BIZMANDU
www.bizmandu.com

‘इधरका माल उधर’ गर्न भेटिएको यस्तो वस्तु, किलोमै हजार रुपैयाँ नाफाले आयात ह्वात्तै बढ्यो


‘इधरका माल उधर’ गर्न भेटिएको यस्तो वस्तु, किलोमै हजार रुपैयाँ नाफाले आयात ह्वात्तै बढ्यो
‘इधरका माल उधर’ गर्न भेटिएको यस्तो वस्तु, किलोमै हजार रुपैयाँ नाफाले आयात ह्वात्तै बढ्यो

विराटनगर। तेस्रो मुलुकबाट आयात गरेर भारततर्फ अवैध निकासी गर्ने व्यवसायीका लागि नसोचेको एउटा वस्तु आइलागेको छ। त्यो वस्तु हो– तरबुजाको बोक्रा निकालेको बियाँ(मगज)।

Tata
GBIME
Nepal Life

भारतले २०२३ देखि आयातमा परिमाणात्मक बन्देज लगाएपछि ती व्यापारीका लागि मगज बरदान बनेको छ। यसका कारण डेढ वर्षयता नेपालमा समुद्रपारका मुलुकबाट मगजको आयात ह्वात्तै बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षका १२ महिनाका तुलनामा चालु आर्थिक वर्षका १० महिनामा साढे १३ गुणा बढी र अघिल्लो आर्थिक वर्षका तुलनामा ३५ गुणा बढी मगजको आयात भइसकेको छ।

केमा हुन्छ प्रयोग ?

मगज भनेको तरबुजाको बिउको दिउल (भित्री भाग) हो। भारतमा यसको सबैभन्दा बढी प्रयोग तरकारीको ग्रेभी बनाउन हुनेगर्छ। नेपालमा तरबुजालाई धेरैले खरबुजा भन्ने गर्छन् तर खरबुजाको आकारप्रकार र स्वाद अर्कै हुन्छ। वाटर मेलोन भनेको तरबुजा नै हो खरबुजा होइन।

खाडी र दक्षिण एसियाका मुलुकमा मसालेदार खानेकुरा बढी चल्ने हुँदा मसलाका रूपमा मगजको पनि उपयोग गरिएको हो। मासु वा तरकारीको लेदो बनाउँदा काजु, बदाम, पोस्ता दानासँगै मगज पनि पिसिन्छ। प्रायः पोस्ता दाना र मगजको पेस्ट बनाउने गरिन्छ।

त्यस्तै मलाई कोफ्ताजस्ता परिकारमा ह्वाइट ग्रेभी (तरकारीको सेतो लेदो)मा मगज प्रयोग हुन्छ। प्रायः काजु र मगजको पेस्टबाट ह्वाइट ग्रेभी बनाइन्छ। मगज एक पौष्टिक खानेकुरा भएकाले भारत र अन्य विकसित मुलुकमा खाजाका रूपमा पनि यसलाई प्रयोग गरिन्छ।

प्रायः भुटेर (रोस्टेड मेलोन सिड्स) खाजामा प्रयोग हुन्छ। यसलाई मिठाईमा पनि प्रयोग गरिन्छ। गुँदपाक, लड्डू लगायतका मिठाईमा देखिने सेतो बियाँ यही मगज नै हो। यसबाहेक दालमोठ, कुछकुछ लगायतका एफएमसीजीमा पनि रोस्टेड मगजको मिश्रण हुने गरेको छ ।

भारतमा किन बन्देज ?

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारले आफ्नो देशका कृषकलाई राम्रो मूल्य दिने उद्देश्यले २०२३ को जुनदेखि मगजको आयातमा परिमाणात्मक बन्देज लगाएको छ।

यद्यपि यसको सैद्धान्तिक निर्णय २०२१ को अप्रिलमै भइसकेको थियो। भारतले २०२३ को जुनदेखि अक्टुबरसम्म औद्योगिक प्रशोधनका लागि बोक्रा ननिकालेको अप्रशोधित ३५ हजार टन मगजको आयातका लागि अनुमति पत्र वितरण गरेको थियो। लगत्तै २०२४ को मईदेखि जुनसम्म दुई महिनाका लागि औद्योगिक आयात खुला गरियो। त्यसपछि भने भारतले हालसम्म उद्योगलाई पनि आयातको अनुमति दिएको छैन।

भारतमा कृषिजन्य वस्तुको बजार विश्लेषण, मूल्य पूर्वानुमान र अनुसन्धान गर्दै आएको एक निजी अनुसन्धान संस्था आईग्रेन इन्डियाका अनुसार त्यहाँ वार्षिक ६० देखि ६५ हजार टन मगजको खपत छ। तर यसको घरेलु उत्पादन भने ३५ देखि ४० हजार टन मात्रै छ । त्यसैले अपुग २० देखि २५ हजार टन मगजका लागि भारतले आयातकै भर पर्नुपर्ने अवस्था छ।

