काठमाडौं। वैदेशिक लगानी प्रतिबद्धतामा सुधार देखिएको छ। जेठमा १८६ वटा परियोजनाका लागि २ अर्ब २९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। १८३ वटा साना उद्योग र ३ वटा मध्यम उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो।
सूचना प्रविधिको क्षेत्रमा १५६, पर्यटनमूलक क्षेत्रमा १३ र उत्पादनमूलक क्षेत्रमा १० वटा परियोजना आएको उद्योग विभागले जनाएको छ। ती परियोजनाले करिब १२२१ जनालाई रोजगारी दिनेछन्।
विभागका सूचना अधिकारी सुरेश दाहालले सरकारले लगानीका लागि वाधक मानिएका कानुन सुधार गर्न थालेकाले वैदेशिक लगानीको प्रतिबद्धता बढ्न थालेको बताए।
विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहराले सरकारले थालेका शासकीय सुधारका कदम र अनलाइनबाट हुने कामलाई प्राथमिकता दिएका कारण वैदेशिक लगानीका परियोजना बढ्न थालेको बताए।
‘गत वैशाखमा भन्दा जेठमा परियोजना संख्या केही बढेको छ। धेरैजसो परियोजना साना खालका हुन्,’ उनले भने।
विभागका अनुसार चालु आर्थिक वर्ष साउनदेखि जेठसम्म ९१४ वटा परियोजनाका लागि ४७ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। ८९४ साना, ११ वटा मध्यम र ९ वटा ठूला परियोजनामा लगानी प्रतिबद्धता आएको हो। ती परियोजनाले २५ हजार ४५० जनालाई रोजगारी दिने बताएका छन्।
चालु आर्थिक वर्ष ११ महिनामा नेपालबाट ५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रोयल्टी फिर्ता लैजान विभागले स्वीकृति दिएको छ।
कुन क्षेत्रमा कति लगानी प्रतिबद्धता ?
चालु आर्थिक वर्ष साउनदेखि जेठसम्म आइटी क्षेत्रमा सबैभन्दा धेरै ५७७ वटा परियोजनाका लागि २ अर्ब ३६ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ।
पर्यटनमूलक क्षेत्रका २०२ वटा परियोजनामा १२ अर्ब ९९ करोड, सेवामूलक क्षेत्रका ६२ वटा परियोजनामा ४ अर्ब ५९ करोड, उत्पादनमूलक क्षेत्रका ५२ परियोजनामा ३ अर्ब ५७ करोड, कृषि क्षेत्रका १६ परियोजनामा २२ अर्ब, ऊर्जा क्षेत्रका २ परियोजनामा २३ करोड ४२ लाख, खनिज क्षेत्रका परियोजनामा १५ करोड ५० लाख र पूर्वाधार क्षेत्रको एउटा परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।