BIZMANDU
www.bizmandu.com

शशांकले कांग्रेस फुटिसक्यो भनेपछि गगनमाथि शेखरको आरोप : निरंकुश शैली अपनाए

२०८३ जेठ ३१

शशांकले कांग्रेस फुटिसक्यो भनेपछि गगनमाथि शेखरको आरोप : निरंकुश शैली अपनाए
शशांकले कांग्रेस फुटिसक्यो भनेपछि गगनमाथि शेखरको आरोप : निरंकुश शैली अपनाए

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

कांग्रेसको संस्थापनइतर पक्षले आइतबार विराटनगरस्थित मनास्लु होटलमा राखेको प्रदेशस्तरीय भेलामा शशांकले पार्टी टुक्रिसकेको बताएका हुन्।

‘हाम्रो पार्टी फुटिसक्यो। यो दुर्भाग्यपूर्ण हो। म चाहन्छु पार्टी मिल्नुपर्छ,’ शशांकले भने, ‘यो सर्वोच्चले फुटाएको हो। गाउँभरी कांग्रेस छ। तर भोट गएन।‘

उनले पार्टी सभापति गगन थापा एक्लैले पार्टी चलाउन नसक्ने दाबीसमेत गरे। ‘गगन थापालाई मेरो आग्रह छ। के तपाइँले एक्लै पार्टी चलाउन सक्नुहुन्छ यति धेरै नेताहरु बाहिर राखेर?,’ शशांकले प्रश्न गरे।

कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले भने पार्टी फुटाउन नदिने बताए। ‘पार्टी फुट्न दिन्नँ। पार्टी फुट्दैन। यहाँबाट गएपछि आफ्ना साथीहरुलाई पनि तपाइँहरुले भन्नुपर्छ,’ शेखरले भने।

शेखरले कांग्रेसको जन्म नै लोकतन्त्र स्थापना र निरंकुशता अन्त्यका लागि भएको उल्लेख गर्दै अहिले सभापति थापाले निरंकुश शैली अपनाएको आरोप लगाए।

‘अहिले क्रियाशील सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ। यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ,’ शेखरले भने।

गत पुस मसान्तमा भएको विशेष महाधिवेशनबाट गगन सभापति चुनिएकामा त्यो महाधिवेशनमा भाग नलिएको समूहले पार्टीभित्र भाग माग्दै भेला गर्दै आएको छ।

निर्वाचन आयोगले गगनको नेतृत्वलाई नै मान्यता दिएपछि आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेकामा सर्वोच्चले आयोगकै निर्णय सदर गरेको थियो।