भारतले २०२४ मा फ्री विन्डो भन्दै दुई महिनाका लागि आयात खुला गरेका बेला त्यहाँ ८३ हजार टन मगज भित्रिएको थियो। भारतले यसपछि कसैलाई आयातको अनुमति दिएको छैन। भारतको यही अवस्थाको फाइदा नेपालका व्यवसायीले उठाइरहेका हुन्।

यस्तो छ आयातको तथ्यांक

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ८४ करोड ६६ लाख मूल्यको १७ हजार ३४७ टन मगजको आयात भइसकेको छ।

मूल्यका हिसाबमा यो आयात गत आर्थिक वर्षको भन्दा साढे १३ गुणाले र अघिल्लो आव २०८०–८१ को भन्दा ३५ गुणाले बढी हो। विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट ६ हजार ३४५ टन, दोस्रोमा नाइजेरियाबाट ५ हजार ११९ टन, तेस्रोमा सुडानबाट २ हजार ८३४ टन र चौथोमा युएईबाट २ हजार ४७१ टन आयात गरिएको छ।

गत आर्थिक वर्षमा २५ करोड ७० लाख मूल्यको १ हजार २८६ टन आयात भएको थियो। जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो।

भन्सार विभागको तथ्यांकले २०८१ को चैतदेखि नै मगजको आयातमा वृद्धि हुन थालेको देखिन्छ। त्यसैगरी अघिल्लो आव २०८०–८१ मा ९ करोड १३ लाख मूल्यको ५०२ टन, २०७९–८० मा २ करोड १४ लाखको १२७ टन र २०७८–७९ मा २ करोड ३ लाखको ९९ टन आयात भएको विभागले जनाएको छ।

आयात र महसुल दुवै सस्तो

भन्सार विभागको तथ्यांक विश्लेषण गर्दा चालु आवमा भित्रिएको मगजको आयातमूल्य किलोको १६४ रुपैयाँ परेको छ।

किनकी २ अर्ब ८४ करोड ६६ लाख ६० हजार मूल्यको १ करोड ७३ लाख ४६ हजार ८४३ किलो आयात भएको छ। त्यस्तै गत आवमा किलोको २ सय परेको छ किनकि २५ करोड ७० लाख ६१ हजार मूल्यको १२ लाख ८६ हजार २०२ किलो भित्रिएको छ।

सार्क राष्ट्रभन्दा बाहिरबाट मगजको आयात गर्दा भन्सार महसुल १० प्रतिशत र भ्याट बुझाउनुपर्छ। यसको संयुक्त असर २४.३० प्रतिशत हुन्छ। चालु आवमा किलोको १६४ रुपैयाँमा भित्रिएको मगजको राजस्व भन्सारविन्दुमा २४.३ प्रतिशतले बुझाउँदा ३९ रुपैयाँ ८५ पैसा हुन्छ। यस हिसाबले अन्य विविध खर्च जोडेर पनि एक किलो मगज व्यवसायीका गोदाममा आइपुग्दा बढीमा २२० रुपैयाँ परेको छ।

यता विराटनगरको खुला बजारमा बोक्रा निकालेको मगजको मूल्य किलोको ९ सय छ भने भारतको युपी र विहारका बजारमा भारु ८ देखि १३ सयसम्म छ। भारतले आयातमा बन्देज लगाएसँगै यसको मूल्य वृद्धि भएको हो।

यसरी नेपालका आयातकर्ताले बोक्रा छोडाएको मगजको आयात गरेर तस्करी मार्फत् भारत पठाउँदा किलोमै कम्तीमा १ हजार रुपैयाँ नाफा हुने अवस्था छ। नेपालका आयातकर्ताले यसैको फाइदा उठाएका हुन्।

झुक्कियो प्रहरी

यसैबिच रौतहट प्रहरीले जेठ २७ मा सीमाक्षेत्रमा ६ राउन्ड अश्रुग्यास प्रहार गर्दै ९० लाख १६ हजार मूल्यको १२ हजार ८८० किलो फर्सीको बियाँ पक्राउ गरेको जनाएको छ।

तर उक्त वस्तु फर्सीको बियाँ नभई तरबुजाकै बियाँ भएको बुझिएको छ। प्रहरीले यो वस्तु पहिचान गर्न नसकेको पाइएको छ। जिल्ला प्रहरी रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार उक्त वस्तुको रङ सेतो छ। जबकि बोक्रा निकालेको फर्सीको बियाँको रङ हरियो र बोक्रा निकालेको तरबुजाको बियाँको रङ सेतो हुन्छ। प्रहरीले उक्त वस्तु गौर भन्सारमा बुझाएको छ।

गौर भन्सारका प्रमुख विकासकुमार रजकले बोक्रा निकालेको फर्सीको बियाँ हरियो हुने भएकाले कार्यालयलाई यो के वस्तु हो भनेर शंका उत्पन्न भएको बताए। प्रमुख रजकले शंकानिवारणका लागि उक्त वस्तुको नमुना कृषि ज्ञान केन्द्रमा पठाइएको जानकारी दिए। रजकले आफूलाई पनि उक्त वस्तु तरबुजाकै बियाँ हुनुपर्ने भन्ने लागेको उल्लेख गरे।