काठमाडौं। बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा सेयर धितोमा लगानी १५.५ प्रतिशतले बढाएका छन्।
गत असार मसान्तसम्म सेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा थप २१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
सेयर धितोमा बैंक तथा वित्तीय संस्थाको कूल लगानी १ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
१ करोड रुपैयाँ माथिको ऋण सबैभन्दा धेरै १७.२ प्रतिशतले बढेको छ। ठूला लगानीकर्ताले सेयर धितो राखेर वैशाखसम्म १ खर्ब १५ अर्ब ९४ करोड रुपैयाँ ऋण लिएका छन्। असार असान्तसम्म यस्तो रकम ९८ अर्ब ९२ करोड रुपैयाँ थियो।
५० लाखमाथि १ करोडसम्मको सेयर धितो कर्जा १८ अर्ब ३९ करोड २६ लाख रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्मको तुलनामा १४.७ प्रतिशत धेरै हो।
यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ११ प्रतिशत बढेर १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। यो रकम गत असारसम्मको तुलनामा ६.३ प्रतिशत धेरै हो।