काठमाडौं। स्वीडेनले फिफा विश्वकप २०२६ को यात्रा शानदार जितसहित सुरु गरेको छ। समूह ‘एफ’अन्तर्गत मेक्सिकोको मोन्टेरेमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५-१ ले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो।
ग्रहाम पोटरको प्रशिक्षणमा रहेको स्वीडेनले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो। नियमित छनोट चरणमा एक खेल पनि जित्न नसकेपछि प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको टोलीले आफ्नो उपस्थितिको औचित्य मैदानमै प्रमाणित गर्यो।
खेलको सुरुआती ३० मिनेटभित्र स्वीडेनले दुई गोल गर्दै ट्युनिसियामाथि दबाब बनायो। पहिलो गोल यासिन अयारीले गरे।
ट्युनिसियाका गोलरक्षक मोहिब चामाखले भिक्टर लिन्डेलोफको लामो पासको गलत अनुमान लगाएपछि अयारीले अवसरको पूरा फाइदा उठाए। उनले करिब २५ यार्ड टाढाबाट बल प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।
पहिलो गोलपछि उत्साहित बनेको स्वीडेनले ३०औँ मिनेटमा दोस्रो गोल थप्यो। भिक्टर ग्योकेरेसको उत्कृष्ट पासमा अलेक्जान्डर इसाकले सहज फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए। लिभरपुलका फरवार्ड इसाकले तीव्र काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै स्वीडेनलाई बलियो स्थितिमा पुर्याए।
तर, ट्युनिसिया खेलबाट बाहिरिएको थिएन। पहिलो हाफको अन्त्यतिर ओमार रेकिकले हानिबल मेजब्रीको क्रसलाई हेडमार्फत जाली चुमाउँदै अन्तर घटाए। त्यस गोलले ट्युनिसियालाई केही आशा दिलाएको थियो।
दोस्रो हाफमा ट्युनिसियाले पुनरागमन गर्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन सकेन। बरु स्विडेनले खेलमाथि थप नियन्त्रण कायम गर्यो।
६०औँ मिनेटमा ट्युनिसियाका कप्तान एलियस स्क्हिरीको गल्तीबाट अवसर सिर्जना भयो। इसाकले बल खोसेर ग्योकेरेसलाई पास दिए र उनले नजिकैबाट गोल गर्दै स्कोर ३-१ बनाए। अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला १६ खेलमा यो उनको १५औँ गोल थियो।
खेलको अन्त्यतिर ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा बदल्न सकेन। हानिबल मेजब्रीले सिर्जनात्मक खेल देखाए पनि टोलीलाई राहत दिन पर्याप्त भएन।
बरु स्वीडेनले थप २ गोल गर्दै शानदार जित सुनिश्चित गर्यो। मैदान प्रवेश गरेको मात्र १२ सेकेन्डमै माटियास स्वानबेर्गले गोल गर्दै विश्वकप इतिहासमा वैकल्पिक खेलाडीबाट गरिएको सबैभन्दा छिटो गोलको नयाँ कीर्तिमान बनाए।
त्यसपछि खेलको अन्तिम क्षणमा अयारीले बक्स बाहिरबाट आकर्षक प्रहार गर्दै आफ्नो दोस्रो तथा टोलीको पाँचौँ गोल गरे।
यो जितसँगै स्वीडेनले विश्वकपको उद्घाटन खेलमा अपराजित रहने क्रम ५ खेलसम्म पुर्याएको छ। अब उसले अर्को खेलमा नेदरल्यान्ड्सको चुनौती सामना गर्नेछ।
नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग २-२ को रोमाञ्चक बराबरी खेलेको थियो।
यता ट्युनिसियाका लागि भने नकआउट चरण पुग्ने यात्रा कठिन बनेको छ। सन् १९७८ यता विश्वकपको पहिलो खेल जित्न नसकेको ट्युनिसियाले अब जापानविरुद्धको खेलमा पुनरागमनको प्रयास गर्नेछ।