BIZMANDU
www.bizmandu.com

पहिलो हाफमा अघि रहेको इजिप्टलाई आत्मघाती गोल पर्‍यो भारी, बेल्जियमसँग बाँड्यो अंक

२०८३ असार २

पहिलो हाफमा अघि रहेको इजिप्टलाई आत्मघाती गोल पर्‍यो भारी, बेल्जियमसँग बाँड्यो अंक
पहिलो हाफमा अघि रहेको इजिप्टलाई आत्मघाती गोल पर्‍यो भारी, बेल्जियमसँग बाँड्यो अंक

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को उद्घाटन खेलमा बेल्जियम र इजिप्टले १–१ को बराबरी खेलेका छन्। सियाटल स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा इजिप्टले अग्रता लिए पनि दोस्रो हाफमा आत्मघाती गोल भएपछि दुवै टोलीले अंक बाँडे।

Tata
GBIME
Nepal Life

खेलको १९औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो। कप्तान मोहम्मद सलाहको पासमा इमाम आशुरले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सीधै जाली चुम्दा बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुवाले कुनै मौका पाएनन्। आशुरको यो गोलले इजिप्टलाई अग्रता दिलायो।

पहिलो हाफभर बेल्जियमले बल नियन्त्रणमा राखे पनि आक्रमणमा प्रभावकारी बन्न सकेन। केभिन डे ब्रुयनले सातौँ मिनेटमा गरेको प्रहार पोस्टको बाहिरबाट गएको थियो भने जेरेमी डोकुको इन्जुरी समयको प्रहार बारमाथिबाट बाहिरिएको थियो। फलतः इजिप्ट पहिलो हाफमा १–० ले अघि रह्यो।

दोस्रो हाफमा बेल्जियम थप आक्रामक देखियो। ५३औँ मिनेटमा डे ब्रुयनको फ्रिकिक पोस्टमा लागेर बाहिरिएपछि बेल्जियम बराबरी नजिक पुगेको थियो।

५५औँ मिनेटमा भने इजिप्टले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो। सलाहको हेडरलाई कोर्टुवाले शानदार बचाउ गरे भने रिबाउन्डमा आशुरले गरेको प्रहार गोलपोस्टभन्दा धेरै माथिबाट बाहिरिएको थियो।

खेलको ६६औँ मिनेटमा प्रशिक्षक रुडी गार्सियाले रोमेलु लुकाकुलाई मैदानमा उतारे। मैदान प्रवेश गरेको २२ सेकेन्डमै लुकाकुले खेलको दिशा बदलिदिए।

युरी टिलेमान्सको पासमा थोमस म्युनिएर दायाँतर्फबाट अघि बढेपछि उनले गरेको क्रस रोक्ने प्रयासमा इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा गोल गरे। यो गोलले बेल्जियम १–१ को बराबरीमा फर्कियो।

त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे। ८३औँ मिनेटमा डे ब्रुयनको फ्रिकिकपछि ब्रान्डन मेखेलेको हेडरलाई इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उत्कृष्ट बचाउ गरे। अर्कोतर्फ अन्तिम समयमा इजिप्टले पनि केही आक्रमण बुने पनि निर्णायक गोल निकाल्न सकेन।

खेलभर बेल्जियमले १५ तथा इजिप्टले १४ प्रहार गरेका थिए।

यो नतिजासँगै समूह ‘जी’ मा इरान र न्युजिल्यान्डबीचको खेलको विजेता शीर्ष स्थानमा पुग्ने बाटो खुलेको छ। बेल्जियमले अब आफ्नो दोस्रो खेलमा इरानको सामना गर्नेछ भने इजिप्टले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।