BIZMANDU
www.bizmandu.com

अन्तिम मिनेटको गोलले इक्वेडरमाथि आईभोरी कोस्टको संघर्षपूर्ण जित

२०८३ असार १

अन्तिम मिनेटको गोलले इक्वेडरमाथि आईभोरी कोस्टको संघर्षपूर्ण जित
Ecuador's Alan Minda (14) and Ivory Coast's Guela Doue (17) battle for the ball during the World Cup Group E soccer match between Ivory Coast and Ecuador in Philadelphia, Sunday, June 14, 2026. (AP Photo/Petr David Josek)

काठमाडौं। अफ्रिकी राष्ट्र आइभरी कोस्टले फिफा विश्वकप २०२६ को समूह ‘ई’मा विजयी सुरुआत गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोस्टले दक्षिण अमेरिकी टोली इक्वेडरलाई अन्तिम मिनेटमा गोल गर्दै १-० ले पराजित गरेको हो।

Tata
GBIME
Nepal Life

लामो समयसम्म गोलरहित बराबरी रहेको खेलको ९०औँ मिनेटमा आइभरी कोस्टका सब्स्टिच्युट खेलाडी अमाद डियालोले गोल गर्न सफल भए। ५६ औँ मिनेटमा मैदान प्रवेश गरेका उनले निर्णायक गोल गर्न सफल भएका हुन्।

दायाँ विङबाट विल्फ्रिड सिङ्गोले उत्कृष्ट दौडसहित दिएको कटब्याक पासलाई डियालोले बायाँ खुट्टाले सुन्दर फिनिस गर्दै जाली चुमाए। उनको प्रहार इक्वेडरका गोलरक्षक हेर्नान गालिन्देजलाई बिट गर्दै पोस्टको बायाँ कुनामा पुगेपछि आइभरी कोस्टले महत्त्वपूर्ण ३ अंक सुरक्षित गर्‍यो।

खेलभर दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। सुरुआती समयदेखि नै इक्वेडरले बल नियन्त्रणमा केही पकड बनाए पनि निर्णायक फिनिसिङमा भने चुक्यो। दोस्रो मिनेटमै मोइसेस कैसेडोले पहिलो प्रहार गरे पनि त्यो लक्ष्यभन्दा बाहिरियो।

२३औँ मिनेटमा जोन येबोहाले आइभरी कोस्टका डिफेन्डर इमानुएल अग्बाडौको गल्तीको फाइदा उठाउँदै बक्सबाहिरबाट गरेको शानदार प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसको ७ मिनेटपछि फेरि कैसेडोले बल खोसेर सुरु गरेको आक्रमणमा पेद्रो भिटेले दिएको पासलाई एलन मिन्डाले पहिलो टचमै प्रहार गर्दा त्यो पनि क्रसबारमै लाग्यो।

पहिलो हाफमा आइभरी कोस्टले पनि केही राम्रो अवसर सिर्जना गरेको थियो। १७औँ मिनेटमा फ्रान्क केसीले बाजुमाना टुरेलाई दिएको पासपछि आएको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ३५औँ मिनेटमा निकोलस पेपेको प्रहार एलन फ्रान्कोले साहसिक रूपमा रोकिदिएका थिए।

दोस्रो हाफमा खेल थप रोमाञ्चक बन्यो। ५२औँ मिनेटमा पेपेको पासमा यान डियोमान्डेको उत्कृष्ट क्रसलाई एलिये वाहीले नजिकैबाट प्रहार गर्दा त्यो पनि क्रसबारमै लाग्यो। खेलमा त्यसबेलासम्म ३ पटक क्रसबारले गोल हुनबाट रोकेको थियो।

६८औँ मिनेटमा इक्वेडरका गोन्जालो प्लाटाले बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहार आइभरी कोस्टका गोलरक्षक याहिया फोफानाले उत्कृष्ट बचाउ गरे। त्यसपछि दुवै टोलीले जितका लागि निरन्तर प्रयास जारी राखे पनि खेल अन्तिम मिनेटसम्म गोलरहित नै रह्यो।

तर, ९०औँ मिनेटमा सिङ्गोको उत्कृष्ट मुभ र अमाद डियालोको सटले खेलको दिशा नै बदलिदियो।

यस जितसँगै आइभरी कोस्टले समूह ‘ई’मा महत्त्वपूर्ण ३ अंक जोडेको छ। यसअघि जर्मनीले कुरासाओलाई ७-१ ले पराजित गरेपछि समूहको शीर्ष स्थानमा जर्मनी छ भने आइभरी कोस्ट दोस्रो स्थानमा उक्लिएको छ। हारसँगै इक्वेडर भने अंकविहीन रहँदै दबाबमा परेको छ।