काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आजबाट सुरु हुँदैछ। यसपटक विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदैछन्। यी खेलहरु अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछन्।
त्यसैले यसपटकको उद्घाटन समारोह एकै स्टेडियममा नभएर आयोजक तीनवटै देशमा हुँदैछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिँदैछ। तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू त्यसमार्फत प्रस्तुत गर्नेछन्।
मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन्।
त्यस्तै, टोरेन्टोमा क्यानडा र बोस्निया एण्ड हर्जगोभनियासँगको खेल अघि र लस एन्जल्समा अमेरिका र पाराग्वेको खेलअघि उद्घाटन समारोह हुनेछ। २०२६ विश्वकप संचालन बजेट ३.७ बिलियन डलर (५ खर्ब ६६ अर्ब रुपैयाँ) भन्दा बढी रहेको छ। अमेरिका, मेक्सिको र क्यानडाका १६ वटा आयोजक सहरहरूमा हुने प्रतियोगिता र खेल संचालनका खर्चहरु मात्रै यसमा समेटिएको छ। अन्य खर्च यसमा समेटिएको छैन।
विश्वकपको उद्घाटन खेलमा समूह ‘ए’ का मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। यो खेल आज राति पौने १ बजे मेक्सिको सिटी स्टेडियममा सुरु हुनेछ।
मेक्सिको सिटीमा आयोजना हुने उद्घाटन समारोहको मुख्य आकर्षणका रूपमा पप स्टार शाकिरा र नाइजेरियाली सुपरस्टार बर्न ब्वायले यस वर्षको आधिकारिक विश्वकप गीतमा लाइभ प्रस्तुति दिनेछन् भने उनीहरूका साथमा जे बाल्विन, टाइला, माना, बेलिन्डा र अलेहान्ड्रो फर्नान्डेज जस्ता ख्यातिप्राप्त कलाकारहरू पनि मञ्चमा उत्रिनेछन्।
त्यस्तै, क्यानडाको टोरन्टोमा एलेनिस मोरिस्याट, एलेसिया कारा र माइकल बुब्ले लगायतका संगीतकारहरूले आफ्नो कला प्रदर्शन गर्नेछन् भने अमेरिकाको लस एन्जलसमा चर्चित पप गायिका केटी पेरी, र्यापर फ्युचर, ब्राजिलियाली गायिका अनित्ता र प्रख्यात के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’की सदस्य लिसा स्टेजमा उत्रनेछन्।

नेपालमा फिफा विश्वकप हिमालन स्पोर्ट्सबाट हेर्न सकिनेछ। त्यस्तै मोबाइलमा डिजिओको एपमा हेर्न सकिनेछ।
अर्थतन्त्रसँग जोडिएको खेल
फिफा विश्वकप विश्वको धेरैले हेर्ने अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हो। हरेक चार वर्षमा एकपटक आयोजना हुने यो प्रतियोगिता केवल खेलको मञ्च मात्र नभएर एउटा अस्थायी अर्थतन्त्र पनि हो। यसकै कारण पनि आयोजक शहरहरुलाई ‘आर्थिक ज्याकपट’ सँग पनि जोडेर हेरिन्छ।
एक महिना भन्दा लामो समय प्रतियोगिता चल्दा होटल, रेस्टुरेन्ट, यातायात, सुरक्षा, विज्ञापन, सञ्चारमाध्यम र स्थानीय व्यवसाय सबै यस प्रतियोगिताको सेरोफेरोमा व्यस्त रहन्छन्। पर्यटकहरूको भीड, भरिभराउ होटल, नयाँ रोजगारी र अर्बौं डलरको खर्च – यही सपना देखाएर सहरहरूलाई आयोजनाको लागि तयार पारिन्छ।
यो महासंग्रामले केबल ती देशको अर्थतन्त्रलाई मात्रै चलायमान बनाउँदैन। विश्वभर त्यसको असर पर्छ। नेपालमा पनि विश्वकप सुरु हुनु अघि देखि नै जर्सीदेखि लाइभ शोको कार्यक्रमहरुले ठूलो माहोल बनाएको छ।
तर, यसपटक भने महँगो टिकट मूल्य, अपेक्षाभन्दा कमजोर होटल बुकिङ र व्यापक आर्थिक अनिश्चितताले भने पहिले झै यो प्रतियोगिताले अर्थतन्त्रमा उछाल ल्याउला भन्ने प्रश्न पनि छ।
