काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को उद्घाटन खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको खेलमा मोरक्कोले अग्रता लिए पनि ब्राजिलले पुनरागमन गर्दै अंक बाँडेको हो। यो खेल हेर्न स्टेडियममा ८०६६३ दर्शक पुगेका थिए।
अघिल्लो संस्करणमा सेमिफाइनलको यात्रा गरेको मोरक्कोले यसपाला पनि विश्वकपको सर्वाधिक सफल टोली ब्राजिललाई हम्मेहम्मे पार्दै बराबरीमा रोक्न सफल भयो। खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरोक्कोले अग्रता बनाएको थियो। ब्राहिम डियाजको उत्कृष्ट पासमा साइबारीले सुन्दर गोल गरे।
सुरुआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गरेको थियो। अच्रफ हाकिमी, निल एल ऐनाउई र बिलाल एल खन्नुसले लगातार दबाब सिर्जना गर्दा ब्राजिलको रक्षापंक्ति केही असहज देखिएको थियो।
खेलको ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले व्यक्तिगत स्किल प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काए। ब्रुनो गुइमाराइसको पासमा बल नियन्त्रण गरेका उनले बक्सको बायाँ भागबाट शक्तिशाली प्रहार गर्दै बराबरी गोल गरे। यो ब्राजिलका लागि उनको ५०औँ अन्तर्राष्ट्रिय खेल पनि थियो।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्।
ब्राजिलका लागि ५२औँ मिनेटमा इगोर थियागोले पाएको अवसरलाई मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे। त्यसपछि राफिन्हाले गरेका केही प्रहार पनि बोनोले विफल पारे।
अर्कोतर्फ मोरक्कोले पनि खेलको अन्तिम समयमा जित निकाल्ने प्रयास गरेको थियो। अतिरिक्त समयमा समिर एल मोराबेत र आयुब अमाइमुनी–एकघौयाबले गोलको अवसर सिर्जना गरे पनि एलिसनले लगातार दुई उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई हारबाट जोगाए।
खेलभरि मोरक्कोले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै पाँचपटकको विश्व विजेता ब्राजिललाई दबाबमा राखेको थियो। यद्यपि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा समाप्त भयो।
यस बराबरीसँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले समान एक–एक अंक बटुलेका छन्। यही समूहमा स्कटल्याण्ड र हाइटी पनि छन्। यी दुई टोली आजै बिहान पौने ७ बजे भिड्नेछन्।