काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभाबाट चयन हुने कार्यसमितिका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन र बलराम खतिवडाले मनोनयन दर्ता गराएका छन्। हालका उपाध्यक्ष भ्लोन र महासचिव दुवैले प्यानल नै घोषणा गरेकाले प्रतिष्पर्धा गरेका हुन्। तर, अन्तिम नामावलीमा बलराम खतिवडा प्यानलबाट उम्मेदवारी दिएका अधिकांशको नाम समावेश छैन।
योग्यता नपुगेको भन्दै उनीहरुको नाम हटाइएको जनाइएको छ। यससँगै इप्पानको निर्वाचनमा भाँडभैलो मच्चिएको छ। खतिवडाको टिमले बानेश्वरमा औपचारिक टिम घोषणा गरेको थियो। उनीहरुले उम्मेदवारी पनि दर्ता गराएका थिए। तर, अन्तिम नामावलीमा भने उनीहरुको नाम परेन।
बलराम खतिवडाको प्यानलबाट उपाध्यक्षमा आवेदन दिएकाहरु कुमार खरेल, सिर्जना खड्का र दीपक पौडेलको नाम अन्तिम नामावलीमा समावेश छैन।
उपमहासचिवमा भ्लोन प्यानलबाट कविता पोखरेल निर्विरोध भएकी छन्।
सचिवमा उम्मेदवारी दिएका खतिवडा प्यानलका कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बू, वीरेन्द्रबहादुर मल्ल, संगिता धमला र इशा श्रेष्ठ कसैको नाम अन्तिम नामावलीमा छैन। सचिवमा भ्लोन प्यानलका कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजय मोहन भट्टराईको नाम अन्तिम नामावलीमा छ।
हेर्नुस उम्मेदवारहरुको अन्तिम नामावली