अनिश्चितताका बाबजुद पनि यो छोटो तर शक्तिशाली आर्थिक लहरले स्थानीय अर्थतन्त्रलाई उठाउन, गति दिन वा दबाउन पनि सक्ने शक्ति राख्ने जानकारहरु बताउँछन्।
यसमा सबैभन्दा ठूलो असर त अमेरिकाकै नीतिले गरिरहेको छ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई गम्भीर रूपमा हतोत्साहित गरिरहेको रिपोर्ट सार्वजनिक भएका छन्।

यता विश्वकप फिफाका लागि ‘प्रोफिट मेसिन’ मानिन्छ। तर, आयोजकका लागि भने यसले नाफा नै गराउँछ भन्ने ग्यारेन्टी चाहीँ हुँदैन। यसको ठूलो उदाहरण हो ब्राजिल। सन् २०१४ मा विश्वकपको आयोजना गरेको ब्राजिललाई यसको लागत धान्न निकै मुस्किल परेको र ठूलो नोक्सानी ब्यहोर्नुपरेको थियो।
यसको बिजनेस मोडल नै यस्तो बनाइएको छ। यसमा फिफालाई नाफामात्र हुने र आयोजक देशको भागमा सबै जोखिम पर्ने गरेको छ।
फिफाले टिकट बिक्री, प्रसारण अधिकार, प्रायोजकता, र लाइसेन्सिङबाट सीधै राजस्व उठाउँछ। २०१९–२०२२ साइकलमा फिफाको कुल राजस्व ७.५७ अर्ब अमेरिकी डलरको रेकर्ड बनाएको थियो।
फिफाले प्रत्यक्ष नाफ सबै लैजाँदा आयोजकको होटल, बार, रेस्टुरेन्ट र अन्य व्यवसायमा ग्राहकको भीड बढ्छ। स्थानीय कर संकलन बढ्छ। पूर्वाधार सुधार र विश्वव्यापी प्रचारले सहरको प्रतिष्ठा र नागरिक गौरव बढाउन सक्छ। तर, उनीहरुको आयोजनाअघि नै खर्च सुरु भइसकेको हुन्छ। स्टेडियम निर्माण, सरसफाइ सेवा विस्तार, सुरक्षा, यातायात व्यवस्थापन, भीड नियन्त्रण जस्ता सबैपक्ष आयोजककै काँधमा आउँछ।
विश्वकप आयोजनाको फाइदा भने ढिलो आउँछ, अप्रत्यक्ष रूपमा आउँछ वा कहिलेकाहीँ आउँदै आउँदैन।
ब्राजिलको २०१४ विश्वकप खेलको रूपमा सफल भयो, तर सार्वजनिक लगानीको रूपमा असफल। ब्राजिलले विश्वकपको तयारीमा अनुमानित ११.५ अर्ब डलर खर्च गर्यो, जसमध्ये करिब ८५ प्रतिशत सार्वजनिक कोषबाट खर्च भयो। यही अनुसारले फाइदा भने भएन।
यसकै कारण पछिल्लो समय फिफा विश्वकप, युरोकप जस्ता ठूला प्रतियोगिता धेरैवटा देशमा गर्ने ‘ट्रेण्ड’ बढेको छ।
यसपाला भिसाको विषयमा पनि ठूलो ‘कन्फ्युजन’ छ। सुरुमा ट्रम्प प्रशासन ले ५० देशका नागरिकहरूलाई १५ हजार डलरको भिसा बन्ड जम्मा गर्न लगाएको थियो। पछि विश्वकपको टिकट भएकाहरूलाई यो शर्तबाट छुट दिइयो। तर भिसा प्रक्रियामा ढिलाइ हुँदा धेरै यात्रुहरू समयमा पुग्न नसक्ने वा प्रवेश नै रोकिने जोखिम अझै कायम छ।
घरेलु यात्रुहरू पनि आर्थिक दबाबमा छन्। इरान युद्धका कारण रोजगारी बजार सुस्त छ, पेट्रोलको मूल्य बढेको छ। अमेरिकन होटल एन्ड लजिङ एसोसिएसनका अनुसार प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी छँदा ८०% होटलहरूमा बुकिङ अपेक्षाभन्दा कम छ। सर्वेक्षणमा भाग लिएका ७०% प्रतिक्रियाकर्ताहरूले भिसाको अवरोध र भूराजनीतिक अस्थिरतालाई कमजोर माग हुनुको मुख्य कारण बताएका छन्।
क्यानडामा पनि स्थिति फरक छैन। ब्रिटिस कोलम्बिया होटल एसोसिएसनले भन्यो फिफाको विश्वव्यापी प्रोफाइलका बाबजुद व्यापक होटल माग सिर्जना हुन नसकेको जनाएको छ।
