BIZMANDU
www.bizmandu.com

सातामा दुईदिने बिदा नेपालीलाई नेपाल चिन्ने अवसर, तपाई घुम्न कतै जानुभयो?

२०८३ जेठ ३०

सातामा दुईदिने बिदा नेपालीलाई नेपाल चिन्ने अवसर, तपाई घुम्न कतै जानुभयो?
सातामा दुईदिने बिदा नेपालीलाई नेपाल चिन्ने अवसर, तपाई घुम्न कतै जानुभयो?

हप्तामा दुई दिन बिदा नेपालको लागि नौलो प्रयोग हो। यही प्रयोग नेपाली पर्यटनका लागि सुनौलो अवसर पनि साबित भएको छ। अहिलेको सरकारले घोषणा गरेको शनिबार र आइतबारको बिदामाथि जनमानसमा प्रश्न उठिरहेको छ – यो उचित हो कि अनुचित? देशलाई यसले घाटा दिन्छ कि फाइदा?

Tata
GBIME
Nepal Life

मेरो विचारमा यो विषय गहिरो विश्लेषण गर्न योग्य छ। हामी भन्छौं, मान्छे जन्मजात कवि हो। तर मान्छे जन्मजात कवि मात्र होइन, पर्यटनप्रिय प्राणी पनि हो। मान्छे यायावर हो, उसलाई घुम्नका लागि केवल एउटा बहाना चाहिन्छ। धर्म गर्ने नाममा होस्, शैक्षिक भ्रमणका नाममा होस् वा अन्य कुनै कारणले, ऊ घुम्न पछि पर्दैन।

नेपाल प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले विश्वकै आकर्षक गन्तव्यहरूमध्ये एक हो। हामीसँग संसारकै अग्लो शिखर सगरमाथा छ, बुद्धको जन्मस्थल लुम्बिनी पनि छ। हिमाल, पहाड, तराई, मौलिक संस्कृति, वन्यजन्तु र आत्मीय आतिथ्यताले भरिपूर्ण नेपालमा पर्यटन क्षेत्र विस्तारै देशकै अर्थतन्त्रको प्रमुख मेरुदण्ड बन्दै गएको कुरामा दुई मत छैन। तर पर्यटनको विकास केवल सुन्दर गन्तव्यहरू हुनुमा मात्र निर्भर हुँदैन। नागरिकको यात्रा गर्ने समय, आर्थिक क्षमता र राज्यको नीतिले पनि यसमा प्रमुख भूमिका खेल्छन्।

‘दुई दिने साप्ताहिक बिदा’ ले आन्तरिक पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ। विशेषगरी चितवन, पोखरा, मुस्ताङ, लुम्बिनी, इलाम र बर्दिया जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरूमा बढेको नेपाली पर्यटकको चहलपहलले यसको सकारात्मक प्रभावलाई पुष्टि गर्छ।

पछिल्ला वर्षहरूमा नेपालमा बहस र अभ्यासमा आएको ‘दुई दिने साप्ताहिक बिदा’ को अवधारणाले आन्तरिक पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको छ। विशेषगरी चितवन, पोखरा, मुस्ताङ, लुम्बिनी, इलाम र बर्दिया जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरूमा बढेको नेपाली पर्यटकको चहलपहलले यसको सकारात्मक प्रभावलाई पुष्टि गर्छ। देशमा सडक सञ्जाल तीव्र गतिमा विस्तार भइरहेको छ, हवाई कनेक्टिभिटी पनि सुधारिएको छ।

यद्यपि, दुई दिने बिदाको विषयमा राष्ट्रिय स्तरमा फरक–फरक दृष्टिकोण छन्। कतिपयले यसले प्रशासनिक उत्पादकत्व घटाउने तर्क गर्छन् भने अर्को पक्षले यसलाई पर्यटन, पारिवारिक सम्बन्ध, मानसिक स्वास्थ्य र आन्तरिक अर्थतन्त्र बलियो बनाउने प्रभावकारी औजारका रूपमा हेर्ने गर्छ।

पर्यटन उद्योगमा देखिएको पछिल्लो उत्साहलाई हेर्दा यो व्यवस्थाको वस्तुगत मूल्यांकन गरी निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ। विगतमा नेपालमा अधिकांश सरकारी तथा निजी कार्यालयहरू हप्ताको ६ दिन सञ्चालन हुने गर्थे। केवल एक दिनको बिदामा टाढाको यात्रा तय गर्नु व्यावहारिक रूपमा सम्भव थिएन। मानिसहरू शुक्रबार कार्यालय सकेर निस्कन पाउँदैनथे र शनिबार मात्र घुम्न जाँदा आइतबार पुनः काममा फर्किनुपर्ने हतारो हुन्थ्यो। परिणामस्वरूप नेपालीहरू वर्षमा एक वा दुई पटक, त्यो पनि दसैंतिहार जस्ता लामो बिदामा मात्र यात्रा गर्ने गर्थे।

