काठमाडौं। अस्ट्रेलियाले फिफा विश्वकप २०२६ मा शानदार सुरुआत गरेको छ। विश्वकपको आफ्नो पहिलो खेलमै बलियो मानिएको टर्किएलाई २-० ले पराजित गर्दै अस्ट्रेलियाले समूह ‘डी’मा महत्त्वपूर्ण ३ अंक जोडेको हो।
कागजी रूपमा समूहमा कमजोर मानिएको अस्ट्रेलियाले बलियो मानिएको टर्किएमाथि प्रभावशाली जित निकालेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा अस्ट्रेलियाका युवा स्टार नेस्टोरी इरानकुण्डा र कोनर मेटकाफले गोल गरे। विश्वकपको पहिलो खेलमै जित निकाल्दै अस्ट्रेलियाले सन् २००६ यता पहिलो पटक आफ्नो पहिलो खेलमै विजय हासिल गरेको छ।
खेलको सुरुआतदेखि नै टर्किएले आफ्नो वर्चस्व देखाएको थियो। हाकान चाल्हानोग्लु, अर्दा गुलर, केरेम अक्टुर्कोग्लु र बारिस अल्पर यिल्माज जस्ता स्टार खेलाडी रहेको टोलीले लगातार अस्ट्रेलियामाथि दबाब बनायो। चौथो मिनेटमै चाल्हानोग्लुको कर्नरमा ह्यारी साउटरले क्लियर गर्दै अस्ट्रेलियालाई संकटबाट जोगाए।
बल नियन्त्रणमा टर्किएको स्पष्ट पकड थियो। पहिलो २० मिनेटमा उसले करिब ६७ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। अस्ट्रेलिया भने काउन्टरअट्याकको अवसर खोजिरहेको थियो।
खेलको २७औँ मिनेटमा त्यही काउन्टरअट्याक अस्ट्रेलियाका लागि निर्णायक बन्यो। गोलरक्षक प्याट्रिक बिचले बल छिटो अघि बढाएपछि पल ओकोन-एङ्स्टलरले उत्कृष्ट पास निकाले। त्यसमा दौडिएका इरानकुण्डाले दुई डिफेन्डर र गोलरक्षक उगुर्चान चाकिरलाई छक्याउँदै सट प्रहार गरे, जुन सिधै जालीमा पुग्यो।
अप्रत्याशित रूपमा पछि परेको टर्कीले त्यसपछि बराबरी गोलका लागि आक्रामक खेल प्रस्तुत गर्यो। ३०औँ मिनेटमा अब्दुलकेरिम बार्दाक्चीको शक्तिशाली प्रहारलाई बिचले उत्कृष्ट बचाउ गर्दै पोस्टमा धकेले। त्यसपछि पनि गुलरले पटक-पटक अवसर सिर्जना गरे तर अस्ट्रेलियाको रक्षापंक्ति निकै अनुशासित देखियो।
पहिलो हाफमा ७० प्रतिशत बल नियन्त्रण, १० प्रहार र निरन्तर आक्रमण गरे पनि टर्किए गोल गर्न असफल रह्यो। पहिलो हाफ अस्ट्रेलियाको पक्षमा १-० मा सकियो।
दोस्रो हाफ सुरु भएसँगै टर्किएले केनान यिल्दिजलाई मैदानमा उतार्दै आक्रमणलाई थप धारिलो बनाउने प्रयास गर्यो। तर, ४७औँ मिनेटमा चाल्हानोग्लुको प्रहार र ५७औँ मिनेटमा गुलरको फ्रिकिकलाई गोलरक्षक बिचले सानदार बचाउ गरे।
७८औँ मिनेटमा टर्कीले खेलकै उत्कृष्ट अवसर पाएको थियो। केरेम अक्टुर्कोग्लुले नजिकैबाट हेडमार्फत गोल गर्ने प्रयास गरे पनि बिचले प्रशंसायोग बचाउन गर्दै टोलीलाई दोस्रो पटक संकटबाट बचाए।
टर्किए बराबरी गोलको खोजीमा अगाडि बढिरहेका बेला अस्ट्रेलियाले अर्को घातक काउन्टरअट्याक गर्यो। ७५औँ मिनेटमा इस्माइल युक्सेकले मिडफिल्डमा बल गुमाएपछि मेटकाफले त्यसलाई नियन्त्रणमा लिए। उनले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गरेको शक्तिशाली प्रहार टर्कीका गोलरक्षक चाकिरलाई बिट गर्दै पोस्टको दायाँ कुनाबाट जालीमा पुग्यो।
दोस्रो गोलसँगै अस्ट्रेलिया २-० ले अगाडि बढ्दा टर्किए थप दबाबमा पर्यो। अन्तिम समयमा गुलर, चाल्हानोग्लु र यिल्दिजले केही अवसर सिर्जना गरे पनि अस्ट्रेलियाको रक्षापंक्तिले अवसर नै दिएन।
खेलभर टर्किएले ७० प्रतिशतभन्दा बढी बल नियन्त्रण राख्दै धेरै प्रहार गर्यो र निरन्तर आक्रमणमा रह्यो। तर, अवसरको सदुपयोग गर्न नसक्दा उसले हार बेहोर्नुपर्यो। अर्कोतर्फ अस्ट्रेलियाले सीमित अवसरलाई गोलमा परिणत गर्दै अनुशासित रक्षात्मक खेलमार्फत विश्वकपमा सुखद सुरुआत गर्न सफल भएको छ।