो सामूहिक अर्थ प्रणालीमा निर्भर हुन्छ। कुनै पनि समाज तबसम्म स्थिर रहन्छ जबसम्म मानिसहरुले आफनो अस्तित्वलाई अर्थपूर्ण ठान्छन्। जब अर्थ हराउन थाल्छ, तब सम्पत्ति, प्रविधि र शक्ति ले पनि सभ्यतालाई जोगाउन सक्दैन। रोमन साम्राज्यको पतनदेखि आधुनिक अस्तित्वगत संकटसम्मको इतिहास यही सत्यको पुनरावृत्ति हो।
यसैले आधुनिक युगको सबैभन्दा ठूलो आवश्यकता नयाँ प्रकारको समग्र बौद्धिक दृष्टि हो जहाँ समाजशास्त्रले संरचना बुझाओस्, अर्थशास्त्रले उत्पादन र वितरणको तर्क स्पष्ट पारोस्, र मनोविज्ञानले मानव चेतनाको गहिराइ उजागर गरोस्, दर्शनले दिशा प्रदान गरोस्, र मानविकीले सभ्यताको नैतिक कल्पनाशक्ति जीवित राखोस् । मानव भविष्य केवल प्रविधिको प्रश्न होइन, त्यो प्रज्ञाको प्रश्न हो।
(ढकाल मणिपाल विश्वविद्यालय जयपुरका अनुसन्धानकर्ता हुन्)