काठमाडौं। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर आगामी आव २०८३/८४ को बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले व्यावसायिक कृषिप्रति आकर्षित गर्न ‘रिटर्न टु भिलेज’ अभियान घोषणा गरेका छन्।
बजेटमा ‘मनाङ, मुस्ताङको स्याउ, नवलपुरको धान, स्याङजाको सुन्तला, गण्डकीको सान’ नारा दिइएको छ। यसलाई गण्डकीको विशिष्ट पहिचानका रुपमा विकास गर्न स्थानीय उत्पादन, प्रशोधन तथा बजारीकरणलाई जोड दिइने बजेटमा उल्लेख छ।
पहाडी क्षेत्रको २५०० हेक्टर जमिनमा ओखर, मेकाडेमिया नट लगायत काष्ठफल र किवी, स्याउ, सुन्तला, एभोकाडो लगायत फलफूलको व्यावसायिक बगैंचा विस्तार गर्न ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।
‘रैथाने बाली रोपौं, स्वास्थ्य र पर्यावरण बचाऔं’ भन्ने अभियानका साथ रैथाने बाली र पशुपन्छीको संरक्षणमा पनि गण्डकी प्रदेशले विशेष जोड गरेको छ।
गण्डकी सरकारले आव २०८३/८४ का लागि ३३ अर्बको बजेट ल्याएको छ। कूल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड अर्थात् ३८.५६ प्रतिशत र पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०.६८ प्रतिशत छुट्याइएको छ। वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात ०.७६ प्रतिशत रकम विनियोजन गरिएको छ।
आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड, राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड, रोयल्टी बाँडफाँडबाट ५१ करोड, ससर्त अनुदानबाट ४ अर्ब, समपूरक अनुदानबट ५५ करोड र विशेष अनुदानबाट ३९ करोड ५४ लाख प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ।
गण्डकी सरकारले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड प्राप्त हुने जनाएको छ। साथै चालु आवको २ अर्ब नगद मौज्दात र बाँकी १ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालनबाट पूर्ति गर्ने शेरचनले बताए।