महँगो टिकटले सामान्य नागरिकहरूलाई विश्वकपबाट टाढा राख्दैछ भन्ने चिन्ता धेरै सहरहरूले महसुस गरेका छन्। न्युयोर्कका मेयर जोहरान ममदानीले लटरीको माध्यमबाट १ हजार न्युयोर्कवासीलाई ५० डलरमा टिकट उपलब्ध गराउने घोषणा गरे।
होटल बुकिङमा निराशा चलिरहँदा हवाई यात्रामा भने केही सकारात्मक संकेतहरू छन्। बजार विश्लेषण फर्म सोजर्नका अनुसार ह्युस्टनमा हवाई बुकिङ गत वर्षको सोही अवधिभन्दा ३८% र डलासमा ४२% बढेको छ। यी दुवै सहर विश्वकप आयोजक छन्। तर, कुल हवाई बुकिङको झण्डै ७०% घरेलु यात्रुहरूबाट आएको छ। विदेशी यात्रुहरू धेरै पछाडि छन्। क्यानडाबाट ६% र बेलायतबाट ४.८% मात्र।
अन्तर्राष्ट्रिय यात्रुहरू घरेलु यात्रुहरूभन्दा औसतमा ५ हजार डलरभन्दा बढी खर्च गर्छन् यो घरेलु यात्रुको खर्चभन्दा बढी हो। अन्तर्राष्ट्रिय पर्यटकहरूको कमीले आर्थिक उछालमा ठूलो असर पार्न सक्छ।

२०२६ विश्वकपले अमेरिकालाई एउटा ऐतिहासिक अवसरसँगै जटिल प्रश्नहरू पनि आएका छन्।
ट्रम्पको अध्यागमन नीतिले अन्तर्राष्ट्रिय पर्यटकलाई डराएको छ। महँगो टिकटले आफ्नै देशका खेलप्रेमीहरूलाई टाढा राखेको छ। होटल बुकिङ कमजोर छ। आर्थिक अनिश्चितताले घरेलु यात्रामा पनि असर परेको छ।
अर्कोतर्फ, केही सहरहरूले पूर्वाधार सुधारमा सकारात्मक कदम चालेका छन्। एयरबिएन्बी जस्ता प्लेटफर्महरूमा बुकिङ बढिरहेको छ। हवाई यात्रामा माग बढेको छ।
आर्थिक ज्याकपटको वाचा र वास्तविकताबीच ठूलो खाडल छ।
उद्घाटन खेलमा को बलियो?
उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन्। यी दुबै टोली समूह ‘ए’ का हुन्। यो समूहमा मात्र नभएर मेक्सिकोलाई विश्वकपकै ‘डार्क हर्स’ बन्न सक्ने टोलीका रुपमा लिइएको छ भने दक्षिण अफ्रिका समूहको कमजोर टोलीका रुपमा लिइएको छ।
यो समूहमा बलियो स्थितिमा मेक्सिको देखिनुको धेरै कारण छन्। पहिलो आयोजक भएका हिसाबले वातावरणीय अनुकुलता र समर्थकको साथ उसका लागि सबैभन्दा सबल पक्ष हुन सक्छ।
जेभियर अज्युरी प्रशिक्षक रहेको मेक्सिकोका लागि सन् १९७० र १९८६ मा क्वाटफाइनलसम्म पुग्नु नै उसको लागि सबैभन्दा राम्रो नतिजा हो। विश्वकप त उसले १८ वटा संस्करणमा खेलिसकेको छ।
यसपाला आयोजकका हिसाबले मेक्सिको स्वतः छनोट भएको हो। फिफा वरीयतामा यो समूहको सबैभन्दा माथि रहेको मेक्सिको १४ औँ स्थानमा छ।
१७ वर्षे गिल्बेर्टो मोरा र गोल गर्न खप्पिस रउल हेमिनेज जस्ता खेलाडी लिएर मैदानमा मेक्सिकोले सनसनी मच्चाउने नै छ।
दक्षिण अफ्रिका अफ्रिका महादेशको बलियो टोलीमध्ये एक हो। ह्युगो ब्रोसको प्रशिक्षणमा रहेको यो टोली चारवटा संस्करण खेल्दा समूह चरण नै पार गर्न सकेको छैन।
उसले अफ्रिकन छनोटमा नाइजेरियालाई पछि पार्दै यसपाला छनोट भएको हो। यो समूहमा सबैभन्दा कम वरीयताको यो टोली ६० औँ स्थानमा छ।
कम आकिँएको टीम भए पनि यो टोलीले अप्रत्यासित नतिजा भने विश्वकपमा दिएको छ। उसले सन् २०१० को विश्वकपमा जायन्ट फ्रान्सलाई हराएको थियो। डिफेन्समा राम्रो भएपनि हाइ प्रोफाइल खेलाडीविनाको यो टोलीलाई आक्रमण गर्न भने कठिन हुनेछ।
यो टोलीबाट युरोपको शीर्ष लिगमा खेल्ने एकमात्र खेलाडी हुन् लेल फोस्टर। २६ खेलबाट १० गोल गरेका उनीमाथि यो टोली धेरै निर्भर हुनेछ।
यस्तो छ समूह चरणको पूरा खेल तालिका

