BIZMANDU
www.bizmandu.com

काठमाडौंमा जथाभावी विश्वकप फुटबलको लाइभ देखाउन नपाइने, जिल्ला प्रशासनको स्वीकृति अनिवार्य

२०८३ जेठ २८

काठमाडौंमा जथाभावी विश्वकप फुटबलको लाइभ देखाउन नपाइने, जिल्ला प्रशासनको स्वीकृति अनिवार्य
काठमाडौंमा जथाभावी विश्वकप फुटबलको लाइभ देखाउन नपाइने, जिल्ला प्रशासनको स्वीकृति अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

आज सूचना जारी गर्दै प्रशासनले जेठ २९ गतेदेखि सुरु हुन गइरहेको विश्वकपका खेलहरू काठमाडौं जिल्ला भित्र ठूलो पर्दामा सामूहिक रूपमा देखाउने बहानामा रातिको समयमा भीड जम्मा गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने र समुदायमा असर पार्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।

प्रत्यक्ष प्रसारण गर्न चाहने जुनसुकै संघ, संस्था वा कम्पनीले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ। खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।

निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही, सम्बन्धित संघ/संस्था वा कम्पनी रहेको स्थान र त्यहाँको सुरक्षा अवस्थाका आधार तय गरेर स्वीकृति दिइने भनिएको छ। सूचनामा उल्लेखित नियम उल्लंघन गरे कडा कारबाही हुने चेतावनी दिइएको छ।

सूचनाको अवज्ञा गरि कार्यालयको स्वीकृति बिना रातिको समयमा फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको नाममा भिडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवांछित एवं गैरकानूनी क्रियाकलाप गरेको पाइएमा तत्काल प्रचलित कानून बमोजिम कडा कारबाही गरिने ब्यहोरा सूचनामा उल्लेख छ।