तर लगातार दुई दिन बिदा हुँदा परिस्थिति एकाएक बदलिएको छ। कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी र परिवारहरूले छोटो अवधिका यात्रा योजना बनाउन थालेका छन्। शुक्रबार साँझ वा शनिबार बिहानै यात्रा सुरु गरेर आइतबार साँझसम्म घर फर्किने नयाँ संस्कृति अर्थात् ‘वीकेन्ड पर्यटन’ को जग बस्न थालेको छ।

केही दिनअघि लगातार चार दिन बिदा हुँदा सौराहा, बन्दिपुर, पोखरा र मनाङ जस्ता प्रमुख गन्तव्यहरूमा पर्यटकहरूले सहजै कोठा नपाएको, कतिपय होटलहरू पूर्ण रूपमा भरिएको समाचार आएका थिए। यसले होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय उत्पादनको बजारलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

अहिले काठमाडौं, पोखरा वा बुटवलबाट अधिकतम पाँच घण्टाको सडक यात्रा गरेर शुक्रबार चितवन पुग्ने र आइतबार फर्किने प्रवृत्तिले स्थानीय होटलको अकुपेन्सी मात्र बढाएको छैन, स्थानीय कृषि र रोजगारीलाई समेत चलायमान बनाएको छ।

पछिल्ला दिनहरूमा सप्ताहान्तमा चितवनमा आन्तरिक पर्यटकको ठूलो चाप देखिन थालेको छ। विशेषगरी सौराहा, मेघौली, जगतपुर र पटिहानी क्षेत्रका होटलहरूमा शुक्रबार र शनिबार अकुपेन्सी उल्लेखनीय रूपमा बढ्ने गरेको छ। अहिले काठमाडौं, पोखरा वा बुटवलबाट अधिकतम पाँच घण्टाको सडक यात्रा गरेर शुक्रबार चितवन पुग्ने र आइतबार फर्किने प्रवृत्तिले स्थानीय होटलको अकुपेन्सी मात्र बढाएको छैन, स्थानीय कृषि र रोजगारीलाई समेत चलायमान बनाएको छ।

आन्तरिक पर्यटनको राजधानी पोखरा कुनै समय विदेशी पर्यटकमा मात्र निर्भर मानिन्थ्यो। तर अहिले पोखरा आन्तरिक पर्यटनको बलियो आधारमा उभिएको छ। फेवाताल र बेगनास तालमा बोटिङ गर्नेदेखि प्याराग्लाइडिङ, जिपलाइन र बन्जी जम्पजस्ता साहसिक खेलमा नेपाली युवा तथा कर्पोरेट समूहहरूको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। दुई दिने बिदाकै कारण पोखराका होटल, रेस्टुरेन्ट र क्याफेहरूले सप्ताहान्तमा राम्रो व्यापार गर्न थालेका छन्।

केही वर्षअघिसम्म मुस्ताङलाई धेरै नेपालीले सपनाको गन्तव्य मान्थे। त्यहाँ पुग्नु समय र खर्चका हिसाबले चुनौतीपूर्ण मानिन्थ्यो। अहिले अवस्था बदलिएको छ। सडक सञ्जालको विस्तार र दुई दिने बिदाले मुस्ताङलाई ‘बकेट लिस्ट’ बाट वास्तविक गन्तव्यमा रूपान्तरण गरिदिएको छ। अहिले अधिकांश मानिस निजी गाडी वा भाडाका सवारीमा निस्किएर मुक्तिनाथ, जोमसोम, कागबेनी र मार्फाको यात्रा गरी आइतबार फर्कन सक्ने भएका छन्। यदि लगातार दुई दिन बिदा नहुने हो भने धेरैले यस यात्राका लागि अतिरिक्त बिदा लिनुपर्ने हुन्थ्यो, जसले गर्दा यात्रा गर्न हिचकिचाउने अवस्था रहन्थ्यो।

पश्चिममा बर्दिया मात्र होइन, पूर्वको इलाममा पनि दुई दिने बिदाले पर्यटन व्यवसायीहरूलाई उत्साह थपेको छ। यसरी ‘वीकेन्ड पर्यटन’ को विकास हुँदै गए होटलहरूमा ‘वीक डेज’ र ‘वीकेन्ड’ दरको अभ्यास पनि सुरु हुन सक्छ। अर्थात् शुक्रबार र शनिबार बाहेकका दिनमा कोठाको मूल्य अपेक्षाकृत सस्तो हुने व्यवस्था विकास हुन सक्छ। यो पनि नेपालको पर्यटन उद्योगका लागि नयाँ प्रयोग हुनेछ।

