काठमाडौं। फिफा विश्वकपमा स्कटल्याण्डले ३६ वर्षपछि जित निकालेको छ। विश्वकपमा ९ पटक सहभागिता जनाएको स्कटल्याण्डले आज समूह चरणको खेलमा हाइटीलाई हराउँदै विश्वकपमा जितको खडेरी तोडेको हो। यसअघि स्कटल्याण्डले जितेको खेल सन् १९९० को विश्वकपमा थियो। त्यसबेला स्कटल्याण्डले स्वीडेनलाई २-१ गोलले हराएको थियो।
आज फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गर्न सफल भएको छ।
अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डलाई जित दिलाउने एकमात्र गोल कप्तान जोन म्याकगिनले गरे। उनले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
गोलको सुरुआत चे एडम्सले गरेका थिए। एडम्सले बेन ग्यानन–डोकलाई पास दिएका थिए भने उनको क्रसलाई हाइटीका गोलकिपर जोनी प्लासिडले राम्रोसँग नियन्त्रण गर्न सकेनन्। रिबाउन्ड भएको बललाई म्याकगिनले सहजै जाली चुमाउँदै स्कटल्यान्डलाई अग्रता दिलाए।
खेलभर स्कटल्यान्डले केही राम्रा अवसर सिर्जना गरे पनि दोस्रो गोल थप्न सकेन। १७औँ मिनेटमा स्कट म्याकटोमिनेको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
पराजित टोली हाइटीले पनि बराबरी गोलका लागि लगातार दबाब बनाएको थियो। विशेषगरी दोस्रो हाफमा उसले बलमा बढी नियन्त्रण राख्दै स्कटल्यान्डको रक्षापंक्तिलाई दबाबमा राख्यो। ३४औँ मिनेटमा रुबेन प्रोभिडेन्सको प्रहार स्कटल्यान्डका गोलकिपर एङ्गस गनले पूर्ण रूपमा नियन्त्रण गर्न नसक्दा फ्रान्ट्ज्दी पिएरोटले रिबाउन्डमा गोल गर्ने अवसर पाए पनि स्कटल्यान्डका रक्षकले गोललाइनमै बचाउ गरेका थिए।
खेलको ८५औँ मिनेटमा हाइटीले बराबरी गर्ने सुनौलो अवसर गुमायो। कार्लेन्स आर्कसको उत्कृष्ट क्रसमा पिएरोटले गरेको हेड प्रहार लक्ष्यभन्दा बाहिरिएपछि हाइटी खेलमा फर्किन असफल रह्यो।
दोस्रो हाफमा हाइटीले आक्रामक खेल प्रदर्शन गरे पनि स्कटल्यान्डको रक्षापंक्ति मजबुत रह्यो। स्कटल्यान्डले अन्तिम समयसम्म आफ्नो एक गोलको अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो।
योसँगै स्कटल्यान्डले समूह ‘सी’ मा विजयी सुरुआत गरेको छ भने विश्वकपमा ५२ वर्षपछि फर्किएको हाइटीले पहिलो खेलमै हार बेहोरेको छ। हाइटीको यो स्कटल्यान्डविरुद्धको पहिलो अन्तर्राष्ट्रिय भेट पनि हो।
जितसँगै स्कटल्याण्ड ३ अंकसहित समूहको शीर्षस्थानमा उक्लिएको छ। यही समूहमा आज ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।