BIZMANDU
www.bizmandu.com

लगानीकर्तामा चुनावपछि देखिएको उत्साह एकाएक हरायो, घरजग्गा कारोबार फेरि ओरालो

२०८३ असार १

लगानीकर्तामा चुनावपछि देखिएको उत्साह एकाएक हरायो, घरजग्गा कारोबार फेरि ओरालो
लगानीकर्तामा चुनावपछि देखिएको उत्साह एकाएक हरायो, घरजग्गा कारोबार फेरि ओरालो

काठमाडौं। फागुन २१ को चुनावपछि उकालो लागेको घरजग्गा कारोबार जेठमा फेरि ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life

चुनावपछि एउटै दलको बहुमत आएका कारण लगानीकर्ताले उत्साहित हुँदै घरजग्गामा लगानी बढाएकामा सरकारका कारण त्रासको वातावरण छाएपछि त्यसको असर जेठको कारोबारमा देखिएको छ।

देशभरका भूमि प्रशासन कार्यालयले जेठमा ५४ हजार ७२४ लिखत पारित गर्दा ५ अर्ब २४ करोड, ४२ लाख ५१ हजार १०१ रुपैयाँ राजस्व उठेको छ।

जबकि चैतमा ५५ हजार ५३१ लिखत पारित हुँदा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार र वैशाखमा ५८ हजार ८८६ लिखत पारित हुँदा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। फागुनमा जम्मा ३६ हजार ४७१ लिखत पारित भएको थियो।

चुनावपछि लगानीकर्तामा बढेको उत्साह मन्त्रीहरुका अराजक कार्यशैलीले एकाएक हराएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरे लगानीकर्तामा अहिले मनोबल खस्किएको बताए।

‘घरजग्गामा लगानी गर्नका लागि मनोबल चाहिन्छ। त्यो मनोबल अहिले छैन। त्यसकै असर कारोबार केही सुस्ताएको हो,‘ उनले भने।

बढी कारोबार दाङमा, राजस्व धेरै ललितपुरमा

जग्गा कारोबारमा दाङ जेठमा पनि पहिलो नम्बरमा छ। वैशाखमा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको दाङमा जेठमा २ हजार ७९५ लिखत पारित भएको छ।

विभागका अनुसार दाङका तीनवटा भूमि प्रशासन कार्यालयले वैशाखमा ३ हजार ३७८ लिखत पारित गरेका थिए।

विभागका अनुसार जेठमा घोराही भूमि प्रशासन कार्यालयबाट १०८२, तुलसीपुर भूमि प्रशासन कार्यालयबाट १२७७ र लमही भूमि प्रशासन कार्यालयबाट ४३५ लिखत पारित भएको छ।

दाङपछि घरजग्गाको धेरै कारोबार काठमाडौंमा भएको छ। काठमाडौंका ६ वटा भूमि कार्यालयबाट जेठमा २ हजार ६३२ लिखत पारित भएको छ। यो अवधिमा डिल्लीबजार भूमि प्रशासन कार्यालयले २२३, चाबहिलले ५३०, कलंकीले ७७१, साँखुले ५६४, मनमैजुले ३३० र टोखाले २१४ लिखत पारित गरेको विभागले जनाएको छ।

जेठमा भक्तपुर भूमि प्रशासन कार्यालयले १३०६ र लगनखेल भूमि प्रशासन कार्यालयले १०५० लिखत पारित गरेका छन्।

सबैभन्दा बढी राजस्व जेठमा लगनखेल भूमि प्रशासन कार्यालयबाट संकलन भएको देखिन्छ। लगनखेलबाट ५० करोड एक लाख ४७ हजार ६० रुपैयाँ संकलन हुँदा काठमाडौंका ६ कार्यालयले एक अर्ब ३५ करोड ६० लाख ५२ हजार रुपैयाँ उठाएका छन्। भक्तपुर भूमि प्रशासनबाट जेठमा ४१ करोड ११ लाख ४१ हजार ८८१ राजस्व संकलन भएको छ।