BIZMANDU
www.bizmandu.com

युवालाई करियर र उद्योगको प्रत्यक्ष अनुभव गराउँदै सिप उत्सव, एक हजार विद्यार्थी सहभागी

२०८३ असार १

युवालाई करियर र उद्योगको प्रत्यक्ष अनुभव गराउँदै सिप उत्सव, एक हजार विद्यार्थी सहभागी
युवालाई करियर र उद्योगको प्रत्यक्ष अनुभव गराउँदै सिप उत्सव, एक हजार विद्यार्थी सहभागी

विराटनगर। उद्योग संगठन मोरङले एक हजार विद्यार्थीलाई रुचि र क्षमता अनुसारको करिअर प्राप्त गर्न सिप उत्सव सम्पन्न गरेको छ। संगठनले युवा तथा विद्यार्थीलाई करिअरका लागि सिप र उद्योगसँग जोड्ने उद्देश्यका साथ सिप उत्सवको आयोजना गरेको हो।

Tata
GBIME
Nepal Life

उत्सवमा स्विस सरकारको आर्थिक र इन्स्योर तथा हेल्भेटास नेपालको प्राविधिक सहयोग थियो। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले उत्सवको समन्वय गरेको थियो।

संगठनका अनुसार उत्सवमा मोरङ, सुनसरी र झापाका विद्यार्थी तथा युवा गरी एक हजार जनाले आफ्नो करिअर यात्रा डिजाइन गरेका थिए।

उत्सवमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले युवा तथा विद्यार्थीले समयमै आफ्नो रुचि र क्षमता अनुसारको करिअरको छनौट गर्नुपर्ने बताए।

अध्यक्ष राठीले दक्ष जनशक्तिको विकासमा निजी क्षेत्रको पनि योगदान रहेको चर्चा गर्दै संगठनले आफ्ना सदस्य रहेका उद्योगमा युवा तथा विद्यार्थीको रुचि, सिप र क्षमताको उपयोग गर्ने गरी वातावरण बनाइरहेको जानकारी दिए।

नेउवा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले हरेक युवा तथा विद्यार्थीले आफ्नो सिप र क्षमताको पहिचान गर्नसक्नु पर्ने उल्लेख गरे।

अध्यक्ष राउतले समन्वय र संयोजनका अभावमा धेरै जनशक्तिको सिप र क्षमता खेर गइरहेका बेला संगठनले गरेको उत्सवले सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे।

सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले युवा तथा विद्यार्थीलाई नवप्रवर्तनसित जोड्न उनीहरूको सिप, रुचि र क्षमताको खोजी हुनु आवश्यक रहेको कुरामा जोड दिए।

अध्यक्ष शारडाले ठूला उद्योगले केही जटिल प्राविधिक कार्यमा अझै पनि विदेशबाट जनशक्तिको आयात गर्नुपरेको स्पष्ट पार्दै युवा तथा विद्यार्थीहरू सुरुदेखि नै आफ्नो लक्ष्यप्रति दृढ हुने हो भने जनशक्ति आयातको समस्या नपर्ने जिकिर गरे।

उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईका अनुसार तीन जिल्लाका विभिन्न २५ वटा विद्यालयका १ हजार छात्रछात्राले एक दिने सिप उत्सवमा भाग लिएका थिए।

उत्सवका सहभागीले विभिन्न उद्योग र उत्पादनका विभिन्न प्राविधिक पक्षको अध्ययन अवलोकन गरेका थिए। साथै आफ्नो सिप र प्राविधिक कौशलको पनि प्रदर्शन गरेको महानिर्देशक भट्टराईले जानकारी दिए।