BIZMANDU
www.bizmandu.com

फिल्म फेस्टिभलदेखि स्मार्ट सेवा विस्तारसम्म, काठमाडौं महानगरको १०१ बुँदे रोडम्याप

२०८३ असार १

फिल्म फेस्टिभलदेखि स्मार्ट सेवा विस्तारसम्म, काठमाडौं महानगरको १०१ बुँदे रोडम्याप
फिल्म फेस्टिभलदेखि स्मार्ट सेवा विस्तारसम्म, काठमाडौं महानगरको १०१ बुँदे रोडम्याप

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सांस्कृतिक सम्पदा संरक्षण, स्मार्ट सहरी सेवा, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र वातावरण व्यवस्थापनलाई केन्द्रमा राख्दै १०१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सभा गृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाडौंलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। महानगरको दीर्घकालीन सोच, चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका बहुवर्षीय कार्यक्रम तथा सहरी सभ्यताको आवश्यकतालाई आधार बनाएर नीति तयार गरिएको महानगरले जनाएको छ।

नीति तथा कार्यक्रमअनुसार काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालयका रूपमा विकास गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल अभिलेखीकरण, संरक्षण र पुनर्निर्माण गरिनेछ। विदेशी पाहुनालाई समेत सहभागी गराएर अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिने भएको छ। साथै इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथलगायत सांस्कृतिक सम्पदाको प्रवर्द्धन र परम्परागत सीप, कला तथा ज्ञानको पुस्तान्तरणमा जोड दिइनेछ।

महानगरले सेवा प्रवाहलाई थप डिजिटल बनाउँदै केन्द्र तथा वडा कार्यालयका सेवाहरूलाई स्वचालित गर्ने, एकद्वार सेवा केन्द्र सञ्चालन गर्ने, जीआईएसमा आधारित प्रणाली विस्तार गर्ने तथा ‘अर्न ह्वाइल यू लर्न’ अवधारणाअन्तर्गत इन्टर्नशिप, फेलोसिप र पार्टटाइम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

सामाजिक क्षेत्रतर्फ युवा स्वरोजगार तथा उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई पोषण भत्ता, घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइनेछ। ‘जेन जेड’ र ‘जेन अल्फा’ विशेष कार्यक्रममार्फत युवा पुस्तालाई सुशासन र नीति निर्माणमा जोड्ने योजना पनि सार्वजनिक गरिएको छ।

शिक्षा क्षेत्रमा अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय, गृहिणी तथा ज्येष्ठ नागरिक विद्यालय सञ्चालन गरिनेछ भने विद्यालयमा ‘क्रिएटिभ फ्राइडे’ कार्यक्रम लागू गरिनेछ। भाषा, संस्कृति, सम्पदा र पर्यटनसम्बन्धी जनशक्ति उत्पादन गर्न ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरिने नीति पनि समेटिएको छ।

स्वास्थ्यतर्फ निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै बाइक एम्बुलेन्स सेवा सञ्चालन गरिने, महानगर अस्पताल निर्माण गरिने तथा मानसिक स्वास्थ्यका लागि मनोपरामर्श सेवा र कल सेन्टर सञ्चालनमा ल्याइनेछ। महानगरभित्रका अस्पतालले विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनेछ।

वातावरण तथा सरसफाइतर्फ महानगर क्षेत्रलाई सात क्लस्टरमा विभाजन गरी प्रविधिमार्फत फोहोर व्यवस्थापन गरिने, बन्चरेडाँडामा वैज्ञानिक फोहोर प्रशोधन प्रणाली सञ्चालन गरिने तथा ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार सेवा शुल्क संकलन गरिनेछ।

त्यसैगरी निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालय विस्तार, स्मार्ट स्ट्रिट लाइट, जीआईएसमा आधारित पूर्वाधार अनुगमन, पैदलयात्री तथा साइकलमैत्री पूर्वाधार निर्माण, रात्रीकालीन सार्वजनिक यातायात विस्तार तथा बहुमञ्जिला पार्किङ व्यवस्थापनलाई पनि आगामी वर्षका प्राथमिकतामा राखिएको छ।

महानगरपालिकाको नीति तथा कार्यक्रममाथि नगरसभामा सोमबारदेखि छलफल सुरु भएको छ।