काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४’ मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम क्रस–बोर्डर (पि टु पि) रेमिट्यान्स सेवा’लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
यो डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदान प्रदान गर्न सक्ने जनाइएको छ।
नयाँ व्यवस्था अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जस अन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाख सम्म सहजै भारत पठाउन सक्नेछन्।
त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाख सम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्।
नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्ने जनाइएको छ।
साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्ने जनाइएको छ।