BIZMANDU
www.bizmandu.com

बलियो तर सधैं अभागी नेदरल्याण्ड्स : समूह ‘एफ’मा जापानसँग चर्को प्रतिस्पर्धा

२०८३ जेठ २८

बलियो तर सधैं अभागी नेदरल्याण्ड्स : समूह ‘एफ’मा जापानसँग चर्को प्रतिस्पर्धा
बलियो तर सधैं अभागी नेदरल्याण्ड्स : समूह ‘एफ’मा जापानसँग चर्को प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकपमा हालसम्म सबैभन्दा अभागी टोली को? सिधा जवाफ हो नेदरल्याण्ड्स। हुन पनि उसले तीनपटक विश्वकपको फाइनल खेलिसक्यो। तर, उपविजेता भन्दा माथि उसको पहुँच पुगेको छैन।

Tata
GBIME
Nepal Life

उसको स्थिति साफ महिला च्याम्पियनसिपमा नेपालको जस्तै छ। नेपाल पनि यो प्रतियोगिताको सधैं दाबेदार रह्यो। तर, या त उपविजेता या सेमिफाइलबाटै आउट हुन बाध्य बन्यो।

यसपटक पनि नेदरल्याण्ड्स सन्तुलित टोली लिएर मैदानमा उत्रँदैछ। तर, समूह ‘एफ’ सोचेजति सजिलो पनि छैन।

एसियाली जायन्ट जापानसँगै स्वीडेन र ट्युनिसिया पनि यही समूहमा छन्। यस्तोमा उस्तैउस्तै टोलीबीच नकआउट पुग्ने ठूलो सम्भावना बोकेको टोली हो नेदरल्याण्ड्स। तर, अन्य टोली पनि पटक्कै अवमूल्यन गर्न नसकिने स्थितिमा छन्।

नेदरल्याण्ड्स

नेदल्याण्ड्स सन् १९७४ र १९७८ र २०१० को विश्वकपमा फाइनल खेलिसकेको टोली हो। अब उसले छुन नसकेको उपाधिका लागि मैदान उत्रँदैछ।

नेदरल्याण्ड्सको खेल्ने शैली हो – धेरै टेक्निकल र छोटा पास। यो टोलीको प्राय लाइनअप ४-२-३-१ को हुने गर्छ। तर, जसै उनीहरुले विपक्षीको हाफमा दबाब बढाउन थाल्छन् उनीहरु ३-२-५ को सेपमा आउँछन्।

विश्वकपमा नेदरल्यान्ड्स रहेको समूह ‘एफ’ मा जापान, ट्युनिसिया र स्विडेन छन्। यसपाला रोनाल्ड कोम्यानको टोली विश्व च्याम्पियन हुने प्रतिक्षामा पूर्णविराम लगाउने लक्ष्यमा छ।

यो टोलीमा यसपाला सबैभन्दा धेरै प्रभाव पार्ने खेलाडी बन्न सक्छन् – फ्रान्की डि जोड्ड। उनको मिडफिल्डको क्षमता र स्कील नेदरल्याण्ड्सका लागि मेरुदण्ड बन्दै आएको छ। खासगरी ड्रिब्रलिङ र पासिङ उनको उत्कृष्ट छ।

यसबाहेक प्रिमियर लिगका स्टारहरु भर्जिल भान डाइक, रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र कोडी गाक्पोजस्ता खेलाडी लिएर डच टोली मैदान उत्रनेछ। यी बाहेक पनि टोलीसँग युरोपका शीर्ष लिग लिगमा सानदार लय देखाइरहेका खेलाडीको कमी छैन।

भान डाइकको नेतृत्वमा नेदरल्याण्ड्सको डिफेन्स प्रतियोगिताकै बलियो मध्येको छ। त्यस्तै डी जोङले डिफेन्सबाट एकाएक अट्याकमा लग्न क्रिएटिभ भूमिका खेल्नेछन्। त्यस्तै गोल गर्ने जिम्मेवारी कोडि गाक्पो र मेम्फिस डिपेलाई हुनेछ।

जापान

एसियाली ‘जायन्ट’ जापानको चर्चा विश्वकपका दाबेदारमा छैन। तर, जापान अवमूल्यन गर्नै नसकिने टोली हो भनेर पटकपटक उसले प्रमाणीत गरिसकेको छ। 

सन् २०२२ को विश्वकपमा समूह चरणका सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये दुई जापानका थिए। जापानले उपाधिकै दाबेदारमध्येको जर्मनीलाई २–१ ले हराएको थियो, त्यो पनि २६ प्रतिशत बल पोसेसनमा। त्यसपछि स्पेनलाई पनि समान २–१ को नतिजामा स्तब्ध पार्दा जापानसँग बलको नियन्त्रण मात्र १८ प्रतिशत थियो।

लामो समयदेखि टोली सम्हालिरहेका प्रशिक्षक हाजिमी मोरियसुको नेतृत्वमा रहेको यो टोलीले ठूला टोलीलाई स्तब्ध पार्ने क्षमता राख्छ। मार्चमा जापानले वेम्बलीमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो भने गत वर्ष ब्राजिललाई ३–२ ले हराएको थियो।

Photo by Francisco Canedo/Xinhua

मोरियासुले रणनीतिक रूपमा परिपक्व टोली तयार गरेका छन्। उनले ३-४-३ को संरचना बनाएका छन्। यसमा स्ट्राइकर अयासे उएडा छन् भने विङब्याकमा गति र आक्रामकता उपयोग गरिन्छ। जापानसँग टाकेफुसा कुबो र जुन्या इटो जस्ता उत्कृष्ट ‘क्रिएटिभ’ खेलाडी छन्।

