काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नै दलका प्रधानमन्त्री बालेन्द्र शाहका कामको निगरानी गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहको नेतृत्वमा उपसमिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का गतिविधिलाई सिंहको नेतृत्वको समितिले हेर्ने जिम्मेवारी दिइएको हो। सिंहले पछिल्लो समय आफ्नै पार्टीको सरकारका गतिविधिको आलोचना गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको गतिविधिलाई लिएर सिंहले असन्तुष्टि जनाउँदै आएका छन्।
रास्वपाकै सांसद दीपक बोहोराको संयोजकत्वको समितिले गृहमन्त्री सुदन गुरुङ अन्तर्गतको मन्त्रालयको निगरानी गर्ने छ। बोहोरा रास्वपाका सभापति रवि लामिछाने निकट सांसद हुन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कामको अध्ययन कमल सुवेदीको संयोजकत्वमा उपसमितिले गर्ने छ।
यस्तै, संवैधानिक निकायका कामलाई पनि समितिले मसिनोगरी केलाउने निर्णय गरेको छ। ‘संवैधानिक निकायहरू (अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोग)को माननीय सुरेन्द्र चौधरीको संयोजकत्वमा उपसमितिले अध्ययन गर्ने छ,’ निर्णयमा उल्लेख छ।
समितिको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्न कमल सुवेदीको संयोजकत्वमा ११ सदस्यीय ‘कार्यविधि मस्यौदा तर्जुमा उपसमिति’ गठन गरिएको छ। समितिले यसअघि विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयन भए/नभएकोबारे जानकारी दिन पत्राचार गर्ने निर्णय पनि गरेको छ।
समितिले जेठ ८ गते भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई १५ दिनभित्र होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पढ्ने वातावरण बनाउन निर्देशन दिएको थियो। उक्त निर्देशन पनि कार्यान्वयन भएको छैन।