काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ७ प्रतिशतले बजेटको आकार बढाएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि सोमबार ३५ अर्ब ३९ करोड ८५ लाखको बजेट ल्याएका छन्।
कूल बजेटमा चालुतर्फ ८ अर्ब ६० करोड अर्थात् २४.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगत शीर्षकमा २० अर्ब ७४ करोड अर्थात् ५८.३१ प्रतिशत विनियोजन गरिएको शाहले बताए।
१.४१ प्रतिशत अर्थात् ५० करोड वित्तीय व्यवस्थातर्फ र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५४ करोड अर्थात् १५.६७ प्रतिशत विनियोजन गरिएको छ।
यसमा आन्तरिक आयबाट ८५ करोड, चालु आवको बचतबाट ६ अर्ब र राजस्व बाँडबाँडबाट १० अर्ब ६६ करोड प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी समानीकरण अनुदानबाट १० अर्ब, सशर्त अनुदानबाट ५ अर्ब, समपुरक ६६ करोड र विशेष अनुदानबाट ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।
संघीय सरकारबाट वैदेशिक ऋणबापत् १ अर्ब स्रोत पनि प्राप्त हुने बताइएको छ।