काठमाडौं। बैंकमा काम गरिरहेको व्यक्ति सामाजिक सञ्जाल लिंक्डइनबाट कुनै टाढाको देशको फुटबल टोलीमा जोडिन्छ। उ त्यतिमा रोकिँदैन, विश्वकप नै पुग्छ। अलि पत्याउन गाह्रो भयो होइन?
क्रिकेटको विश्वकपमा पार्टटाइम खेलाडीले विश्वकपको मैदानमा उत्रिएका कथाहरु बरु यदाकदा आउँछन्। फुटबलमा त दुई सयभन्दा बढी देशहरुबीच यति प्रतिस्पर्धा छ कि व्यावसायिक खेलाडीले भरिएका टोली नै छनोट हुन असफल हुन्छ। विश्वको ठूलो लिगमध्येको एक आयोजना गर्ने इटली नै लगातार विश्वकप पुग्न असफल हुन्छ भने कसैले सामाजिक सञ्जालबाट जोडिएर विश्वकप खेलेको भन्दा कथा जस्तो लाग्नु स्वाभाविक हो।
तर, यो कथा होइन। जारी फिफा विश्वकपमा एक यस्ता खेलाडी छन् जो डब्लिनको बैंकको कर्मचारीबाट आफू जन्मेको ठाउँभन्दा तीन हजार माइल टाढा रहेको एउटा सानो टापु राष्ट्रका लागि खेल्न पुगे। त्यो पनि विश्वकपमा। खेलाडी कहाँ तयार हुन्छन्, कुनै टिममा यसरी पनि जोडिन्छन् भन्ने कथा केलाउँदा यो प्रसंग रोचक छ।
कथा हो, ३३ वर्षीय रोबर्टो लोपेज को। केही वर्षअघिसम्म उनी आयरल्यान्डको राजधानी डब्लिनमा बैंकको धितो बन्धकी (मोर्टगेज) सल्लाहकार थिए। डेस्कमा बसेर फाइल मिलाउने उनको दैनिकी थियो। तर, जागिरबाट उनी खुसी थिएनन्। सधैं एकै खालको कामले उनी भित्रभित्रै दिक्क थिए।
‘मलाई त्यो काम मन पर्दैनथ्यो,’ उनी भन्छन्।
त्यतिबेला उनी आयरल्यान्डको क्लब बोहेमियन्सबाट पार्ट-टाइम फुटबल खेल्थे। सन् २०१७ मा डब्लिनकै प्रतिद्वन्द्वी क्लब शामरक रोभर्सले उनलाई पूर्णकालीन फुटबल करिअरको प्रस्ताव राख्यो। उनले हात हाले।
त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।
बुबा कार्लोस केप भर्डेका भएकाले रोबर्टोलाई केप भर्डे राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक रुई आग्वासले लिंक्डइनमार्फत सम्पर्क गरे। प्रशिक्षकले पोर्चुगिज भाषामा सन्देश पठाए। रोबर्टोले त्यसलाई स्पाम ठानेर बेवास्ता गरे।
‘मैले सोचेँ, यो त एउटा स्पाम म्यासेज हो। त्यसमा ध्यान दिइनँ,’ उनी भन्छन्, ‘तर नौ महिनापछि उहाँको म्यासेज आयो – ‘तपाईंले मेरो प्रस्तावबारे के सोच्नुभयो?’ तब मलाई लाज लाग्यो।’
उनले त्यो म्यासेज गुगल ट्रान्सलेटमा हालेर हेर्दा लेखिएको थियो – ‘हामी नयाँ खेलाडी खोज्दै छौं। के तपाईं केप भर्डेबाट खेल्न चाहनुहुन्छ?’
रोबर्टोको जवाफ फर्काए – शतप्रतिशत।
यो ‘पिको’ उपनामले चिनिने डिफेन्डरको यात्राले अहिले नयाँ मोड लिएको छ। उनी केप भर्डेको टोलीबाट सन् २०१९ मा पहिलोपटक मैदान उत्रिएका थिए। अहिले सोमबार अमेरिकाको एटलान्टामा हुने विश्वकपको खेलमा उनी स्पेनविरुद्ध मैदानमा हुनेछन्। सन् २०१० को विश्व विजेता टोली स्पेन।
केप भर्डे जस्तो सानो राष्ट्रको लागि यो कुनै सपना भन्दा कम छैन। जनसङ्ख्या करिब ५ लाख २५ हजार छ। सन् १९८६ मा मात्र फिफामा प्रवेश पाएको यो देशले अहिलेसम्म चार पटक अफ्रिकन कप अफ नेसन्स खेलेको छ। अहिले पहिलो पटक विश्वकपको ठूलो मञ्चमा छ।
अफ्रिकन छनोट चरणमा क्यामरुन र अंगोला जस्ता बलियो टोलीहरू रहेको कठिन समूहमा परेर पनि केप भर्डले उत्कृष्ट प्रदर्शन गर्यो। उनीहरूले आफ्नो समूहको शीर्ष स्थान कब्जा गर्दै सोझै विश्वकपको टिकट काटेका हुन्। विश्वकप इतिहासमै छनोट हुने यो क्षेत्रफलका आधारमा तेस्रो सबैभन्दा सानो राष्ट्र हो। मुख्य प्रशिक्षक पेड्रो लेइतो ब्रिटो (बुबिस्टा) को नेतृत्वमा रहेको यो टोलीको मुख्य विशेषता भनेको बलियो रक्षापङ्क्ति र घातक काउन्टर-अट्याक हो।
उनीहरू भड्किलो खेलभन्दा पनि नतिजामुखी खेलमा विश्वास गर्छन्। छनोट चरणमा उनीहरूले धेरै खेलहरू १-० को अन्तरमा जितेका थिए, जसले उनीहरूको रक्षापङ्क्ति कति कडा छ भन्ने देखाउँछ। टोलीका अधिकांश खेलाडीहरू युरोपका विभिन्न लिग (नेदरल्यान्ड्स, पोर्चुगल, आयरल्यान्ड आदि) मा व्यावसायिक फुटबल खेल्ने आप्रवासी पृष्ठभूमिका छन्, जसले गर्दा टोलीसँग युरोपेली खेलको राम्रो अनुभव छ।
केप भर्डे फिफा विश्वकपमा आज स्पेनविरुद्ध मैदान उत्रँदैछ। यो खेल पौने १० बजे एटलान्टा स्टेडियममा सुरु हुनेछ। यो समूहमा केप भर्डेसहित विश्वकप विजेता रहिसकेको स्पेन, उरुग्वेसँगै साउदी अरब छन्। केप भर्डका लागि यो समूह निकै चुनौतीपूर्ण छ। स्पेन र उरुग्वे जस्ता विश्वका दिग्गज टोलीहरू विरुद्ध खेल्नु उनीहरूका लागि ‘अग्निपरीक्षा’ जस्तै हुनेछ। यद्यपि, केप भर्डको टोलीसँग गुमाउनु केही छैन र उनीहरू ‘मोराबेजा’ (तनावमुक्त/शान्त रहने उनीहरूको राष्ट्रिय भावना) सिद्धान्तका साथ मैदान उत्रने गर्छन्।
उनीहरूले यसअघि ‘अफ्रिका कप अफ नेसन्स’मा ठूला टोलीलाई स्तब्ध पारिसकेकाले विश्वकपमा पनि कुनै न कुनै उलटफेर गर्न सक्ने क्षमता राख्छन्।