BIZMANDU
www.bizmandu.com

दुई पटक पुनरागमन गर्दै जापानले समूहको ‘हेभिवेट’ नेदरल्याण्ड्सलाई रोक्यो, बराबरीमा टुंगियो खेल

२०८३ असार १

दुई पटक पुनरागमन गर्दै जापानले समूहको ‘हेभिवेट’ नेदरल्याण्ड्सलाई रोक्यो, बराबरीमा टुंगियो खेल
ARLINGTON - lr Jorrel Hato of the Netherlands and Ayase Ueda of Japan during the 2026 FIFA World Cup, WM, Weltmeisterschaft, Fussball Group F match between the Netherlands and Japan at Dallas Stadium on June 14, 2026, in Arlington, United States. ROBIN VAN LONKHUIJSEN / ANP FIFA World Cup 2026 2026 xVIxANPxSportx/xxANPxIVx 561019675 originalFilename: 561019675.jpg

काठमाडौं। एसियाली फुटबल ‘जायन्ट’ जापानले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ। विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत डलास स्टेडियममा सोमबार बिहान भएको खेलमा जापानले अन्तिम मिनेटमा गोल गर्दै महत्वपूर्ण एक अंक जोगाएको हो।

Tata
GBIME
Nepal Life

नेदरल्याण्ड्सका लागि कप्तान भर्जिल भान डाइक र क्रिसेन्सियो समरभिलले गोल गरे भने जापानका केइतो नाकामुरा र दाइची कामाडाले गोल फर्काए।

पहिलो हाफमा नेदरल्याण्ड्सले खेलमा स्पष्ट दबाब बनाए पनि गोल गर्न सकेन। डोनेल मालेनले सुरुआतमै केही अवसर पाए पनि जापानी गोलरक्षक जियोन सुजुकी उत्कृष्ट लयमा देखिए। जापानले पनि केही अवसर सिर्जना गरे पनि दुवै टोली गोलविहीन बराबरीमा रोकिए।

दोस्रो हाफमा डच टोलीले अग्रता बनायो। खेलको ५१औं मिनेटमा नेदरल्याण्ड्सका लागि रायन ग्राभेनबेर्चको क्रसमा कप्तान भान डाइकले शक्तिशाली हेडरमार्फत गोल गर्दै टोलीलाई १–० ले अघि बढाए।

तर, जापानले ५७औं मिनेटमा खेलमा फर्कियो। ताकेफुसा कुबोको पासमा केइतो नाकामुराले बक्स बाहिरबाट प्रहार गरेको बल डिफेन्डर जान पाउल भान हेक्केलाई हल्का छोएर जाली चुमेपछि खेल १–१ को बराबरीमा पुग्यो।

बराबरीपछि खेल थप रोमाञ्चक बन्यो। ६४औं मिनेटमा ग्राभेनबेर्चकै पासमा समरभिलले जापानी पेनाल्टी क्षेत्रको दायाँ भागबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै नेदरल्याण्ड्सलाई फेरि अग्रता दिलाए। समरभिलको यो नेदरल्याण्ड्सका लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो र त्यो विश्वकपमै आएको हो। योसँगै नेदरल्याण्ड्स २-१ ले अघि बढ्यो।

नेदरल्याण्ड्स जित नजिक पुगेको जस्तो देखिए पनि जापानले हार मानेन। निरन्तर आक्रमण गरिरहेको जापानका लागि खेल सकिन दुई मिनेट बाँकी रहँदा जुन्या इतोको कर्नरमा कोकी ओगावाले हेडरमार्फत बल अगाडि बढाए र दाइची कामाडाको हेडरमा गोल हुन सफल भयो। ८८औं मिनेटमा आएको उक्त गोलले जापानलाई २–२ को बराबरी दिलायो।

अन्तिम समयमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा अंक बाँड्न बाध्य भए।

समूहको शक्तिशाली र उपाधिकै दाबेदारमध्येको एक नेदरल्याण्ड्सलाई रोकेसँगै अंकतालिकामा जापानले राहतको सास फेरेको छ। यो समूहमा स्वीडेन र ट्युनिसिया पनि छ। यी दुई टोली आजै बिहान पौने ८ बजे भिड्नेछन्।

यो बराबरीसँगै समूह ‘एफ’ मा जापान र नेदरल्याण्ड्सले समान एक–एक अंक जोडेका छन्। दुई पटक पछि परेको अवस्थामा पनि पुनरागमन गर्दै अंक खोस्न सफल जापानले आफ्नो लडाकु चरित्र फेरि एकपटक प्रमाणित गरेको छ भने नेदरल्याण्ड्सले विश्वकपमा दुई पटक अग्रता लिएर पनि जित निकाल्न नसक्ने दुर्लभ नतिजा भोग्नुपरेको छ।