काठमाडौं। एसियाली राष्ट्र दक्षिण कोरियाले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। आज सम्पन्न समूह ‘ए’ को खेलमा कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेकियालाई २–१ ले हराएको हो। मेक्सिकोको ग्वाडालाजारास्थित एस्तादियो ग्वाडालाजारामा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थाबाट फर्किंदै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरियाले बल नियन्त्रणमा स्पष्ट दबाब बनाए पनि गोल गर्न सकेको थिएन। कप्तान सन ह्युङ–मिनले केही राम्रा अवसर सिर्जना गरे पनि चेकियाका गोलरक्षक मातेय कोभारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा राखेका थिए।
दोस्रो हाफमा भने चेकियाले अग्रता बनायो। खेलको ५९औँ मिनेटमा चेकियालाई भ्लादिमिर कउफालको लामो थ्रोबाट आएको बलमा कप्तान लाडिस्लाभ क्रेइचीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
तर, चेकियाको खुसी धेरैबेर टिकेन। खेलको ६७औँ मिनेटमा ली काङ-इनको उत्कृष्ट पासमा ह्वाङ इन-बोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काए। ह्वाङले गोलरक्षकलाई छलाएर गरेको फिनिस उत्कृष्ट थियो।
बराबरी गोलपछि दक्षिण कोरिया थप आक्रामक बन्यो। ८०औँ मिनेटमा ह्वाङ इन-बोमकै पासमा वैकल्पिक खेलाडी ओ ह्योन-ग्युले गोल गर्दै दक्षिण कोरियालाई २-१ को अग्रता दिलाए। खेलको अन्तिम समयमा चेकियाले बराबरीको प्रयास गरे पनि दक्षिण कोरियाका गोलरक्षक किम सुङ-ग्युले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुरक्षित गरे।
चेकियाले दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ७८औँ मिनेटमा टोमास सोउचेकले गरेको गोल अफसाइडका कारण रद्द भएपछि चेकियाको पुनः अग्रता लिने अवसर गुमेको थियो।
खेलको एकमात्र पहेँलो कार्ड इन्जुरी समयको छैटौँ मिनेटमा दक्षिण कोरियाका डिफेन्डर ली गि-ह्युकले पाए। यो जितसँगै दक्षिण कोरियाले समूह चरणको सुरुआत महत्वपूर्ण तीन अंकसहित गरेको छ भने चेकिया पहिलो खेलमै पराजित भएको छ।
समूह ‘ए’ मा योसँगै मेक्सिको र दक्षिण कोरियाको समान ३ अंक छ भने दक्षिण अफ्रिका र चेकिया पहिलो खेलमै पराजित भएका छन्। विश्वकपको उद्घाटन खेलमा भने मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो।
विश्वकपमा आज राति पौने १ बजे क्यानडासँग बोस्निया एण्ड हर्जगोभनिया भिड्नेछन् भने बिहान पौने ७ बजे अमेरिका र पाराग्वे भिड्नेछन्।