काठमाडौं । विश्वव्यापी रूपमा विकसित भइरहेका आर्थिक, राजनीतिक र भूराजनीतिक परिवर्तनहरूबारे छलफल गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद २०२६’ आयोजना हुने भएको छ।
सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सीआइएसआइएफ) को आयोजनामा जुन १६ देखि १९ तारिख (असार २ देखि ५ गते) सम्मेलन हुन लागेको हो।
सीआइएसआइएफले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वव्यापी शक्ति सन्तुलन, प्रविधिको प्रभाव र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ स्वरूपहरूका बीच नेपालले आफ्नो रणनीतिक मार्ग तय गर्न यो संवाद महत्वपूर्ण मञ्च बन्ने विश्वास लिएको सीइएसआइएफका निर्देशक विजयकान्त कर्णले बताए।
सम्मेलनमा जुन १६ र १७ मा नेपालको आर्थिक विकासको सम्भावना र जुन १८ र १९मा दक्षिण एसियामा भूराजनितिक परिवर्तन र चीनको भूमिका विषयलाई छलफल हुने आयोजकले जनाएको छ।
‘बोधि संवाद २०२६’ मा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, र संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशका प्रतिष्ठित ६० भन्दा बढी व्यक्तित्वहरूको सहभागिता कर्णले बताए।
सम्मेलनमा पूर्व मन्त्रीहरू, पूर्व परराष्ट्र सचिवहरू, वरिष्ठ कूटनीतिज्ञहरू, अर्थशास्त्रीहरू, सुरक्षा विज्ञहरू, शिक्षाविद्हरू, प्रविधि विशेषज्ञहरू तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूले एउटै मञ्चमा बसेर व्यावहारिक समाधानहरूको खोजी गरिने भएको हो।
‘बोधि’ ले ज्ञान, विवेक र आत्मबोधलाई संकेत गर्छ भने ‘संवाद’ ले विचार आदानप्रदानलाई प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ। ज्ञानमा आधारित संवाद र संवादमार्फत साझा दृष्टिकोणको विकास गर्नु नै यसको मूल उद्देश्य हो।
सम्मेलनको उठेका कुराहरुलाई प्रविवेदन बनाएर सम्बन्धित कानुन निर्माता र सरकारी निकायलाई बुझाइने कर्णले बताए।