पर्यटन क्षेत्र चलायमान हुँदा पर्यटक बोक्ने यातायात चल्छ, इन्धनको खपत बढ्छ, स्थानीय खाना, तरकारी, दूध र मासुको व्यापार बढ्छ, स्थानीय उत्पादनको माग विस्तार हुन्छ र थप रोजगारी सिर्जना हुन्छ।

होटल तथा रेस्टुरेन्ट व्यवसाय राम्रो चल्नु भनेको त्यहाँ काम गर्ने कर्मचारी र सञ्चालकलाई मात्र आर्थिक लाभ हुनु होइन। पर्यटकले तिरेको रकम क्रमशः समाजको तल्लो तहसम्म पुगेर धेरैलाई आर्थिक रूपमा लाभान्वित गर्छ। अर्थशास्त्रमा यसलाई ‘मल्टिप्लायर इफेक्ट’ भनिन्छ। पर्यटन क्षेत्र चलायमान हुँदा पर्यटक बोक्ने यातायात चल्छ, इन्धनको खपत बढ्छ, स्थानीय खाना, तरकारी, दूध र मासुको व्यापार बढ्छ, स्थानीय उत्पादनको माग विस्तार हुन्छ र थप रोजगारी सिर्जना हुन्छ।

विश्वका अधिकांश विकसित देशहरू जापान, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया तथा युरोपेली मुलुकहरू दुई दिने साप्ताहिक बिदाकै आधारमा चलिरहेका छन्। ती देशहरूमा दुई दिनको बिदाले मानिसलाई विश्राम र घुमफिरको अवसर दिन्छ, जसले काम गर्ने क्षमता र देशभित्रको आर्थिक गतिविधि दुवै बढाउँछ। नेपालले पनि यही अभ्यासबाट आफ्नो आन्तरिक अर्थतन्त्रलाई थप गति दिन सक्छ।

अहिलेको परिप्रेक्ष्यमा दैनिक कार्यव्यस्तता, सहरी कोलाहल, ट्राफिक जाम र मानसिक तनावले हाम्रो कार्यक्षमता प्रभावित गरिरहेको छ। लगातार दुई दिनको विश्रामले मानिसलाई परिवारसँग समय बिताउने र मानसिक रूपमा पुनः ऊर्जावान बन्ने अवसर प्रदान गर्छ। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले पर्याप्त विश्राम पाएका कर्मचारीहरूले कार्यस्थलमा बढी ऊर्जा, एकाग्रता र रचनात्मकताका साथ काम गर्न सक्ने देखाएका छन्। त्यसर्थ, दुई दिने बिदालाई केवल उत्पादकत्व घट्ने कोणबाट मात्र हेर्नु एकाङ्की मूल्यांकन हुनेछ।

दुई दिने बिदाका थुप्रै सकारात्मक पक्ष हुँदाहुँदै पनि केही व्यावहारिक चुनौतीहरू अवश्य छन्। सार्वजनिक सेवामा हुन सक्ने अवरोध तथा अत्यावश्यक सेवाको व्यवस्थापन प्रभावकारी ढंगले गर्न सकियो भने दुई दिने बिदा नेपालका लागि वरदान साबित हुन सक्छ।

बाह्य संकटका बेला देशको पर्यटन उद्योगलाई जोगाउने आधार आन्तरिक पर्यटन नै हो। नेपालीहरूमा अहिले घुम्ने इच्छा र खर्च गर्ने क्षमता दुवै बढेको छ।

कोभिड-१९ महामारीले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ के हो भने बाह्य संकटका बेला देशको पर्यटन उद्योगलाई जोगाउने आधार आन्तरिक पर्यटन नै हो। नेपालीहरूमा अहिले घुम्ने इच्छा र खर्च गर्ने क्षमता दुवै बढेको छ। तर समय अभावका कारण त्यो सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको थिएन। दुई दिने बिदाले त्यही समयको अभावलाई धेरै हदसम्म पूर्ति गरिदिएको छ।

देशलाई चिन्ने र चिनाउने हो भने दुई दिने साप्ताहिक बिदालाई निरन्तरता दिनु आजको आवश्यकता हो। यो केवल कर्मचारीलाई थप आराम दिने व्यवस्था मात्र होइन, आन्तरिक पर्यटन विस्तार, स्थानीय अर्थतन्त्र सुदृढीकरण, पारिवारिक सम्बन्ध मजबुत बनाउने र नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन नीतिगत अवसर पनि हो।