जापानले विश्वकप छनोटका दुवै चरणमा शीर्ष स्थान हासिल गरेको थियो। एसियाबाट विश्वकप छनोट हुने क्रममा जापानले कुल ३० गोल गर्दै महादेशकै सर्वाधिक गोल गर्ने टोलीको रूपमा प्रतियोगितामा स्थान बनायो। यद्यपि, जापानले अहिलेसम्म विश्वकपको नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन। यही उपलब्धी यस पटकको प्रमुख लक्ष्य बनेको छ।

सन् २०२४ को सुरुवातमा जापान एएफसी एसियन कपको क्वार्टरफाइनलमा इरानसँग पराजित हुँदै बाहिरिएको थियो। जापानले शक्तिशाली टोलीलाई हराउने क्षमता बारम्बार देखाएको छ। तर, अब आफ्नो स्तरका प्रतिस्पर्धीविरुद्ध पनि निरन्तर सफलता हासिल गर्ने चुनौती सामना गरिरहेको छ।

जापानको विश्वकपमा यो लगातार आठौं सहभागिता हो। यो विश्वकपमा छनोट चरणबाट पुग्ने जापान पहिलो टिम हो। छनोट प्रतियोगितामा आफ्नो समूहका तीन खेल बाँकी रहँदै जापानले उत्तर अमेरिकाको टिकट काटिसकेको थियो। जापान अहिलेसम्म विश्वकपमा अन्तिम १६ भन्दा माथि चाँही जान सकेको छैन।

जापानी राष्ट्रिय टिमका अधिकांश खेलाडी युरोपबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। जसका कारण यसपटक पनि कम्तीमा नकआउट चरण पुग्नेमा जापानी समर्थक आशावादी छन्।

जापानको बल तुरुन्तै जित्ने र छिटो आक्रमण गर्ने क्षमता अतुलनिय छ। अघिल्लो संस्करणका खेललाई हेर्दा पनि बल पोसेसनले जापानलाई धेरै परेको छैन। उसले काउन्टर अट्याकमा अब्बल सावित गर्दै नतिजा आफ्नो पक्षमा ल्याउने गर्छ।

स्वीडेन

विश्वकप निकै मुस्किलले मात्रै पुगेका टोलीमध्ये एक हो स्वीडेन। तर, यसो भन्दैमा उसले सबैभन्दा कडा प्रतिस्पर्धा चल्ने युरोपबाट छनोट पार गरेको हो। यो टोलीमा भिक्टर ग्योकोरेस हेर्नलायक खेलाडीका रुपमा छन्।

स्वीडेनमा प्रशिक्षक ग्राहम पोटर गत अक्टोबरमा पुग्दा टीम दुरावस्थामा थियो। विश्वकप छनोटमा पनि उसको प्रदर्शन औशतभन्दा कमजोर थियो। पछिल्लो समय डिफेन्सिभ खेलेर काउन्टर अट्याक गर्ने उसको रणनीति छ। प्लेअफमा युक्रेनलाई हराउँदै विश्वकप छनोट हुँदा पनि स्वीडेनको बल पोसेसन ३२ प्रतिशतमात्र थियो। पछिल्लो समय ३-४-२-१ को फ्लेक्जिबल फर्मेसनमा स्वीडेनले खेल्ने गरेको छ।

युरोपेली छनोट प्रतियोगिताको आफ्नो समूहमा एउटै खेल जित्न नसकेको स्विडेन पुछारमा सीमित थियो।

एलेक्जेन्डर इसाक र भिक्टर ग्योकर्सजस्ता स्ट्राइकर साथै लुकास बर्गभाल र एन्थोनी इलाङ्गाजस्ता स्टार खेलाडीहरुको उपस्थितिले यो टोलीलाई अनपेक्षित नतिजा निकाल्न सक्ने टोलीका रुपमा लिन सकिन्छ।

नेदरल्याण्ड्स र जापानलाई स्वीडेनले कडा टक्कर दिने क्षमता राख्छ।

ट्युनिसिया

विश्वकपमा पटकपटक स्थान बनाएर पनि खास समूह चरण नै पार नगरेको टोली हो – ट्युनिसिया। सातौं पटक सहभागिताको तयारीमा रहेको ट्युनिसियाको यसपाली कम्तीमा नकआउट चरण पुग्ने लक्ष्य छ।

उसको खेल्ने शैली हेर्दा लाग्छ उसको पहिलो लक्ष्य नहार्ने र दोस्रोमात्र जित हो। अर्थात उनीहरुको डिफेन्स एकदमै बलियो छ तर आक्रमण कमजोर छ। प्राय गोलहरु सेटपिसबाट निकाल्ने गरेको यो टोलीमा पीएसजीका २१ वर्षे खालिल अयारी हेर्नपर्ने खेलाडी हुन्। उनीहरुसँग क्रिएटिभ मिडफिल्ड र गोलगर्ने स्ट्राइकरको पक्ष कमजोर छ।

एलिएस स्किरी जर्मन बुण्डेसलिगामा फ्रान्कफर्टबाट खेल्ने मिडफिल्डर हुन्। टोलीमा चाहिएको भूमिका पनि उनकै हो। क्लबमा उनलाई बल निकाल्न एकदम चलाख मिडफिल्डरका रुपमा लिइन्छ।