काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ। सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम आवेदन माग गर्दै आज सूचना प्रकाशित गरिएको हो।
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेकोले आवेदन दिन पाउनेछन्।
त्यस्तै, आवेदकसँग परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्धन, बैंकिङ, वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ।
आवेदकले नेपालमा लगानीको अवस्था, लगानी बोर्डको विश्लेषण, र लगानी प्रवर्धनको रणनीतिक खाका सहितको कार्ययोजना पेश गर्नुपर्नेछ। इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा आवेदन बुझाउनु पर्नेछ।