विराटनगर। चिनीका उद्योगीले भारतले वैशाख ३० गते चिनीको निर्यात प्रतिबन्ध गरेको भोलिपल्टै अर्थात् वैशाख ३१ मूल्य किलोमा २ रुपैयाँ वृद्धि गरेका थिए। वैशाख ३० सम्म कारखानामूल्य भ्याटबाहेक किलोको ७६ वा ७७ रुपैयाँ लिइरहेका उद्योगले ३१ गते नै ७८ वा ७९ पुर्याएका थिए। नगदै खरिद गर्ने क्रेतालाई ७८ र उधारो खरिदकर्तालाई ७९ कायम गरिएको थियो।
तर मूल्यवृद्धिप्रति सरकार उदासीनता देखियो। उद्योगी र आयातकर्ता दुवैले होडबाजीका शैलीमा मूल्यवृद्धि गर्दै रहे। उद्योगीको आरोप छ- ‘आयातकर्ताले मूल्यवृद्धि गरेका हुन्।’ आयातकर्ताले मूल्यवृद्धि गरेपछि आफू पनि गर्न बाध्य भएको उद्योगीको भनाइ छ।
यता, आयातकर्ता भने आफूसँग चिनीको मौज्दात नै कम भएको हुँदा मूल्यमा खेल्न नसक्ने जिकिर गर्दछन्। मूल्य निर्धारणमा उद्योगीकै मुख्य हात हुने आयातकर्ताको दाबी छ।
उद्योगी र आयातकर्ताको यही होडबाजीका चेपुवामा परेर चिनीको मूल्य एक महिनामै किलोको १५ रुपैयाँले वृद्धि भइसकेको छ। तर सरकारले यस सम्बन्धमा कुनै चासो लिएको छैन। वैशाखको ३० गतेसम्म काठमाडौंको बजारमा किलोको १०० रुपैयाँमा पाइने चिनी अहिले ११५ रुपैयाँ पर्न थालेको छ।
भारतले चिनीको निर्यात बन्द गरेलगत्तै नेपालको बजारमा मूल्यवृद्धि हुन थालेपछि सरकारले उद्योगीलाई बोलाएर एकपटक छलफल गरेको थियो। उद्योगीले त्यसक्रममा चिनीको कारखाना मूल्य भ्याटसहित ९५ रुपैयाँभन्दा नलिने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्योगीले त्यस छलफलमा उखु क्रसिङको आगामी सिजन अर्थात पुस महिनासम्मका लागि चिनीको मौज्दात पर्याप्त रहेको पनि जानकारी गराएका थिए। नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति प्रकाशित गर्दै नेपालभरिका उद्योगमा गरि १ लाख ८ हजार टन चिनी मौज्दात रहेको अवगत गराएको थियो। त्यसपछि मौज्दातबारे अर्को अपडेट आएको छैन।
संघका अध्यक्ष शशिकान्त अग्रवालका हस्ताक्षरमा जेठ १ मा प्रकाशित विज्ञप्तिमा चिनीको कारखानाद्वार मूल्यमा कुनै उल्लेखनीय मूल्यवृद्धि नहुने बताइएको थियो।
अध्यक्ष अग्रवालले जेठ १ को विज्ञप्तिमा भनेका थिए, ‘स्वदेशमा पर्याप्त मात्रामा चिनीको उपलब्धता एवम् मौज्दात रहेको हुँदा तत्काल चिनीको कारखानाद्वार मूल्यमा उल्लेखनीय मूल्यवृद्धि नहुने व्यहोरा सबै सरोकारवालालाई अवगत गराउँदछौं।’
तर, एक महिना नबित्दै अध्यक्ष अग्रवालको प्रतिबद्धताविपरित दैनिक मूल्य बढ्न थालेको छ। उद्योगहरूले चिनीको कारखाना मूल्य भ्याटबाहेक किलोको ९० रुपैयाँ लिन थालिसकेका छन्।
एभरेस्ट सुगर मिल्सले आफ्नो चिनीको कारखाना मूल्य भ्याटबाहेक किलोको ९० रुपैयाँ भएको जनाएको छ। उद्योगका संचालक सुरेश सर्राफले भ्याटबाहेक किलोको ९० रुपैयाँ मूल्य रहेको भएको बताए। सर्राफले समयअनुसार भ्याटबाहेक किलोको ९० रुपैयाँ मूल्य जायज भएको जिकिर गरे।

काठमाडौंमा चिनीका एक होलसेलरका अनुसार एभरेस्ट, इस्टर्न, रिलायन्स, इन्दुशंकर, वाग्मती, महाकाली र महालक्ष्मी गरी ७ वटा सुगर मिल्सले चिनीको मूल्यमा कार्टेलिङ गर्दै किलोको भ्याटबाहेक ८६ रुपैयाँभन्दा कममा विक्री नगर्ने सहमति गरेका छन्।
