काठमाडौं । सर्वम एआईका सह-संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले विश्वले प्रविधिमा फड्को मारिरहेको बेला दक्षिण एसियाले यसलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
नेपालस्थित भारतीय राजदूतावासको सहकार्यमा नेपाल-भारत उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले दक्षिण एसियाले आफ्नो उपस्थिति बलियो बनाउनुपर्ने बताएका हुन्।
भारतको एआई स्टार्टअप सर्वमले पूर्ण रुपमा स्वदेशी प्रविधि र जनशक्ति प्रयोग गरी सफलतापूर्वक निर्माण गरेर विश्व मञ्चमा बलियो उपस्थिति बनाएको उनले बताए।
उनले यो प्रविधि केवल वित्तीय र प्राविधिक कम्पनीहरुमा मात्र सीमित नभई आम नागरिकको हितमा प्रयोग हुन थालिसकेको र भारतको कृषि मन्त्रालयसँगको सहकार्यमार्फत किसानहरुलाई फोन कल गरी उनीहरूको बाली र समस्याबारे जानकारी संकलन गर्दै आएको जानकारी दिए।
उनले अन्यत्र विकास गरिएका एआई उपकरणहरु मात्र अपनाउने भन्दा पनि आफ्नै जनसंख्या, भाषा र प्रयोगका आवश्यकता अनुकूल हुने सार्वभौम क्षमताहरु निर्माण गर्ने अवसर रहेको बताए। प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत समर्थनसहितको भारतको एआई इकोसिस्टमको रुपरेखा प्रस्तुत गर्दै कुमारले एआई अपनाउने प्रारम्भिक चरणमा रहेका देशहरुका लागि सीमान्तकृत जनसंख्यासम्म पुग्न स्थानीय भाषाका मोडेलहरूको महत्व, जनविश्वास कायम राख्न जिम्मेवार प्रयोग अभ्यासहरू र आन्तरिक प्रतिभाहरूको विकास गर्ने बताए।
उनले नेपालको स्टार्टअप समुदाय र प्राज्ञिक संस्थाहरूले यस दिशामा प्रारम्भिक कदम चाल्न राम्रो स्थितिमा रहेको बताउँदै भारतको अनुभव, विशेषगरी सरकार, शिक्षा क्षेत्र र निजी क्षेत्रबीचको साझेदारीलाई सान्दर्भिक मोडलको रूपमा औंल्याए। उनले संयुक्त अनुसन्धान पहलहरू, प्रशिक्षण कार्यक्रमहरू र स्टार्टअप इकोसिस्टम आदान–प्रदानलाई भारत–नेपाल सहकार्य अघि बढ्न सक्ने क्षेत्रहरूको रूपमा पहिचान गरिएको पनि बताए।
त्यस्तै, भौगोलिक निकटता मात्र नभई दुई देशबीचको गहिरो आत्मिक र सांस्कृतिक ऊर्जालाई एआईका माध्यमबाट थप सुदृढ बनाउन आवश्यक रहेको उनी बताउँछन्।
सो कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले भविष्यका प्रतिभाहरु तयार पार्न, अनुसन्धानलाई अगाडि बढाउन र नेपालको दीर्घकालीन नवप्रवर्तन एजेन्डालाई समर्थन गर्न उच्च शिक्षा संस्थाहरुको भूमिका रहेको बताए।
उनले एआईबाट निर्देशित विश्वका लागि विद्यार्थी र अनुसन्धानकर्ताहरुलाई सुसज्जित गर्न प्राज्ञिक र उद्योग क्षेत्रबीचको सहकार्यमा जोड दिए।