विराटनगर। भारतीय चिया बोर्डले नेपालको चिया परीक्षणलाई कडा बनाएसँगै इलामको सूर्योदय नगरपालिकाका अर्थोडक्स चियाका उद्योग बन्द हुने भएका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसनले विज्ञप्ति प्रकाशित गर्दै आगामी असार १ देखि नगरपालिका अन्तर्गतका सबै उद्योग बन्द हुने जनाएको हो।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले सूर्योदयमा साना, ठूला र मझौला गरी अर्थोडक्स चियाका ५३ वटा उद्योग बन्द हुने बताए।
अध्यक्ष श्रेष्ठले सूर्योदयभरिमै सबैभन्दा उच्च गुणस्तरको र अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने गोर्खा टीले निर्यातका लागि पठाएको ट्रक काँकडभिट्टा भन्सारमा २२ दिनदेखि रोकिएको जानकारी दिए। श्रेष्ठले भारतीय चिया बोर्डले २ हप्ताभित्र परीक्षण रिपोर्ट दिनुपर्ने नियम रहे पनि २२ दिनसम्म रिपोर्टको अत्तोपत्तो नभएको उल्लेख गरे।
श्रेष्ठका अनुसार अर्को उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया निर्यात गर्ने इलामकै लुइस भ्याली चिया उद्योगको चियाको परीक्षण पास भएन। यसपछि भारतीय पक्षले उक्त चिया नष्ट गरेको छ।
भारतीय चिया बोर्डबाट नेपालको चियाको परीक्षण पास नभएमा त्यसलाई भारतीय भूमिमै नष्ट गरिन्छ वा डढाइन्छ। एक ट्रक चिया नष्ट हुँदा नेपालका उद्योगको भारु ३० लाखभन्दा बढी क्षति हुन्छ।
‘सूर्योदयमा चिया उद्योगका सबै गोदाम भरिएका छन्। अब राख्ने ठाउँ छैन। बिक्री पनि छैन। मूल्य घटेर निकै तल गइसकेको छ। यस्तो अवस्थामा अब उद्योग सञ्चालन गरिरहने अवस्था भएन,’ श्रेष्ठको भनाइ छ।
उनले भारतीय चिया बोर्डले नेपालको चियामा ८४ प्रकारका केमिकलको जाँच गर्ने जानकारी दिएको बताए।
श्रेष्ठका अनुसार सूर्योदय नगरपालिकामा मात्र ५० लाख र अन्यत्र १० लाख गरी नेपालमा कुल ६० लाख किलो अर्थोडक्स चिया उत्पादन गरिन्छ। यसको मुख्य बजार भारत नै हो।
नेपालको चिया भारतीय व्यवसायीले लुजमा लगेर यसलाई आफ्नो आकर्षक ब्रान्डिङमा प्याक गरेर निर्यात र घरेलु बिक्री गर्दै आएका छन्। अब यो क्रम यसै वर्षदेखि बन्द भएको श्रेष्ठले बताए।
विज्ञप्तिमा नेपालको चियाले विगतका वर्षदेखि नै विभिन्न समस्या भोग्दै आएको र हालै मात्र भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेपछि निर्यातमा ठूलो अवरोध उत्पन्न भएको बताइएको छ।
‘विभिन्न प्रकारका गुणस्तर जाँच, जोखिमपूर्ण र अपारदर्शी नतिजा तथा भण्डारणको अभावजस्ता जटिल समस्याका कारणले नेपालबाट चियाको निर्यात हुन सकेको छैन,’ विज्ञप्तिमा श्रेष्ठले भनेका छन्।

उनले जटिल गुणस्तर जाँचका बहानामा भारतीय बजारमा पुगेको २ लाख किलोभन्दा बढी तयारी अर्थोडक्स चिया भारतीय गोदाममै रोकिएको बताए।
एसोसिएसनले नेपालमा पनि १० लाख किलो अर्थोडक्स चिया थन्किएर बसेको जनाएको छ।
श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘भारतीय चिया बोर्डले नेपालको चिया परीक्षणको रिपोर्ट एक महिनासम्म दिँदैन। रिपोर्टमा गुणस्तर नमिलेको पाइएमा उक्त चिया भारतीय गोदाममै नष्ट गर्नुपर्ने अव्यावहारिक नियम थपिएका छन्। यस्ता अनेकौँ समस्याका कारण हामीले किसानलाई हरियो चियापत्तीको भुक्तानी दिनसमेत नसक्ने भयानक अवस्था सिर्जना भएको छ।’
उनले सरकारले तत्काल कूटनीतिक पहल गरेर चियाको समस्या नसुल्झाए नेपालको ‘चियानोमिक्स’ नै समाप्त हुने जिकिर गरे।
सूर्योदय नगरपालिकाकै राकुरा चियाका उत्पादक मालुम टी इन्डस्ट्रीजका निर्देशक रामकुमार राठीले भारतीय चिया बोर्डले नेपालको चिया खरिद गर्ने भारतीय व्यापारीलाई अनेकौँ बहानामा दुःख दिइरहेको बताए।
उद्योगी राठीका अनुसार बोर्डका अधिकारी नेपालको चिया खरिद गर्ने भारतीय व्यवसायीका गोदाममै पुगेर त्यसको नमूना लिन्छन् र परीक्षणको बहाना गरेर गुणस्तरहीन भएको रिपोर्ट दिन्छन्। यस्तो रिपोर्ट आउन २ महिना लाग्छ । यस अवधिमा चियाको गुणवत्ता बिग्रन पनि सक्छ।
राठीले भारतीय चिया बोर्डको दादागिरीबाट नेपालका उद्योगी मात्र नभई नेपालको चिया खरिद गर्ने भारतीय व्यवसायी पनि आतंकित भइरहेको बताए।