तर, सुनसरीको इस्टर्न सुगर मिल्सका प्रबन्धक रितेश अग्रवालले आफ्नो उद्योग कुनै पनि कार्टेलिङमा सहभागी नभएको र भ्याटबाहेक किलोको ८४ रुपैयाँमा विक्री गरिरहेको दाबी गरे। तर, प्रबन्धक रितेशको यो भनाइ पत्याउन विराटनगरका होलसेलर र सेमी होलसेलर तयार छैनन्।
होलसेलर शुभम् साहले रितेशको दाबीलाई काउन्टर दिँदै बिजमाण्डूसँग भने, ‘उहाँले ८४ भन्नुभएछ, म ८५ मा लिन्छु। दिलाइदिनुस्, आजै नगदमा १० गाडी लिन्छु। मलाई थाहा छ इस्टर्नले भ्याटबाहेक ८६ भन्दा कममा दिएको छैन।’
भारतले चिनीको निर्यात बन्द गरेपछि नेपालका उद्योगले विक्री घटाएका छन्। बैशाख ३० अघि होलसेलर र सेमी होलसेलरले जति मागे पनि दिने उद्योगले भारतको निर्यात बन्दयता एक होलसेलरलाई एक दिनमा बढीमा १ गाडी मात्र बिक्री गरिरहेका छन्।
सर्लाहीको महालक्ष्मी सुगर मिल्सले चिनीको नयाँ बिक्री नै रोकेको छ। उद्योगका प्रबन्धक राजकुमार गुप्ताले भने, ‘हामीले १० दिनयता अहिले नयाँ बिक्री गरेका छैनौं। पुरानो सौदा क्लियर भएपछि मात्र नयाँ अर्डर लिनेछौं। पुरानो सौदा क्लियर हुन अझै ३-४ दिन लाग्छ ।’
महालक्ष्मीले अझै मूल्यवृद्धि हुने दाउमा बिक्री रोकेको होलसेलरको दाबी छ।
न्यून बिजकीकरण पनि ?
चिनीका व्यवसायीले उद्योगीले न्यून बिजकीकरणमा चिनीको बिक्री गरिरहेको आरोप लगाएका छन्। उद्योगीले सरकारलाई सहुलियत मूल्यमा चिनीको बिक्री गरेको देखाउन र अर्कातिर आय कम देखाएर आयकरको रकम जोगाउन न्यून बिजकीकरण गरेका हुन्।
काठमाडौंमा चिनीका एक व्यवसायी विकास लुनियाँले भने, ‘अत्यन्तै कम मूल्यमा विक्री गर्ने उद्योगले पनि भ्याट सहित किलोको ९७ मा बिक्री गरिरहेको छ। तर बिल बनाउँदा ९३ देखि ९५ को बनाइरहेको छ।’

के बदमासी उद्योग मात्र गरिरहेका छन् ?
व्यवसायी यो मान्न तयार छैनन्। आयातकर्तासँग चिनीको मौज्दात कम होला तर उनीहरू पनि ‘खेलोमेलो’मा उद्योगीभन्दा कम छैनन्।
काठमाडौंका एक व्यवसायी अभिनव गुप्ताका अनुसार उद्योगी र आयातकर्ता दुवै भदौको पहिलो हप्तादेखि मात्रै खुला रूपमा चिनी बिक्री गर्न चाहन्छन् किनकि भदौ १२ मा रक्षाबन्धन तथा क्वाति पूर्णिमा छ र यही बेलादेखि मुख्य चाडवाड सुरु हुन्छन्। त्यतिबेलासम्म किलोमा अझै १५ रुपैयाँसम्म मूल्यवृद्धि गरेर खुद्रा बजारमा कम्तीमा किलोको १३० रुपैयाँ बनाउने उनीहरूको दाउ छ।
भारतले चिनीको निर्यात बन्द गर्ने बित्तिकै संघले देशभरिका उद्योगको मौज्दात सार्वजनिक गर्दै १ लाख ८ हजार टन चिनी भएको जानकारी गराएको थियो। तर आयातकर्तासँग कति मौज्दात छ? कसैलाई जानकारी छैन। मौज्दात पनि सार्वजनिक भएको छैन।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा ४९ हजार ३८२ टन चिनीको आयात भइसकेको छ। यसमध्ये कच्चा सामग्रीमा चिनीको प्रयोग गर्ने डाबर नेपाल, पेप्सी, बोटलर्स नेपाल लगायतका उद्योगको २० हजार टन हो भने बाँकी आयातकर्ताको परिमाण हो।
तर, सरकारले भारतले निर्यात बन्द गरेयता सरकार र आयातकर्ता दुवैमाथि छानबिन गरेको छैन। त्यसैले छाडा रूपमा मूल्यवृद्धि भइरहेको छ।